+
+

परराष्ट्रमन्त्री संसदीय समितिमा नआएकामा सांसदहरुको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १७:२५
तस्वीर : आर्यन धिमाल

१९ साउन, काठमाडौं । सांसदहरुले संसदीय समितिलाई सरकारले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन् । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले बोलाएको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का बिहीबार अनुपस्थित थिए ।

समितिले बोलाएर खड्का अनुपस्थित रहेको यो दोस्रोपटक हो । समितिले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सरकारले अमेरिकालाई पठाएको पत्रका बारेमा छलफल गर्न समितिले उनलाई बोलाएको थियो ।

परराष्ट्र मन्त्री खड्काले १३ साउनको प्रतिनिधि सभाको बैठकमा ९ साउनमा नै अमेरिकालाई एसपीपीमा नेपाल संलग्न नहुने भनी पत्रचार गरिसकेको जानकारी गराएका थिए । सरकारले ६ असारमा एपपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।

सरकारले पत्राचार गरेको भनी सदनलाई दिएको जानकारीलाई मात्रै पत्याएर बस्ने अवस्थामा समिति थिएन । एसपीपीको सन्दर्भमा हालसम्म गरिएका पत्राचारहरुको दस्तावेज समितिमा बुझाउने निर्देशन दिए पनि पालना नभएको सभापति निरादेवी जैरुले बताइन् ।

‘एसपीपीका लागि पटक पटक पत्राचार भएको छ । ती सबै दस्तावेज समितिमा उपलब्ध गराउन निर्देशन दिएका हौं’ जैरुले भनिन्, ‘मन्त्रीले समितिको निर्देशन पालना नगर्दा समिति नै कमजोर भयो कि भन्ने परेको छ ।’

१३ साउनमा मन्त्री खड्काले संसदमा जवाफ दिनुअघि समितिमा बोलाउँदासमेत उपस्थित नभएको भन्दै उनले गुनासो गरिन् । समितिले परराष्ट्र मन्त्रीको साथै रक्षा सचिवलाई पनि पत्र काटेको थियो । बैठकमा रक्षा सचिव पनि उपस्थित भएनन् ।

सरकारले सैन्य सहायताको परियोजनामा सहभागी नहुने भनि पत्राचार गरिसकेको प्रष्टाउँदा समेत सेनापति प्रभुराम शर्मा एसपीपी जोडिएको कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया गएको भन्दै समिति सदस्यहरुले रोष प्रकट गरेका थिए ।

‘एसपीपीसँग जोडिएका कार्यक्रममा सेनापतिले भाग लिनुभएको छ । समितिको त्यसमा ध्यानाकर्षण भएको छ । एसपीपीमा भाग नलिने भनिसकेपछि सेनापति त्यस्ता कार्यक्रममा जान मिल्दैन’ समिति सदस्य खेम लोहनीले भने ।

संसदको कार्यविधि सरकारी तर्फबाट नै उल्लंघन भएको समिति सदस्यहरुले बैठकमा गुनासो गरे । सरकारप्रति संसद जवाफदेही नभई सरकार संसदप्रति जवाफदेही हुनुपर्ने एमाले सांसद भीम रावलले बताए । समितिले निर्देशन दिएपछि सरकारले गरेका पत्राचार मिनि संसदले प्राप्त गर्नुपर्ने उनले तर्क राखे ।

‘अमुक पत्र विदेशीले हेर्न हुने, अमेरिकी दूतावासका कर्मचारीले हेर्न पाउने तर हामी जनताका प्रतिनिधिले हेर्न नपाउने भन्ने पनि हुन्छ ?,’ एमाले सांसद रावलले भने,‘संसदलाई आफैं पत्र नदिने अनि भन्ने चाहिं सरकारलाई विश्वास नगरेको । उहाँहरुले संसदलाई विश्वास गरेको खै त ? सरकार त संसदप्रति उत्तरदायी हुन्छ नि । संसद सरकारप्रति उत्तरदायी हुँदैन ।’

मन्त्री खड्का बिहीबार आउन नसक्नुमा गृह जिल्ला उदयपुरमा आएको बाढीलाई कारण देखाइएको थियो । समितिलाई मन्त्री खड्काले अमेरिकालाई पत्र पठाइसकेको जानकारी गराएका थिए । समितिले निर्धारण गरेको उपयुक्त समयमा उपस्थित हुने उनले भन्दै पत्राचार गरेका थिए ।

समितिको निर्देशनलाई अवमूल्यन गर्दै खड्का सहभागी नभएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले रोष प्रकट गरिन् ।

‘सरकारले गरेका निर्णयको जानकारी लिने अधिकार समितिलाई हुन्छ । पत्र पठाएको हो भने समितिलाई उपलब्ध गराउनुपर्छ’ सांसद पौडेलले भनिन्,‘सरकारले समितिको निर्देशन मान्नैपर्छ । सेनाले पनि समितिले मागेको जवाफ बैठकमा आएर दिनुपर्छ ।’

कांग्रेस सांसद लक्ष्मी परियारले उदयपुरमा आएको बाढीले मन्त्री बैठकमा सहभागी हुन नसकेको वस्तुस्थिति ख्याल गर्नुपर्ने बताइन् । सदनलाई जानकारी दिइसकेको विषयलाई समितिमा प्रस्तुत गर्न मन्त्रीलाई समस्या नहुने उनको जिकिर छ ।

‘संसदलाई जवाफ दिइसक्नुभएको छ । जे हो, त्यो भन्न मन्त्रीज्यूलाई अप्ठ्यारो हुँदैन होला’ समिति सदस्य परियारले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?