+
+
मुम्बई जाने विमान रोकिएको प्रकरण :

विमानस्थलमा विशेष ब्यूरोको अपरेशन : चार आनाको मुर्गीलाई १२ आनाको मसला

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन १९ गते २२:२२

१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी विमान बुधबार दिउँसो १ः१० मा मुम्बईका लागि उडिसक्नुपर्ने थियो । १२९ जना यात्रु बोकेको जहाज उडानका सबै तयारी पूरा गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गतर्फ प्रस्थान गर्न लागेको थियो ।

एक्कासी पाइलट नरबहादुर विश्वकर्मालाई विमानमा ‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति’ रहेको सूचना आयो । उनले ग्राउण्ड स्टाफसँग सम्पर्क गरेर कुराकानी गरे । नेपाल एयरलाइन्सका कर्मचारीले औपचारिक पत्र प्राप्त भएमात्रै विमान रोकिने जवाफ फर्काए ।

तर नेपाल प्रहरीको आतंवाद हेर्ने विशिष्टकृत निकाय विशेष ब्यूरोका एक जना प्रहरी निरीक्षकले एयरलाइन्सका ग्राउण्ड स्टाफलाई हप्काउँदै ‘आतंकवादी काठमाडौंबाट उडे, त्यसको सबै जिम्मेवारी लिनुपर्ने’ बताए । त्यसपछि भने कर्मचारीले पत्रविनै विमान रोकिदिए ।

अन्तर्राष्ट्रिय हवाइ उडान कानून अनुसार विमानमा आतंकवादी प्रवेश गरेको भए वा विमानको सुरक्षामै खतरा पुग्ने भए मात्रै रनवेमा पुगिसकेको जहाज रोक्न मिल्छ । तर विशेष ब्यूरोले आतंकवादी उडे जिम्मा लिनुपर्ने बताएपछि विमान रोक्नुको विकल्प रहेन ।

‘प्रहरीले विमानमा रहेका सन्तोष लामिछानेलाई पक्राउ गरेर निकाल्यो,’ विमानस्थलका एक कर्मचारी भन्छन्, ‘त्यसपछि हामीले नियमित प्रक्रिया अनुसार फेरि सबै जाँच गरेर विमान पठाइदियौं ।’

सार्वजनिक हितसमेत विरुद्धको कसूर आफैंमा कमजोर अभियोग हो । अझ त्यसमा जोडिएका व्यक्तिको बयानमा खुलेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय विमान होल्ड गराउनु कमजोरी भएको प्रहरी अधिकृतहरु बताउँछन् । एक अधिृकत भन्छन्, ‘यो त विशेष ब्यूरो जस्तो गम्भीर र प्रतिष्ठित इकाइकै दुरुपयोग हो ।’

उनका अनुसार अन्तर्राष्ट्रिय उडानमा आतंकवादी रहेको पुष्टि भएको भए त्यसबारे अन्तर्राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी संगठन आईकाओलाई पनि जानकारी दिनुपर्थ्यो ।

त्यसैले नागरिक उड्ययनका अधिकारीहरुले पक्राउ परेका लामिछानेको कसुर के हो भनेर प्रहरी अधिकृतलाई सोधे । जवाफ सुनेर उनीहरु चकित भए । किनकी दुई घन्टा उडान रोकेर पक्राउ गरेका लामिछाने ‘चोरीको सुन खरिद गर्ने’ व्यक्ति भएको प्रहरीको जवाफ थियो ।

लामिछाने सुनचाँदी व्यवसायी हुन् । सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत रहेका उनी उनकी पत्नी मीना र अन्य व्यवसायी एक कार्यक्रममा भाग लिन मुम्बई जाँदै थिए ।

उनलाई नियन्त्रणमा लिन विशेष व्युरोले ‘आतंकवादी’ झैं अपरेशन चलाउँदा आफूहरु आश्चर्यमा परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले बताए । ‘चोरीको सुन किनेको भन्ने आरोप छ, गौशाला वृत्तलाई भनेको भए उसैले समातेर बुझाइदिहाल्थ्यो’ ती अधिकृतले भने, ‘विशेष ब्यूरो नै खटिनुपर्ने अवस्था थिएन ।’

अझ रोचक त उनलाई पक्राउ गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कैलालीले विमानस्थल सुरक्षा कार्यालयलाई साँझ ६ः१४ मा पठाएको पत्र छ । ‘प्रकाश तोप संलग्न सार्वजनिक हितसमेत विरुद्धको कसूरमा अनुसन्धानका क्रममा धनगढी उपमहानगरपालिका–२, सौगातका सुन चाँदी व्यवसायी सन्तोष लामिछोनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत जान लागेको सूचना प्राप्त भएको हुँदा त्यहाँ फेला परे पक्राउ गरी पठाइदिनु हुन अनुरोध छ’ पत्रमा भनिएको छ ।

सार्वजनिक हितसमेत विरुद्धको कसूर आफैंमा कमजोर अभियोग हो । अझ त्यसमा जोडिएका व्यक्तिको बयानमा खुलेको भन्दै विमानस्थलमा अन्तर्राष्ट्रिय विमान होल्ड गराउनु कमजोरी भएको प्रहरी अधिकृतहरु बताउँछन् । एक अधिृकत भन्छन्, ‘यो त विशेष ब्यूरो जस्तो गम्भीर र प्रतिष्ठित इकाइकै दुरुपयोग हो ।’

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लले कस्तो कसूरमा अन्तर्राष्ट्रिय उडानलाई ‘इन्टरभेन्ट’ गर्ने भन्ने अधिकृतहरुले सोच्नुपर्ने बताए । ‘अझ विशेष ब्यूरोको हकमा यो झनै लागू हुनुपर्ने विषय हो’ मल्ल भन्छन्, ‘कतिपयको यात्रुको मुम्बईबाट कनेक्टिङ फ्लाइट हुन्छ, त्यसमा ढिला हुँदा एकदम समस्या हुन्छ ।’

चोरी जस्ता विषयमा प्रहरीको विशिष्टकृत निकाय विशेष ब्यूरोले विमानस्थलमा गएर हस्तक्षेप गर्दै जाने हो भने आगामी दिनमा साँच्चै आतंकवादी प्रवेश गर्दा ‘श्याल आयो.. श्याल आयो’ भन्ने कथा जस्तो हुनसक्ने उनले बताए । ‘त्यसैले यस्तो कुरामा प्रहरी अधिकृतहरु संवेदनशील हुनैपर्छ,’ केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुखसमेत रहेका उनी थप्छन् ।

विमानस्थल सुरक्षा समितिको बिहीबार बसेको बैठकमा विशेष ब्यूरोले गरेको अपरेशनप्रति प्रश्न उठेको छ ।

नागरिक उड्डयन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा नेपाल एयरलान्सका चिफ स्टेसन म्यानेर मुकेशमान प्रधानले आफ्ना कर्मचारीलाई प्रहरीले धम्कीको शैलीमा विमान रोक्न लगाएको भन्दै बैठकमा आपत्ति जनाएको स्रोत बताउँछ ।

स्रोतका अनुसार विमानस्थल सुरक्षा प्रहरी पनि आफूहरुले त्यस्तो निर्देशन नदिएको र विमानस्थल सुरक्षा कार्यालय बाहेकको प्रहरीले के गर्‍यो भन्ने थाहा नभएको भन्दै पन्छिएको थियो । बैठकले बुधबारको घटनामा समन्वय अभाव भएको निष्कर्ष निकालेको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले चाहिँ कार्यालयमा प्राप्त पत्रका आधारमा लामिछानेलाई प्रहरी वृत्त, गौशाला पठाइएको र त्यहीँबाट उनलाई कैलाली लगिएको बताए । त्यसबाहेक आफूहरुलाई कुनै जानकारी नरहेको उनले दाबी गरे ।

अभद्र व्यवहारमा ५ दिन म्याद थप

कैलाली प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार लामिछानेलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइएको छ ।

उनी भन्छन्, ‘बिहीबार अभद्र व्यवहारसम्बन्धी कसूरमा ५ दिन म्याद थप गरेर अनुसन्धान थालेका छौं ।’ राठौरले उनी जोडिएको घटनाबारे चाहिँ विस्तृतमा बताएनन् । ‘अहिल्यै ठ्याक्कै नभनौं अनुसन्धान जारी छ’ उनले थपे ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?