+
+
सत्ता गठबन्धनको बैठक :

निर्वाचनमा तालमेल गर्ने सहमति, सिट बाँडफाँटका लागि बन्यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते १३:१९

२१ साउन, काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो ।

बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्‍यो ।’

स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।

कार्कीले भने कार्यदलबारे केही बताएनन् । यसबारे विस्तारै थाहा दिने भन्दै कांग्रेस केन्द्रीय सदस्य कार्कीले भने, ‘तालमेलका निम्ति फेरि बैठकहरू बस्छ, छलफल हुन्छ । यसलाई व्यवस्थित र न्यायपूर्ण गर्न आज वृहतरुपमा सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?