+
+

नक्सामा पार्किङ, प्रयोजन व्यापारिक

काठमाडौं महानगरपालिकाका व्यापारिक भवनमा रहेका अण्डरग्राउण्ड पार्किङ नक्सा विपरीत अन्य व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका छन् । महानगर मुकदर्शक बन्दा पार्किङ स्थल सडक र पेटी बन्न पुगेका छन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०७९ साउन २० गते १९:००

२० साउन, काठमाडौं । नवीन महर्जन सवारी पार्किङका लागि बानेश्वरस्थित एक कन्सल्टेन्सी रहेको भवनको अन्डरग्राउन्ड (भूमिगत) पार्किङभित्र छिर्न खोजे, तर भित्र जाने बाटोमै पसल देखेपछि उनले पेटीमा सवारी पार्क गर्नुपर्‍यो ।

यो समस्या बानेश्वरमा मात्रै होइन, काठमाडौंमा जाताततै छ । काठमाडौंका अधिकांश आवासीय घरहरुमा भूमिगत पार्किङ छैनन्, जति व्यापारिक भवनमा अन्डरग्राउन्ड पार्किङ छन्, त्यसमध्ये पनि धेरैमा पार्किङ नभई पसल र गोदाम छन् ।

काठमाडौं महानगरपालिकाको पनि निष्कर्ष छ, अधिकांश व्यापारिक भवनहरुको पार्किङको लागि छुट्याइएको अन्डरग्राउण्ड व्यावसायिक प्रयोजनमा छन् । महानगर प्रहरीका अनुसार अन्डरग्राउण्ड पार्किङमा होटल व्यवसाय, क्याफे, फेन्सी पसल, शैक्षिक परामर्श केन्द्र लगायतका लागि प्रयोग भइरहेको भेटिन्छन् ।

व्यावसायिक भवनहरुमा हुनुपर्ने पार्किङ नहुँदा सडकमा पार्किङ भइरहेको छ । सडकको छेउ र फुटपाथको पार्किङले गर्दा पैदलयात्रीहरुलाई असहज परिस्थिती सिर्जना भइरहेको छ ।

महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङलाई नक्साअनुसार उपयोग गर्न दबाव नदिएका कारण यस्ता भवनमा भूमिगत पार्किङ हुन सकेको छैन ।

महानगरले अन्डरग्राउण्ड पार्किङलाई निमयन नै गर्न चासो दिने गरेको छैन । अझ नगर प्रहरीहरुले यस्ता व्यावसायिक भवनमा सञ्चालकसँग मिलेमतो गरेर छुट दिंदै आएका छन् ।

फुटपाथका व्यापारीलाई लखेट्न सुरु गरेपछि पार्किङमा पनि प्रश्न उठेपछि महानगरपालिकाको सहरी विभागले नगर प्रहरीलाई अन्डरग्राउण्ड पार्किङका लागि नक्सा पास भएका भवनको अवस्थाबारे रिर्पोटिङ गर्न बल्ल निर्देशन दिएको छ । यस्ता २ सय २ वटा भवनहरु रहेको अनुमान छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर भट्टराईका अनुसार सन् २०२१ सम्ममा अन्डरग्राउन्ड पार्किङको लागि नक्सा पास भएका भवनको अनुगमन गर्न शहरी विकास विभागले निर्देशन दिएको हो । तथ्यांक व्यवस्थित नगर्दा नाम र ठेगाना मात्रैले महानगरलाई अन्डरग्राउण्ड पार्किङको लागि नक्सा पास भएका घरहरु भेट्नै मुस्किल परेको महानगरका अधिकारीहरु बताउँछन् ।

‘हामीले १० हजार स्क्वायर फिट क्षेत्रफल भएको भवनहरुको लिष्ट तयार गरेका छौं । यसमा कति घरको अन्डरग्राउण्ड छ भन्ने कुरा यकिन छैन । हामीले अन्डरग्राउण्ड सहित नक्सा पास गरेको भवनहरुमा अन्डरग्राउण्डमा गोदाम, जेनेरेटेर, पानी ट्यांकी, पार्किङ लगायत रहेका छन्’ काठमाडौं महानगरपालिकाका शहरी विकास महाशाखाका निर्देशक सुरज शाक्यले भने ।

 पार्किङका लागि भनेर अनुमति लिनेहरुले पार्किङको प्रयोजन नगरी सटर बनाएर भाडा दिने, साना पसलहरु सञ्चालन गर्न दिने भनेर धेरै नै गुनासो आएको उनले बताए । अन्डरग्राउण्ड पार्किङ कति छ भनेर तथ्यांक संकलन गरेपछि मात्रै अन्डरग्राउण्ड पार्किङ स्पेस थाहा हुने महानगरको शहरी विकास महानगरपालिकाले जनाएको छ ।

नक्सा विपरीत काम गरे सुविधा कटौती

काठमाडौं महानगरले अन्डरग्राउण्ड पार्किङको नक्सापास गरेर अरु प्रयोजनमा भाडा नलगाउन भन्दै सूचना जारी गरेको छ । साउनको पहिलो साता महानगरले ३५ दिन भित्र अन्डरग्राउन्ड पार्किङभित्रका अन्य पसल तथा गोदाम हटाउन निर्देशन दिएको हो ।

महानगरले निर्देशन अटेर गर्ने घरधनीलाई महानगरले सेवाग्राहीलाई दिने सबै सेवा सुविधा कटौती गर्ने चेतावनी दिएको छ । गोदाम, पार्किङलगायत प्रयोजनका लागि अन्डरग्राउन्डको नक्सापास भए पनि त्यसो नगरी व्यवसायिक रुपमा प्रयोग भइरहेको गुनासो आएको महानगरपालिकाले जनाएको छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?