+
+

एक वर्षदेखि अर्थशास्त्र पढ्दै गगन थापा

लिलु डुम्रे लिलु डुम्रे
२०७९ साउन २१ गते १८:२४

२१ साउन, काठमाडौं । विद्यालय र विश्वविद्यालय तहको अध्ययन सकिसकेपछि अतिरिक्त कक्षा लिएर पढ्ने नेताहरु कति होलान् ? औपचारिक अध्ययन सकिसकेपछि थप अध्ययनका लागि प्राध्यापककहाँ पुग्ने नेताहरू सायदै होलान् । रुचिको विषयमा अतिरिक्त कक्षा लिने नेतामा पर्दछन्- नेपाली कांग्रेसका महामन्त्री गगन थापा ।

गगनले अध्ययन गरिरहेको विषय हो-अर्थशास्त्र । उनी साताको दुई पटक प्राध्यापककहाँ पुग्छन् । अर्थशास्त्रका विभिन्न पाटाहरूको कक्षा लिन्छन् । गगनले नियमित कक्षा लिन लागेको एक वर्ष कटेको छ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र कटुवालले गगनलाई पढाइरहेका छन् । गगन र कटुवाल बीच नेता र नागरिकको सम्बन्ध छैन । उनीहरू शिक्षक र विद्यार्थीको सम्बन्धमा छन् ।

कटुवालले मार्करले सेतो बोर्डमा अर्थतन्त्रका विभिन्न पक्ष कोर्छन् । गगनले ध्यानपूर्वक सुन्छन् । जिज्ञासा राख्छन् । उनले राखेका जिज्ञासाको निराकरण कटुवालले गर्छन् ।

पहिलो दिनको कक्षा सैद्धान्तिक पक्षमा र दोस्रो दिनको बैठक व्यवहारिक ज्ञानका लागि हुन्छ । अर्थशास्त्रमा रुचि भए पनि थापाले त्यसको सैद्धान्तिक र व्यवहारिक पक्षमा औपचारिक कक्षा लिएका थिएनन् ।

कांग्रेसबाट सांसद, मन्त्री, संसदीय समितिको सभापति हुँदै दलको महामन्त्री बनेका छन् । नीतिगत तहमा पुगेको व्यक्तिले अर्थतन्त्र थप बुझ्न मन लाग्यो । त्यसका लागि नियमित कक्षा लिन सुरु गरे । नियमित कक्षा भने विश्वविद्यालयमा गएर उनी लिंदैनन् । कहिले गगनको कार्यालय त कहिले कटुवालको कार्यालयमा उनीहरू दुई शिक्षक- विद्यार्थीको रुपमा भेट हुन्छन् । एकदेखि दुई घन्टा अर्थशास्त्रको पढाइ हुन्छ । ‘अर्थशास्त्रको रुचि भएकाले पहिले देखि नै आफ्नो तरिकाले अध्ययन गर्थे । प्राज्ञिक रुपमा पनि सिक्नुपर्छ भन्ने लागेपछि कक्षा नै लिन थालें ।’ थापाले अनलाइनखबरसँग भने ।

प्राध्यापक कटुवालले गगनलाई पढाउनकै लागि छुट्टै पाठ्यक्रमको विकास गरेका छन् । सुक्ष्म र वृहत् अर्थशास्त्रमा आधारित रहेर दुई प्रकृतिका पाठ्यक्रमको विकास गरेका छन् । सुक्ष्म अर्थशास्त्रमा नीतिगत निर्णय गर्दा परिवार वा समाजलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा अध्ययन /अध्यापन हुन्छ ।

गगन थापालाई पढाइरहेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र कटुवाल ।

समाजका आर्थिक ‘टुल्स’का बारेमा कक्षा हुने कटुवालले बताए । नेता भइसकेपछि नीतिगत निर्णय गर्दा समाजलाई बुझेर नीति बनाउनुपर्ने हुन्छ । ‘कसैले समाजको वा परिवारको आर्थिक टुल्सका बारेमा कुरा गर्‍यो भने नेताले त त्यसको ठीक वा बेठीक पक्ष बुझ्न पर्‍यो नि ।’ कटुवालले भने, ‘परिवार वा समाज बुझ्ने गरि सुक्ष्म अध्ययनका लागि कोर्स डिजाइन भएको छ ।’

कटुवालले गगनका लागि विकास गरेको अर्को कोर्स वृहत् अर्थशास्त्रसँग सम्बन्धित छ । यस अन्तर्गत समग्र अर्थतन्त्र परिचालनको प्रणालीका विषयमा छलफल हुन्छ । सरकारको बजेटले मौद्रिक नीतिलाई कसरी प्रभाव पार्छ ? वा, मौद्रिक नीतिले बजेटलाई कसरी प्रभाव पार्छ? तिनिहरु बीचको अन्तरसम्बन्ध के हो ? लगायतका छलफल हुन्छ । ‘राष्ट्र बैंकले पैसाको प्रवाह घटायो भने यसले हाम्रो उत्पादनमा के असर गर्छ? रोजगारीमा के असर गर्छ ? समग्र अर्थतन्त्रमा हुने असरमा छलफल हुन्छ ।’ वृहत अर्थतन्त्रमा अध्ययन हुने एउटा पक्षको कटुवालले उदाहरण दिए ।

वैदेशिक लगानी, लघु वित्त, बजेटिङ, कर लगायतका अर्थतन्त्रका विभिन्न क्षेत्रमा गगनले कक्षा लिएका छन् । नीतिगत तहमा पुगेको व्यक्तिले त्यसको कार्यान्वयनको दायित्वसमेत हुने हुँदा अर्थतन्त्रलाई थप बुझ्न इच्छा जागृत भएको थापाले बताए

नेपालसँग भारतीय मुद्राको स्थीर विनिमयले हुने लाभ र हानीका सन्दर्भमा फरक/फरक विचार अर्थविद्का व्यक्त हुँदै आएका छन् । केही अर्थविद्ले परिवर्तन गर्नुपर्छ भन्छन् भने कतिपयले स्थीर नै राख्नुपर्छ भन्छन् । थापा र कटुवालले यसै विषयलाई पनि अध्ययन सामग्री बनाएका हुन्छन् । भारतसँग नेपाली मुद्राको विनिमयदर स्थिर राख्दा हुने लाभ र हानीका सन्दर्भलाई वृहत् अर्थशास्त्रका रुपमा बहस हुन्छ ।

कटुवालले साताको दोस्रो कक्षा सुरु हुनु अघि पढ्ने सामग्री गगनलाई उपलब्ध गराउँछन् । दोस्रो दिनका अध्ययनकोे विषय मुख्यतः विश्व र नेपालको अर्थतन्त्रलाई जोडेर हुने गर्छ । उक्त विषय युक्रेन र रुसको युद्धले ल्याएको अर्थतन्त्रमा प्रभाव हुन पनि सक्छ । वा, मुद्रास्फीतिको विश्वभरको अवस्थाबारे पनि अध्ययन हुनसक्छ । विश्वमा भएका घटनालाई नेपालको अर्थतन्त्रसँग जोडेर छलफल हुन्छ ।

‘दोस्रो दिन सैद्धान्तिक भन्दा व्यवहारिक पक्षमा कक्षा हुन्छ’ कटुवालले भने,’त्यसका लागि पठनसामग्री दिन्छु । उहाँ अध्ययन गरेर आउनुहुन्छ । होमवर्क दिन्छु । उहाँले त्यो गरेर पनि ल्याउनुहुन्छ ।’ कोरोनाले विश्व तथा नेपालको अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रमा राखेर सर्वाधिक कक्षा सञ्चालन भएको कटुवालले जानकारी गराए ।

थापा- कटुवाल बीच अर्थतन्त्र उकास्नका लागि विश्वका अन्य देशले अपनाएको बाटोलाई नेपालको सन्दर्भमा जोडेर बहस हुन्छ । नेपालको विकासको लागि अन्य देशले अपनाइएको माध्यम उपयुक्त हुने/नहुने विषयमा गहन छलफल हुन्छ । एक उदाहरण, युद्धले थिलथिलो भएको भियतनामले गरेको आर्थिक वृद्धिको पक्षलाई नेपालमा जोड्न सकिन्छ कि सकिँदैन भनि दुई वीच छलफल भएको छ । आर्थिक विकासका लागि भियतनामले प्राविधिक शिक्षालाई मूल रुपमा जोड दिएको थियो । भियतनाम सरकारले विद्यालय तह सकेपछि न्युनतम एक वर्ष प्राविधिक शिक्षा लिनुपर्ने अनिवार्य गरेकोे थियो । ‘भियतनामले अपनाएको विकासको बाटो हामीले अवलम्बन गर्नसक्छौं कि सक्दैनौं नेपालसँग जोडेर छलफल गर्छौं ।’ कटुवालले भने,’मुद्रास्फीति विश्वमै बढिरहेको बेला नेपालमा मुद्रास्फीति नियन्त्रण गर्ने विधिमा छलफल हुन्छ ।’

वैदेशिक लगानी, लघु वित्त, बजेटिङ, कर लगायतका अर्थतन्त्रका विभिन्न क्षेत्रमा गगनले कक्षा लिएका छन् । नीतिगत तहमा पुगेको व्यक्तिले त्यसको कार्यान्वयनको दायित्वसमेत हुने हुँदा अर्थतन्त्रलाई थप बुझ्न इच्छा जागृत भएको थापाले बताए । ‘सार्वजनिक नीतिलाई बुझ्नलाई पठनले अझै मद्धत गरेको छ ।’ थापाले भने ।

औपचारिक शिक्षा नभएकाले प्राध्यापक र विद्यार्थी वीच कक्षाका लागि समयको निश्चित सीमा छैन । स्थानीय निर्वाचन र कांग्रेस महाधिवेशनले केही दिन अध्ययनमा असर गरे पनि थप एक वर्ष निरन्तरता दिने पक्षमा थापा छन् ।

प्राध्यापक कटुवाल थापालाई आज्ञाकारी विद्यार्थीको संज्ञा दिन्छन् । ‘समय प्रति इमान्दार व्यक्ति हुनुहुन्छ । नेता भएको मान्छे कसरी समय दिनुहोला र भन्ने थियो । निर्धारित समयमै आउनुहुन्छ’ कटुवालले भने, ‘प्रधानमन्त्रीले नै बोलाउनुभयो भने वीचमै कक्षा छोडेर जानुहुन्छ । अरुको फोन आएर कक्षा छोडेर हिँड्नुहुन्न ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?