+
+

निर्वाचन २०७९ : रूपन्देहीमा यी नेता छन् उम्मेदवारको चर्चामा

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन २३ गते १९:१७

२३ साउन, बुटवल । निर्वाचनको मिति घोषणासँगै केन्द्रीय राजनीतिमा सधैं प्रभावशाली जिल्लाको पहिचान बनाएको रुपन्देहीमा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।

विगतका चुनावी परिणाम हेर्दा जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । अघिल्ला चुनावमा प्रतिस्पर्धा गरेका राजनीतिक दलका पुरानै अनुहारका नेतादेखि स्वतन्त्ररुपमा केही नयाँ उम्मेदवारहरू पनि चुनाव लड्न अघि सरेका छन् ।

११ लाख जनसंख्या रहेको रूपन्देहीमा प्रतिनिधि सभाका ५ र प्रदेश सभाका १० निर्वाचन क्षेत्र छन् । २०७४ को निर्वाचनमा १, २ र ३ नम्बर क्षेत्रमा नेकपा एमाले तथा ४ र ५ नं क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । त्यस्तै प्रदेश सभातर्फ एमालेले ५, कांग्रेस ३, नेकपा माओवादी १ र जनता समाजवादी पार्टी (जसपा) ले एक क्षेत्रमा जितेका थिए ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट जिल्लामा नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा झरेकाले यसपटक एमालेलाई विगतको विरासत जोगाउने चुनौती थपिएको छ ।

क्षेत्र नंं १

रूपन्देही क्षेत्र नम्बर १ मा देवदह नगरपालिकाका १२ वटै वडा, तिलोत्तमा नगरका वडा नम्बर ७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन् ।

यहाँ एमालेबाट छविलाल विश्वकर्मा नै उम्मेदवार बन्ने चर्चा छ । उनी यो क्षेत्रका सांसद, पार्टी सचिव तथा पूर्वमन्त्रीसमेत हुन् ।

अघिल्लो चुनावमा विश्वकर्माले कांग्रेस नेता अब्दुल रज्जाकलाई झिनो मतान्तरले पराजित गरेका थिए । विश्वकर्मा पार्टी अध्यक्ष केपी ओली निकट हुन् भने रज्जाक कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।

प्रदेशसभातर्फ वाम गठबन्धनबाट तत्कालीन माओवादीका दधिराम न्यौपाने र एमालेका कृष्ण न्यौपानेले जितेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले जितेको यो क्षेत्रमा २०७० मा विश्वकर्मालाई रज्जाकले हराएका थिए । कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले रज्जाक नै सिनियर नेता भएकाले उनी उम्मेदवार बन्न सक्ने बताए ।

पाँच दलीय गठबन्धन भएकाले प्रदेश सभामा सिट भागबन्डा गर्नुपर्ने भएकाले अहिले नै नाम भन्नु हतार हुने बताउँछन्  उनी ।

राप्रपाको पनि राम्रै प्रभाव रहेको यो क्षेत्रमा राप्रपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने यकिन भइनसकेको पार्टीका प्रदेश अध्यक्ष प्रदीप उदयले बताए ।

यहाँबाट राप्रपाका दीपक बोहरा पनि उम्मेदवार बन्नसक्ने चर्चा छ । हालै भएको स्थानीय निर्वाचनमा वडाध्यक्षमा दलहरूले पाएको अवस्थाको आधारमा रुपन्देही १ मा कांग्रेस एमालेभन्दा थोरै मतले अघि देखिएको छ ।

नेपाली कांग्रेसका वडाध्यक्षहरूले ३२ हजार ९९९ एमालेका उम्मेदवारहरुले ३० हजार ३९४ मत ल्याएका छन् । यस्तै राप्रपाको १४ हजार ५५२ र माओवादीको ४ हजार २०२ मत रहेको छ ।

क्षेत्र नं. २

रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बरसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन् ।

यो क्षेत्रबाट अघिल्लो चुनावमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल विजयी भएका थिए । अहिले पनि पौडेल नै उम्मेदवार बन्ने पक्का छ । यो क्षेत्रबाट प्रदेशसभामा एमालेका लिला गिरी र भोजप्रसाद श्रेष्ठ विजयी भएका थिए ।

गत स्थानीय चुनावमा यो क्षेत्रका अधिकांश वडामा गठबन्धन विजयी भएकाले कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरै छन् । कांग्रेसबाट युवराज गिरीसहित प्रदेश सदस्य रामबहादुर कार्की, बालकुमारी भण्डारी, एन्फा उपाध्यक्षसमेत रहेका व्यवसायी दीर्घकुमार केसी, अर्का व्यवसायी चुन्नु पौडेल, रोमणीप्रसाद पाठक आकांक्षी छन् ।

यो क्षेत्रबाट एमाले नेता पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचन जितेका थिए । २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा डा.बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका युवराज गिरीलाई हराएका थिए । २०७४ मा कांग्रेसका गिरी पौडेलसँग २२ हजार मतान्तरले पराजित भएका थिए ।

२०४८ सालको निर्वाचनमा भने यो क्षेत्रबाट कांग्रेसका बालकृष्ण खाँण विजयी भएका थिए भने २०५१ सालमा एमालेका मोदनाथ प्रश्रितले खाँणलाई हराएका थिए ।

आफूले अघि सारेका बुटवल-बेलहिया ६ लेन सडक, तिनाउ दानव कोरिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानी, बुटवल-नारायणगढ र बुटवल-चन्द्रौटा सडक विस्तार, गौतमबुद्ध विमानस्थलमा दोस्रो टर्मिनल भवन, तिनाउ नदीमा सिग्नेचर पुललगायतका आयोजनालाई पूर्णता दिन आफू उम्मेदवार बन्ने निश्चित भएको पौडेलले अनलाइनखबरलाई बताए ।

गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी पनि बुटवलबाटै चुनाव लड्ने चर्चा भएपनि उनी यहाँबाट लड्ने कुरा हल्ला मात्रै भएको कांग्रेस क्षेत्रीय सचिव प्रजापाल गिरीले बताए । यहाँबाट युवराज गिरी नै उम्मेदवार हुने उनले बताए ।

तर सत्ता गठबन्धनबीच भागबण्डा गर्दा यहाँ नेकपा एकीकृत समाजवादीलाई पर्ने चर्चा छ । त्यसो हुँदा एकीकृत समाजवादीबाट पार्टीका प्रदेश सचिव राजु गुरुङ उम्मेदवार बन्ने चर्चा छ । उनले आफूले मात्रै पौडेललाई हराउन सक्ने बताउँदै आएका छन् ।त्यसो त माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा २०६४ को संविधान सभा सदस्य पत्रकार विनोद पहाडी पनि यो क्षेत्रबाट चुनाव लड्ने भन्दै आन्तरिक तयारी गरेका छन् । यहाँ डा. निकोलश भुसालले स्वतन्त्र उम्मेदवार बन्ने तयारी थालेका छन् । थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्दा यहाँ नेपाली कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले ३४ हजार ९५९ मत पाउँदा एमालेले ३३ हजार १८७ मत पाएको छ । यस्तै माओवादी केन्द्रले ३ हजार १८८ मत पाएको छ ।

क्षेत्र नंं ३

रुपन्देही क्षेत्र नम्बर गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता घनश्याम भूसाल र राप्रपा नेता दीपक बोहरालगायतका नेताहरुको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, बुटवलका वडा नम्बर १४ देखि १९, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ र तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्छन् ।

यो क्षेत्रबाट २०७४ को चुनावमा एमालेका घनश्याम भूसालले जितेका थिए । अहिले पनि एमालेबाट भूसाल नै र कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार बन्ने चर्चा छ ।

गत निर्वाचनमा कांग्रेस नेता खाँण समानुपातिकमा बसेका थिए । यसपटक स्थानीय तहको नतिजाले उत्साहित खाँण प्रत्यक्ष निर्वाचन लड्ने गृहकार्य सहित पटक-पटक क्षेत्रमा धाइरहेका छन् । भूसाल नउठेमा तिलोत्तमाका निवर्तमान मेयर बासुदेव घिमिरे पनि उम्मेदवार बन्न सक्ने एमाले नेताहरु बताउँछन् ।

यो क्षेत्रबाट सामाजिक अभियन्ता एवम् अधिवक्ता प्रख्यात बन्जाडेले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । यो क्षेत्रबाट प्रदेशतर्फ नेकपा एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए ।

यसपटक यो क्षेत्रका सबै पालिका र अधिकांश वडामा कांग्रेस विजयी भएकाले कांग्रेस उम्मेदवारलाई सहज हुने र एमाले उम्मेदवारलाई विगतको विरासत जोगाउन चुनौती हुने अनुमान गर्न सकिन्छ । यदि राप्रपा र एमालेबीच तालमेल भएको खण्डमा कांग्रेसलाई पनि उत्तिकै चुनौती हुनसक्ने छ ।

हालै सम्पन्न स्थानीय तहका वडाध्यक्षहरूको मतको आधारमा कांग्रेस ३४ हजार १५३ मत, एमालेले २९ हजार ४८ मत, राप्रपाको १३ हजार ३९७ मत रहेको छ ।

क्षेत्र नंं ४

रूपन्देही क्षेत्र नम्बर ४ मधेशी समुदायको बाहुल्य भएको क्षेत्र हो । सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिका पुरै वडा तथा मायादेवी गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडा पर्दछन् । यहाँबाट गएको चुनावमा कांग्रेसबाट जितेका प्रमोद यादव यसपटक पनि उम्मेदवार बन्ने पक्का छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला पनि उम्मेदवार बन्ने निश्चित छ । गत निर्वाचनमा यादवले तत्कालीन राष्ट्रिय जनता पार्टीका शुक्लालाई पराजित गरेका थिए ।

एमालेबाट उम्मेदवार बनेका ओमप्रकाश यादव अहिले जसपामा प्रवेश गरेका छन् । जसपाबाट उनी उम्मेदवार बन्ने चर्चा छ । प्रदेश सभातर्फ दुवै क्षेत्रमा कांग्रेसका अष्टभुजा पाठक र बसिउद्दिन खानले जितेका थिए । यो क्षेत्रमा नेकपा एमालेले लोसपालाई समर्थन गर्न सक्ने संभावना रहेको एमालेका एक नेताले बताए ।

यो क्षेत्रमा लोसपाको १६ हजार २२६, कांग्रेसको १५ हजार ६२७, यस्तै जनमत पार्टीको ७ हजार ७३४, एमालेको ७ हजार ६०५ मत वडाध्यक्षहरूले पाएका छन् ।

क्षेत्र नं ५

रुपन्देही-५ मा कांग्रेस नेता भरत शाहले जितेको क्षेत्र हो । प्रदेश सभामा भने एमालेका भूमिश्वर ढकाल र कांग्रेसका फखरुद्दिन खान निर्वाचित भएका थिए ।

यहाँ गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर वडा नम्बर १ देखि ११ सम्म र मायादेवी गाउँपालिकाका केही वडा पर्छन् ।

आउँदो चुनावमा पनि कांग्रेसबाट शाह नै उम्मेदवार हुने छन् । नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई उम्मेदवार बन्ने चर्चा छ । अघिल्लो चुनावमा शाहले एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादीका डिलाराम आचार्यलाई पराजित गरेका थिए । स्वतन्त्रबाट यहाँ भीष्म रानाले उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

२०५६ सालमा शाह विजयी भएको यो क्षेत्रमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा शाहलाई एमालेका स्वर्गीय नेता रामनाथ ढकालले पराजित गरेका थिए । २०७० को निर्वाचनमा ढकाललाई शाहले झिनो मतले पराजित गरेका थिए ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा एमाले र कांग्रेसको मत बराबर जस्तै छ । यहाँ एमालेका वडाध्यक्षहरूले २७ हजार १४५ मत पाएका छन् भने कांग्रेसको २६ हजार ८८८, जसपाको ९ हजार ३३७, जनमत पार्टीको ५ हजार ६५६ र माओवादीको ४ हजार ६२५ मत छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?