
काठमाडौं । विवाहपछि अमेरिका हानिएकी अभिनेत्री वर्षा सिवाकोटी अहिले स्वदेश फर्किएकी छन् । प्रेमी आशिष गेलालसँग वैवाहिक सम्बन्धमा बाँधिएपछि केही समय उनी त्यहाँ रहिन् ।
नेपाल फर्किएकी वर्षा अब पारिवारिक र व्यावसायिक कामलाई मिलाएर अघि बढ्न चाहन्छिन् । अनलाइनखबरसँग कुरा गर्दै ‘पशुपति प्रसाद’ फेम्ड अभिनेत्रीले बिहेपछि अब आफू नयाँ ढंगबाट फिल्ममा पुनरागमन हुन चाहिरहेको बताइन् ।
वर्षाका श्रीमान् अहिले अमेरिकामै छन् । वर्षा परिवार र कामलाई सन्तुलनमा राख्न चाहन्छिन् । ‘अब म अरु कामलाई पनि निरन्तरता दिन चाहन्छु र नेपाल–अमेरिका पनि ओहोरदोहोर गरिरहनेछु,’ उनी भन्छिन् ।
वर्षा आफ्नो फिल्म करिअरमा एउटा ठूलै मोडको पर्खाइमा छिन् । यसको अर्थ उनी व्यावसायिक फिल्मभन्दा कलात्मक फिल्ममा आफूलाई प्रस्तुत गर्न चाहन्छिन् । ‘मलाई अब कमर्सियलभन्दा पनि आर्टिस्टिक फिल्ममा काम गर्ने इच्छा छ, जहाँ म आफ्नो काम र आत्मविश्वासलाई देखाउन सकुँ,’ उनी भन्छिन् ।
‘पहिला गरुम न त भनेर गरियो । पहिलेका कामबाट मलाई चित्त बुझेको पनि छैन । मनदेखि चित्त बुझेको कम नै छ,’ वर्षा भन्छिन्, ‘यसअघि पनि केही आर्ट फिल्मबाट प्रस्ताव आएका थिए, तर समय नमिलेर गर्न पाइएन । अब भने यी फिल्ममा अघि बढ्न चाहन्छु ।’
फिल्म क्षेत्रमा अघि बढ्न आफूलाई परिवारको सपोर्ट रहेको पनि वर्षाले बताइन् । फिल्मबाहेक अन्य व्यावसायिक कार्यमा पनि अघि बढ्ने वर्षाको योजना छ । वर्षा अभिनित तीन फिल्म प्रदर्शनको तयारीमा छन् । जसमध्ये ‘परदेशी २’ दशैं छेकोमा रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4