+
+

नेपालसामु युद्ध र सैन्य गतिविधिको खतरा छ : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १७:४७

२५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले नेपालसामु सैन्य युद्ध आतंकको खतरा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल युक्रेन र अफगानिस्तानजस्तो युद्धभूमि हुन सक्ने खतरा रहेको पनि बताए ।

‘नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने प्रक्रियाबाट जाने हो भने नेपाल कुनैदिन अफगानिस्तान, युक्रेन हुनसक्ने खतरा छ । हामीसामु युद्ध र सैन्य गतिविधिको खतरा छ’ उनले भने, ‘हामीसामु युद्ध आतंकको खतरा छ । युद्धको रुपमा नेपालमा विदेशीहरुको सैन्य बेसक्याम्प बनाएर गए नेपालको राष्ट्रिय अस्मिता समाप्त हुन्छ ।’

सुगौली सन्धीदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता कुण्ठित हुँदै आएको बताउँदै नेता गुरुङले खुला सीमानाका कारण जनसांख्यिक अतिक्रमण, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको वृद्धि र राजश्व छली भइरहेको पनि बताए ।

यस्ता घटनाको गम्भीर असर देशको अर्थतन्त्रमा परिरहेको भन्दै उनले नेपाल र भारतबीचको खुला सीमा नियन्त्रित र व्यवस्थित गर्नुपर्ने धारणा राखे ।

‘खुला अवस्थाका कारण नै हामीमाथि जनसांख्यिक अतिक्रमणको समस्या परेको छ, अवैध प्रकारका सामग्रीहरुको ओसारपसारको बढिरहेको समस्या परेको छ । राजश्व छलीको समस्या छ । जसले मुलुकको अर्थतन्त्रमाथि नै गम्भीर समस्या परेको छ । यस्ता समस्याले नेपालको राष्ट्रिय स्वाधिनता र अस्मितामाथि समस्या पैदा भएको छ’ उनले भने ।

नेता गुरुङले खुला सीमानाका कारण नै नेपालको नागरिकतामा यसको असर परिरहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?