+
+

सूर्यविनायक-धुलिखेल सडकमा फर्किएन जापान, अब सरकारले नै बनाउने

नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैं त्यसमा अग्रसर भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते २०:००
फाइल तस्वीर

२५ साउन, काठमाडौं । नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैं त्यसमा अग्रसर भएको हो ।

भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागसँग असन्तुष्टि जनाउँदै जाइकाले २०७६ सालमा १६ किलोमिटर यो सडक विस्तारको योजनाबाट पन्छिएको थियो । सरकारले पटक–पटक यो आयोजनामा लगानीबारे पुनर्विचार आग्रह गर्दै आएपनि जाइकाले यसमा ठोस जवाफ दिएको छैन ।

सडक विभागका उपमहानिर्देशक था प्रवक्ता भीमार्जुन अधिकारी यो परियोजना निकै महत्वपूर्ण भएकाले सरकार आफैंले लगानी गर्नेबारे छलफल अघि बढेको बताउँछन् । ‘जापान सरकारले सघायो भने पनि ठीक छ, नभए सरकार आफैंले लगानी गरेर भएपनि अघि बढ्नुपर्छ भनेर लागेका छौं’ उनले भने ।

यो सडकखण्डको विस्तारका लागि अहिले सरकारले नै विस्तृत परियोजना प्रतिवेदन बनाइरहेको छ । वर्षौंदेखि विभिन्न सडक परियोजनामा सघाउँदै आएको जाइकाको सहयोगमा नागढुंगामा सुरुङमार्गको निर्माण करिब आधा सकिएको छ ।

तर, त्यो भन्दा अघिदेखि चर्चामा रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तारमा भने सरकार लामो समय अलमलियो ।

जाइकाले यो परियोजनामा सरकारले देखाएको अपरिपक्वता, अविश्वास, कार्यशैलीप्रति जाइकाले खुला रुपमै रोष प्रकट गरेको थियो । उसले अब यो परियोजनामा लगानी नगर्ने जानकारी सडक विभागसहित सम्बद्ध निकायलाई दिएपछि सरकार अन्योलमा परेको थियो ।

जापानले २०१६ मा नागढुंगा सुरुङमार्गका लागि ऋण सहायता उपलब्ध गराएपछि सडक पूर्वाधारमा अर्को ठूलो ऋण दिएको छैन ।

परियोजनाबारे मन्त्री र सचिवपिच्छेका फरक नीति, भनाइ, अडानमा जाइकाको असन्तुष्ट बनेको थियो ।

२०७४ मा जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक ८ लेनको बनाउन प्रारम्भिक अध्ययन गर्‍यो र अध्ययनका निचोडहरुको प्रस्तुति राख्दै सरकारलाई सोधेको थियो, ‘३ विकल्पमध्ये कुनमा जाने त ?’

पहिलो विकल्प थियो, अहिलेकै सडकलाई सुधार मात्र गरेर स्तरीकृत गर्ने, दोस्रो साँगाभन्ज्याङमा एतफर्की ‘ओपन कट’ गरेर सुधार गर्ने र तेस्रो साँगाभञ्ज्याङमा सुरुङमार्गसहित सडक विस्तार गर्ने । पलाँसेबाट साँगा भञ्ज्याङसम्म साँघुरा घुम्तीहरु रहेकाले ८ लेनको सडक बनाउन समस्या छ । सोही कारण उक्त खण्डमा सुरुङमार्गको प्रस्ताव गरियो ।

त्यतिबेला सरकारले सुरुङमार्गसहित यो सडक विस्तार गर्ने विकल्पलाई रोजेको थियो । नेपाल सरकारले सुरुङमार्ग बनाउने भनेपछि जाइकाले त्यसैअनुरुप सम्भाव्यता अध्ययन गर्‍यो । र, साँगामा २० मिटरको दूरीमा एकै स्थानमा दुईतर्फी हुने गरी दुई सुरुङ १.३ किलोमिटर दुरीका बन्ने अध्ययनले देखाएको थियो ।

जाइकाले सूर्यविनायकसम्म सडक विस्तार गर्दा सर्भिस लेन पनि आफैंले बनाउने भनेको थियो । जापानले यो सडक खण्डका विभिन्न स्थानमा ओभरहेड ब्रिज (आकाशे पुल) सहित ट्राफिक लाइट प्रणाली पनि राख्न प्रस्ताव गरेको थियो । जापानी सहयोगमा बनेको कोटेश्वर–सूर्यविनायक खण्डको सर्भिस लेन भने त्यतिबेला सरकारले नै बनाएको थियो ।

सम्भाव्यता अध्ययन सकिएपछि जापानले सहुलियत ब्याजदरको ऋण सम्झौताका लागि प्रस्ताव गर्‍यो । सुरुङसहित निर्माण गर्दा २२ अर्बको लागत अनुमान थियो ।

तर, जब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसको फाइल पुग्यो, तब स्थिति उल्टियो । मन्त्रालयले परियोजना निकै महँगो भएको भन्दै अघि बढाउन नसकिने भनेर जवाफ फर्कायो ।

सुरुङमार्ग निर्माणका लागि विस्तृत डिजाइन सुरु भइसकेको अवस्थामा मन्त्रालयले सुरुङसहित निर्माण गर्दा परियोजना महंगो भएको बतायो र पूर्ण अनुदानमा बनाउन प्रस्ताव गर्‍यो ।

जापानले सहुलियत ऋणको प्रस्ताव दोहोर्‍याउँदै सुरुङविना नै सडक बनाउने भए १६ अर्बमा बन्न सक्ने जानकारी दियो । तर, मन्त्रालयले यो परियोजना पनि महंगो पर्ने भन्दै अघि नबढाउने बताए थियो, जसका कारण निकै चर्चा भएको सडक विस्तारको योजना अलपत्र बन्न पुग्यो ।

सरकारसँग पटक–पटक वार्ता गर्दा पनि तत्कालीन भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले परियोजना अघि बढाउन नसकिने बताएका थिए । त्यसपश्चात आयोजनामा जापानको सहयोग लिने सरकारी योजना नै तुहिएको अधिकारीहरु बताउँछन् ।

तत्कालीन मन्त्री रघुवीर महासेठले यो आयोजना सरकार आफैंले बनाउने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । आफू लगानी गर्न तयार भएको आयोजनामा मन्त्रीको गौण चासो देखेको भन्दै जाइका पछि हटेको थियो ।

सरकारले जाइकालाई कलंकी–नागढुंगाको बाटोको उदाहरण दिंदै सस्तोमै सडक विस्तार गर्न सकिने उदाहरण पेश गरेको थियो । त्यसबाट झनै जाइका रुष्ट बनेको अधिकारीहरु बताउँछन् ।

नागढुंगाको बाटो बन्दाबन्दै भत्किएको थियो । जाइकाले कोटेश्वर–सूर्यविनायक खण्डजस्तै स्तरीय र ३५ वर्षसम्म टिक्ने खालको सडक बनाउन प्रस्ताव गरेको थियो । तर, सरकार अहिले आफैं डीपीआर बनाइरहेको छ । यो खण्डको सडम सीमाभित्र रहेका संरचना हटाउन सकड विभागले सुचना जारी गरिसकेको छ ।

सूर्यविनायक–धुलिखेल सडक अरनिको राजमार्गको एक खण्ड हो । उक्त राजमार्गबाट चीनसँगको तातोपानी नाका र वीपी राजमार्ग जोडिन्छ ।

यो खण्ड विस्तार भयो भने काठमाडौं भित्रिने र बाहिरिने सवारीको आवागमन सजिलो हुनेछ । यो सडक स्तरोन्नतिपछि अरनिको र बीपी राजमार्गसहित दोलखा, खोटाङ, रामेछाप, सिन्धुलीलगायत लामो दूरीका गन्तव्यमा चल्ने सार्वजनिक यातायातका लागि सहज हुनेछ ।

यो सडक ८ लेनमा विस्तार भएपछि धुलिखेलको पर्यटन प्रवर्द्धनमा पनि कोशेढुंगा सावित हुने सरकारी विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?