+
+

काठमाडौंका ३ क्षेत्रमा एकीकृत समाजवादीको दावी, को को छन् आकांक्षी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १९:५२

२६ साउन, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा तालमेल हुँदा नेकपा एकीकृत समाजवादीले काठमाडौंका तीन वटा निर्वाचन क्षेत्रमा दाबी गर्ने भएको छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये हाल एकीकृत समाजवादीका दुई सांसद छन् । एकीकतृ समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं–२ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ का सांसद हुन् ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानान्धरका अनुसार उनको पार्टीले काठमाडौं क्षेत्र नम्बर २ र ७ सँगै ८ मा दाबी गरेको छ । तीमध्ये कुनै एक छोड्नु पर्दा काठमाडौं क्षेत्र नं आफूहरुको रोजाइ रहेको मानान्धर बताउँछन् ।

‘कुन कुन निर्वाचन क्षेत्रबाट अगाडि बढाउने भन्नेमा गृहकार्य सुरु गरिसकेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘गठबन्धन हुँदाको अवस्थामा को–हो र गठबन्धन नहुँदाको अवस्थामा को–कोलाई अगाडि बढाउने भन्ने गरि पनि छलफल भइरहेको छ ।’

को को छन् आकांक्षी ?

काठमाडौं–२ का सांसद माधव नेपाल आगामी निर्वाचनमा कहाँबाट उम्मेदवार बन्लान् भन्ने धेरैको चासो छ । तर एकीकृत समाजवादीका नेताहरु टुंगो लाग्न बाँकी रहेको बताउँछन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले माधव नेपालका लागि काठमाडौं भन्दा उनको गृह जिल्ला रौतहट सहज हुने देखाएको छ ।

तर सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा उनले काठमाडौंलाई नै निरन्तरता दिन सक्ने पनि कतिपय नेताहरुको बुझाइ छ ।

काठमाडौं इन्चार्ज मानन्धर पनि आफूहरुको जोड अध्यक्ष काठमाडौंबाट लड्नुपर्छ भन्ने रहेको बताउँछन् । अध्यक्षज्यू काठमाडौं-२ बाट पनि लड्न सक्नुहुन्छ,’ उलने भने, ‘हाम्रो उहाँ माग काठमाडौं–२ बाटै लड्नुपर्छ भन्ने पनि हो ।’

अध्यक्ष नेपालले निर्णय गरिनसकेका कारण अरु नेताहरुले पनि काठमाडौं क्षेत्र नम्बर २ मा आकांक्षा राखेका छैनन्

काठमाडौं क्षेत्र नं ७ बाट बसन्त मानान्धर आकांक्षी छन् । यो क्षेत्रबाट यसअघि नेकपा एमालेका नेता रामवीर मानान्धरले चुनाव जितेका थिए ।

क्षेत्र न. ८ को उम्मेदवारमा वर्तमान सांसदसमेत रहेका जीवनराम श्रेष्ठ आकाांक्षी छन् । हाल पर्यटन मन्त्री समेत रहेका उनले आगामी निर्वाचनलाई लक्षित गरी आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका पनि छन् ।

दाबी गरेका क्षेत्रमा मतको अवस्था ?

उपत्यकामा माधव नेपालले प्रतिनिधित्व गर्ने काठमाडौं–२ मा एकीकृत समाजवादीले गत स्थानीय तहको निर्वाचनमा वडा तहमा ७ हजार ९११ मत पाएको छ ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका वडा नम्बर ९ र ३२, शंखरापुर नगरपापलिका र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ पर्छन् ।

काठमाडौं–७ मा स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा एकीकृत समाजवादीले पाएको मत ३ हजार ८३९ हो । यो क्षेत्रमा काठमाडौं महानगरका १६, १७, १८, २५ वडा, नार्गाजुन नगरपालिकाका १, २, ३ वडा र तारकेश्वर नगरपालिकाको ३, ४, ५ वडा पर्छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नं ८ मा स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा ४ हजार ९४५ मत पाएको थियो । यो क्षेत्रमा काठमाडौं महानगरका १३, १५,२०, २३ र २४ तथा नार्गाजुन नगरपालिकाका वडा न. ४ र ५ पर्छन् ।

काठमाडौं–९ मा एकीकृत समाजवादीको मत ५३२ मात्रै छ । यो क्षेत्रमा काठमाडौं महागनरका वडा नं १२, १४, २१, २२, नार्गाजुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० तथा चन्द्रागिरी नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?