+
+

कृष्णहरि पुष्कर बने अर्थ सचिव, राजस्वमा दंगाल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १८:५५

२६ साउन, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करलाई दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी रामेश्वर दंगाललाई दिएको एक मन्त्रीले जानकारी दिए ।

पुस्करको विवादित विगत
अर्थमन्त्री जनार्दन शर्मामाथि अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गरेको आरोप लाग्दा मधुकुमार मरासिनी र अर्थसचिव र कृष्णहरि पुस्कर राजश्व सचिव थिए ।

यो विवाद उत्कृर्षमा पुगेपछि मरासिनी २२ असारमा विदा बसे भने शर्माले राजीनामा दिए । पुस्कर राजश्व सचिवमा रहिरहे । मन्त्रीको राजीनामापछि मन्त्रालय फर्किएका अर्थ सचिव मरासिनी, अर्थमा शर्मा फर्किएपछि फेरि विदा बसे । सचिव मरासिनीलो शर्माको मातहतमा बसेर काम गर्न नचाहेपछि सरकारले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

त्यसयता पुस्कर अर्थ सचिव बन्ने दौडमा थिए । १९ साउनको मन्त्रिपरिषद् बैठकले उनलार्य तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी पनि थपिदिएको थियो ।

अधिकारीहरुका अनुसार त्यसबेलासम्म उनलाई अर्थ सचिव बनाउने प्रधानमन्त्रीको योजना थिए । सचिवहरु बैकुण्ठ अर्याल, केबलप्रसाद भण्डारी र अर्जुनकुमार पोखरेल पनि दाबेदारका रुपमा थिए । तर शक्ति केन्द्र रिझाउने सिपालु र मन्त्रीका लागि सजिला सचिव पुस्करले अर्थमन्त्री शर्मालाई हातमा लिए ।

उनकै जोडबलमा हालसालै सचिवमा बढुवा भएर सुदूरपश्चिम प्रदेश सरकारको प्रमुख सचिवमा पोष्टिङ भएका रामेश्वर दंगाललाई राजस्व सचिवमा ल्याइएको छ । पुस्कर आफू चाहिँ अर्थसचिव बन्न सफल भएका छन् ।

२४ असार २०७८ मा मात्रै सचिवमा बढुवा भएका पुस्कर डेढ महिनामै उनी अर्थ मन्त्रालयमा भित्रिएका थिए । शक्ति केन्द्र रिझाएर लगातार छलाङ हान्दै आएका उनले राजश्व सचिव भएको एक वर्ष पुग्दा नपुग्दै अर्थ सचिव बनेका छन् ।

प्रशासन समूहका उनी उपसचिव हुँदादेखि विवादमा पर्ने गरेका थिए । तत्कालीन श्रम तथा यातायातमन्त्री मोहम्मद आफ्ताव आलमका विश्वासपात्र रहेका उनी टेकबहादुर गुरुङ श्रम राज्यमन्त्री हुँदा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । केही महिनामै म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै मन्त्री गुरुङले उनलाई वैदेशिक रोजगार विभागबाट सरुवा गराएका थिए । त्यसपछि उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रूपमा पनि काम गरे, तर जहाँ-जहाँ कामका लागि पुगे, त्यहाँ उनी सधैं विवादमा मुछिए । मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो । बारामा सिडिओ हुँदा पनि व्यवसायीहरूले उनीमाथि अनेक नाममा दुःख दिएको आरोप लगाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको विश्वासपात्र बनेका उनले १३ मंसिर २०७२ मा उनले विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई बोलाएर धम्क्याएका थिए । सरकारी अधिकारीलाई अपशब्द बोल्नेदेखि डा. गोविन्द केसीलाई ‘पागल’ भन्दै विज्ञप्ति निकालेपछि उनको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भएको थियो ।

लोकमानसिंह कार्कीकै दबावमा १७ साउन २०७३ मा दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलर बनेका उनी अहिले अर्थ मन्त्रालयको सचिव बनेका छन् । एक पूर्व सचिव भन्छन्, ‘लामो हात गर्नेलाई ढुकटीको चाबी नै दिए के होला ? यही हुन्छ पो भन्न सकिन्न, तर जे पनि हुनसक्छ भन्न त सकिन्छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?