+
+

भन्सारमा ९ सय गाडी अलपत्र

भन्सारले जाँचपास नगर्दा विभिन्न मुलुकबाट आयात भएका पौने ५ अर्ब रुपैयाँ बराबरको ९ सय गाडी भन्सारमै अपलत्र परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १९:२३
फाइल तस्वीर

२७ साउन, काठमाडौं । भन्सारले जाँचपास नगर्दा विभिन्न मुलुकबाट आयात भएका पौने ५ अर्ब रुपैयाँ बराबरको ९ सय गाडी भन्सारमै अपलत्र परेको छ । व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेर भैरहवा र वीरगञ्ज नाकामा ल्याइपुर्‍याइएको सवारी साधन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अर्घेल्याइँका कारण जाँच पास हुन नसकेको नेपाल अटो मोबाइल एसोसिएसनले जनाएको छ ।

१२ साउन पछि भन्सारले जाँचपास गर्न छाडेपछि नाकामा ९ सय हारहारी कार र जीप अलपत्र परेको एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए ।

‘३२ असारमा राजपत्र आयो, १२ साउनसम्म जाँच पास भइरहेको थियो । तर एक्कासी अहिले गाडीलाई रोकियो,’ थापाले भने, ‘कारण सोध्दा भन्सार वाणिज्यलाई देखाउँछ, वाणिज्य हुन्छ भन्छ निर्णय गर्दैन ।’ वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडू र सचिवलाई नै भेटेर राजपत्रको अन्यौलता हटाउन गरेको आग्रह समेत पूरा नभएको थापाले बताए ।

‘मन्त्रीलाई हामीले भेटेका छौं, सचिवलाई ८/१० पटक फोन समेत गरिसकें,’ अध्यक्ष थापा भन्छन्, ‘पहिले सामान्य सूचनाबाट सच्याउन मिल्छ, भन्सारले पहिलेकै सूचनालाई आधार मानेर जाँच पास गर्न पनि सक्छ भन्थे अहिले यो विषय मन्त्रिपरिषद्बाट लैजानु पर्छ भन्छन् ।’

भन्सारले राजपत्र अस्पष्ट भएकाले गाडीहरुको जाँच पास गर्न नसकिने बताएका छन् । जाँच पास गर्ने नै भए वाणिज्यबाट स्पष्ट बनाएर ल्याउन भनेको अध्यक्ष थापाले बताए ।

के हो विवाद ?

सरकारले स्वदेशी ढुकुटीमा डलर सञ्चिति घटेको भन्दै १३ वैशाखमा विलासी र महँगा गाडीसहित १० प्रकारका वस्तु आयात असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । जसमध्ये १६ वटा फरक हार्मोनाइज कोर्डका कार, जीप र भ्यानहरु पनि प्रतिबन्धमा परे । तर, सोही राजपत्रले १३ वैशाख अघि नै बैकिङ प्रक्रिया पूरा गरेका यस्ता सवारी साधनहरुलाई आयात गर्न नरोकिने उल्लेख गरेको थियो ।

जसअनुसार पुरानै राजपत्रमा उल्लेख अनुसार १२ साउनसम्म १३ वैशाख अघि नै एलसी खुलेको सवारी आयात निरन्तर थियो । तर, सरकारले १३ वैशाखको प्रतिबन्धलाई १४ भदौसम्म लम्ब्याउन भन्दै केही संशोधनसहित ३२ असारमा नयाँ राजपत्र जारी गर्‍यो ।

उक्त राजपत्रमा पुरानो आयात प्रतिबन्धलाई यथावत राख्दै आयातमा थप कडाइ गरिएको मोबाइल र मोटरसाइकलबारे मात्रै प्रष्ट्याइएको थियो ।

नयाँ राजपत्रले १३ वैशाख अघि एलसी खोलेको सवारीको आयात गर्न दिने नदिनेबारे स्पष्ट नबोलेका कारण जाँच पास रोक्नु परेको दाबी भन्सार विभागको छ । तर, व्यवसायी भने १२ साउनसम्म आयात गर्न दिएर त्यसपछि रोक्नुमा शंकास्पद भएको बताउँछन् ।

१३ वैशाख अघि खुलेको एलसीका सवारी साधन आयात गर्न दिने कुरा नखुलेको भन्दै भन्सारले गाडीको जाँचपास रोकेको भन्सार विभागले जनाएको छ । राजपत्रमा आयात गर्न दिने वा के गर्ने भन्ने स्पष्ट रुपमा नखुलेको अवस्थामा मातहतको तल्लो निकायबाट के गर्ने भन्ने अन्योल भएको भन्सार विभागका सूचना अधिकारी पूण्यबिक्रम खड्काले बताए । स्पष्ट नखुलेको अवस्थामा सवारी साधन जाँच पास गर्न सकिने अवस्था भएन भनेर जानकारी भए पछि अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयलाई जानकारी गराएको उनले बताए ।

‘अस्पष्ट राजपत्रका कारण के गर्ने भनेर तल्लो निकायबाट जानकारी आयो । जसका कारण भोलि मुद्दा पर्न सक्छ भनेर जाँच पास रोकिएको हो,’ सूचना अधिकारी खड्काले भने, ‘अहिले भैरहवा, वीरगञ्ज र रसुवागढीमा गरी २ हजार हाराहारी गाडीको जाँच पास रोकिएको छ ।’ यसलाई सहजीकरण गरिदिन माथिल्लो निकायलाई भनिसकेको पनि उनले बताए ।

यता वाणिज्य मन्त्रालयले भने यसबारे केही पनि बोलेको छैन । राजपत्र संशोधनबारे कुनै जानकारी नभएको मन्त्रालयकी साहायक प्रवक्ता उर्मिला केसीले बताइन् ।

यसबारे थप विवरण लिन पटक– पटक सम्पर्क गर्दा मन्त्रालयका वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय र प्रवक्ता नारायण रेग्मी सम्पर्कमा आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?