
२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् ।
शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए ।
‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र ! यो भोट मागेर कति सिट ल्याएर राजा ल्याउने हो, हिन्दु राष्ट्र ल्याउने हो, कहिले संघीयता फाल्ने हो भनेर भन्नुहुन्छ’ अध्यक्ष लिङ्देनले भने, ‘तर मलाई विश्वास छ । राप्रपाजस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि यही कांग्रेस–एमालेहरुलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्न वातावरण बनाउन सकिन्छ ।’
पहिले संविधानसभा पनि नचाहेको कांग्रेस र एमाले माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमा सहमति जनाएको लिङ्देनले बताए ।
‘माओवादीले ठोकर ल्याएपछि संविधानसभाको स पनि सुन्न नचाहने कांग्रेस–एमाले गणतन्त्र, धर्म निरपेपक्षता, संघीयतामा सहमत भएका हुन्’ लिङ्देनले भने, ‘एउटा शक्ति निर्माण भएपछि यो देशका कांग्रेस एमाले त कुनै पनि बेला फेरिने रहेछन् ।’
कांग्रेस–एमालेका कतिपय नेताहरुले धर्म निरपेक्षता, सघीयता र गणतन्त्र गलत रहेछ भन्ने अभिव्यक्ति दिएको भन्दै लिङ्देनले भने, ‘यो बेला राप्रपा बलियो शक्ति भयो भने कांग्रेस एमालेलाई माओवादीले जस्तो ठोकेर होइन हामी बुझाएरै राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सक्छौं ।’
प्रतिक्रिया 4