+
+

त्रिपालमुनि राख्नु परेपछि भरतपुरबाट कैदीको स्थानान्तरण

रासस रासस
२०७९ साउन २९ गते १८:२८

२९ साउन, चितवन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।

कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरुलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको थियो । आचार्यका अनुसार निकै कठिन भएपछि ४६ जनालाई मकवानपुरको भीमफेदी, दुई जनालाई परासी र तीन जनालाई वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । उनीहरुलाई पठाएसँगै हाल त्रिपालमुनि कैदीबन्दीलाई राख्नुपरेको छैन ।

कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराईएको आचार्यले बताए । ‘विभागलाई जानकारी गराएका छौँ । पूर्वाधार निर्माणको विषयमा पहल भइरहेको छ’ उनले भने ।

अहिले कारागारमा ६७२ पुरुष र ५० महिला कैदीबन्दी छन् । २५५ पुरुष कैदीबन्दी र २५ महिला कैदीबन्दी राख्ने क्षमता भए पनि उक्त कारागारमा कैदीबन्दीको चापका कारण सुत्न समस्या भएको उनको भनाइ छ ।

कारागारमा छिमेकी जिल्लाबाटसमेत कैदीबन्दी ल्याएर राख्ने गरेका कारण सङ्ख्या बढ्दै गएको आचार्यले बताए । विषेश गरी नवलपुर र मकवानपुरबाट यहाँ कैदबन्दी ल्याइन्छ । उपचारका लागि समेत बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउने गरेका कारण चाप बढेको हो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित ठूला अस्पताल यहाँ भएकाले बिरामी कैदीबन्दीलाई स्थानान्तरण गरेर भरतपुर पठाउने गरिन्छ ।

कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै सरुवा रोगको संक्रमण फैलन सक्ने देखिएकाले उच्च सावधानी अपनाइएको आचार्यले बताए । बाहिरबाट ल्याइएका कैदीबन्दीलाई एक हप्ता क्वारेन्टिनमा राखेर मात्रै अरुको सम्पर्कमा जान दिइने उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?