+
+

राप्रपा नेपालले सीमित क्षेत्रमा तालमेल गर्ने, बाँकीमा आफ्नै उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १६:२०

३१ साउन, काठमाडौं । राप्रपा नेपालले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही सीमित क्षेत्रमा मात्र तालमेल गर्ने भएको छ ।

सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सीमित क्षेत्रमा मात्र तालमेल गर्ने निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । ‘तालमेल नभएका बाँकी सबै प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रमा राप्रपा नेपालले उम्मेदवार खडा गर्नेछ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

राप्रपा नेपालले असोज पहिलो हप्ता वीरगञ्जमा बृहत राष्ट्रिय भेला गर्ने र भदौ अन्तिम साता मेची  महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जसमा केन्द्रीय कार्यसमितिका सम्पूर्ण सदस्यहरु, प्रदेश अध्यक्षहरु र भातृसंगठनका अध्यक्षहरू सदस्य रहेका छन् ।

राप्रपा नेपालले अध्यक्ष थापाकै संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति पनि गठन गरेको छ । समितिमा डा. बिष्णु भण्डारी, दिलनाथ गिरी, सुरेश आचार्य, कुमार श्रेष्ठ, रामनरेश यादव, लक्ष्मी कुमारी सत्याल र राजाराम वर्तौला ‘चुनेली’ सदस्य रहेका छन् ।

हेर्नुहोस् राप्रपा नेपालको निर्णय

राप्रपा नेपालकाे प्रेस विज्ञप्ति

राप्रपा नेपाल अध्यक्ष कमल थापाको अध्यक्षतामा २०७९ साल साउन ३० र ३१ गते बसेको केन्द्रिय कार्यसमितिको बैठकले देशको वर्तमान अवस्थाको समिक्षा, पार्टीको भावि कार्यदिशा र कार्यक्रमको निर्धारण तथा आगामि निर्वाचनको तयारीका सम्वन्धमा छलफल गरी देहाय बमोजिम निर्णय गरेको छ।

१) बैठकले अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको “सकारात्मक परिवर्तनको लागि राष्ट्रवादी शक्तिको निर्माण” विषयक राजनीतिक कार्यपत्र परिमार्जनसहित पारित गरेको छ । यसैगरी महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम वर्तौलाले प्रस्तुत गर्नुभएको सचिवालय, प्रशिक्षण र संगठन सम्बन्धि प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई समेत परिमार्जन सहित पारित गरेको छ ।

२) बैठकले लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, केन्द्र र स्थानीय गरी दुईतहको सरकार, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक निर्वाचन प्रणाली अब राप्रपा नेपालको मुख्य अवधारणा हुने निर्णय गरेको छ । साथै, बैठकले सुशासन र आर्थिक समृद्धि राप्रपा नेपालको प्राथमिकता हुने एवं भ्रष्टाचार निवारण एवं वेरोजगारी समस्याको समाधान पार्टीको प्रमुख कार्यनीति हुने निर्णय गरेको छ ।

३) बैठकले नेपालमा कानुन विपरित संगठित र योजनाबद्ध रुपले भैरहेको धर्मान्तरण प्रति चिन्ता व्यक्त गरेको छ । धर्मपरिवर्तनको डढेलोलाई नियन्त्रण गर्न सकिएन भने त्यसले नेपालको राष्ट्रिय पहिचान र एकतामा आघात पु¥याउने तथा सदियौंदेखि नेपाली समाजमा कायम रहंदै आएको सामाजिक सांस्कृतिक सदभाव र एकता खलबलीन गै देश धार्मिक द्वन्दमा फस्न सक्ने खतरा तर्फ सरकार, राजनीतिक दलहरु र सम्बद्ध सबैपक्षको ध्यान आकर्षित गरेको छ । साथै, धर्मपरिवर्तनको मुल कारक बनेको “धर्मिनिरपेक्षता” खारेज गरी सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र पुनःस्थापन होस् भन्ने बैठकले माग गरेको छ ।

४) राष्ट्रिय जीवनका प्रायः हरेक क्षेत्रमा भ्रष्टाचार व्यापक हुँदै गैरहेको, स्थानीय तहदेखि केन्द्रीय सरकार सम्म अनियमिता र भ्रष्टाचार संस्थागत भएको, केही सिमित राजनीतिक नेता, कर्मचारी र व्यापारीको त्रिकोणात्मक साँठगाँठबाट भ्रष्टाचारको अभेद्य चक्रव्युह निर्माण भएको प्रति बैठकले गंभीर चिन्ता प्रकट गरेको छ । भ्रष्टाचार नियन्त्रण कार्यमा सशक्त कदम चाल्न अख्तियार दुरुपयोग निवारण आयोग लगायत सम्वद्ध सबै पक्षसँग बैठक आग्रह गर्दछ । साथै, सम्पति छानविन आयोग गठन गरियोस् भन्ने बैठकले माग गरेको छ ।

५) बैठकले आगामि संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई देशको बलियो शक्ति बनाउने उदेश्यका साथ देहाय बमोजिमका तयारी गर्ने निर्णय गरेको छः

क) भाद्र मसान्त भित्र सबै पालिकाका वडाहरुमा पार्टी ईकाई समितिहरु गठन कार्यलाई युद्धस्तरमा कार्यान्वयन गरिने छ ।
ख) कार्तिकको १५ भित्र सबै निर्वाचन बुथमा “बुथ कमिटि” गठन गरिने छ ।
ग) भाद्र मसान्त भित्र सम्बन्धित तहका अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरिने छ ।
घ) प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उमेदवारहरुको नाम जिल्ला कार्यसमितिले भाद्र २१ भित्र प्रदेश कार्यसमितिमा पाठउने र जिल्ला कार्यसमितिको सिफारिश सहित प्रदेश कार्यसमितिले भाद्र २५ सम्ममा केन्द्रमा पठाईसक्नु पर्नेछ ।
ङ) केन्द्रिय कार्यसम्पादन समितिले संसदीय बोर्डको सिफारिशमा भाद्र मसान्त भित्र सम्पूर्ण उमेदवारहरुको नामावली टुङ्गो लगाउने छ ।

६) आगामि निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभाका केही सिमित क्षेत्रहरुमा अन्य राजनीतिक दलसँग चुनावि तालमेल गर्ने निर्णय गरेको छ । तालमेल नभएका बाँकि सबै प्रदेशसभा र प्रतिनिधिसभाका क्षेत्रमा राप्रपा नेपालले उमेदवार खडा गर्नेछ ।

७) बैठकले आगामि २०७९ असोजको पहिलो हप्ता विरगंजमा “बृहद राष्ट्रिय भेला” आयोजना गर्ने निर्णय गरेको छ ।

८ विभेदकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ । राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ। अब संसदले हठ प्रदर्शन नगरोस् । ढिलोगर्ने काम सरकारले गरेको हो । अब यो बिषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ ।

९ बैठकले २०७९ भाद्रको अन्तिम हप्ता “मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा” आयोजना गर्ने निर्णय गरेको छ ।

१० बैठकले पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्यसमितिका सम्पूर्ण सदस्यहरु, प्रदेश अध्यक्षहरु र भातृसंगठनका अध्यक्षहरू रहेका छन् ।

११ बैठकले पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । समितिमा डा. बिष्णु भण्डारी, दिलनाथ गिरी, सुरेश आचार्य, कुमार श्रेष्ठ, रामनरेश यादव, लक्ष्मी कुमारी सत्याल र राजाराम वर्तौला ‘चुनेली’ रहेका छन् ।

१२ बैठकले सहमहामन्त्रि दमन बस्नेतको संयोजकत्वका श्रोत परिचालन समिति गठन गरेको छ ।

सुरेश आचार्य
प्रवक्ता
२०७९ साउन ३१ राप्रपा नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?