+
+

आठ ट्रक सुपारी विवादमा भन्सारले बुझेन अदालतको म्याद

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २१:२४

३१ साउन, विराटनगर । सुपारी विवाद प्रकरणमा भन्सार विभागले म्याद बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले मंगलबारका लागि बोलाएको अन्तरिम आदेश छलफल भदौ २ गतेसम्मका लागि सरेको छ ।

गत साउन ५ गते विराटनगर भन्सार हुँदै भारत निकासी भएको ८ ट्रक सुपारी प्रहरीले भारतीय प्रहरीको सहयोगमा फिर्ता ल्याएर राजस्व अनुसन्धान कार्यालय इटहरीलार्ई बुझाएको थियो । राजस्वको नियन्त्रणमा रहेको आठ ट्रक सुपारी छुटाउन अन्तरिम आदेश माग गर्दै निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले साउन २६ गते उच्च अदालत रिट दायर गरेका थिए ।

साउन २९ गते न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिनअघि दुवै पक्षलाई मंगलबार छलफलमा बोलाएको थियो । तर भन्सारले म्याद बुझ्नै इन्कार गरेपछि छलफलका लागि भदौंं २ को पेसी तोकिएको हो ।

उच्च अदालत विराटनगरका रजिष्टार जितेन्द्रबाबु थपलियाका अनुसार भन्सार विभाग त्रिपुरेश्वरका नाममा जारी भएको म्याद बुझ्न इन्कार गरेपछि अन्तरिम आदेश छलफलका लागि भदौ २ गतेका लागि पेसी तोकिएको हो ।

‘यस अदालतबाट विपक्षी भन्सार विभाग त्रिपुरेश्वरका नाममा जारी भएको म्याद सूचना आजको भोलि प्रतिउत्तर लगाउन सकिँदैन भनी म्याद बुझ्न इन्कार गरेको भनी म्यादसमेत फिर्ता आएको भन्ने तामेलदारको प्रतिवेदनबाट देखिएकाले प्रस्तुत अन्तरिम आदेशउपर आज सुनवाइ गर्न मिलेन’, न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासको मंगलबारको आदेशमा भनिएको छ ।

भन्सारले अदालतबाट जारी भएको म्याद सूचना बुझ्न इन्कार गरेकामा अदालतले ध्यानाकर्षण भएको जनाएको छ । ‘यसरी अदालतबाट जारी भएको म्याद सुचना बुझ्न इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधा अवरोध खडा गरेमा कानुन बमोजिम कारबाही हुनसक्ने ब्यहोरा सो विभागका प्रमुखलाई ध्यानाकर्षण गराई रीतपूर्वक म्याद तामेल गरी नियमानुसार पेस गर्नू’ उच्च अदालतको आदेशमा भनिएको छ ।

विराटनगर भन्सार हुँदै जोगवनी नाका पार भएको आठ ट्रक सुपारी भारतीय प्रहरीको सहयोगमा साउन ५ गते मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । जोगवनी भन्सार कार्यालयले शील लगाएका कारण कार्यालयले सिल खोल्न सकेको छैन ।

अदालतले साउन २९ गते अदालतले तत्काल शील नखोल्न पनि आदेश दिएको थियो । राजस्वको नियन्त्रणमा रहेको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकमा दुई लाख १९ हजार पाँच सय ९६ किलो सुपारी रहेको मोरङ प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?