+
+
आम निर्वाचन २०७९ :

कांग्रेसका ‘हेभिवेट’लाई आफ्नै क्षेत्रमा टिकट पाउन सकस

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ १ गते १०:४९

१ भदौ, काठमाडौं । सत्तारुढ दलभित्र आसन्न चुनावमा उम्मेदवार हुन आकांक्षा राख्नेहरुमा सम्भवतः सबैभन्दा लामो सूची नेपाली कांग्रेसको होला । तर, तालमेलले गर्दा उम्मेदवार हुन पाउनेकोे संख्या स्वतः घट्ने निश्चित छ ।

नेपाली कांग्रेसका नेताहरुका अनुसार कांग्रेसको बटमलाइन ९० सिट हो । प्रत्यक्ष तर्फको १६५ सिटमा कांग्रेसले ९० स्थानमा उम्मेदवार बनाउने अवस्था रह्यो भने ७५ जना आकांक्षी पछि हट्नुपर्दछ । परिणामतः टिकट हात पार्न केन्द्रीय तहका नेताहरु बीचमै हानथाप हुने भएको छ ।

एउटै क्षेत्रमा उम्मेदवारको दाबी गर्नेहरुको संख्या एक भन्दा बढी छ । कतिपय क्षेत्रमा एक भन्दा बढी केन्द्रीय तहका नेताले एउटै क्षेत्रमा दाबी गरेका छन् । एउटा क्षेत्रबाट अर्कोमा स्थानान्तरण गरेर प्रतिस्पर्धा गराउन सहज समेत यसपटक छैन । किनभने एउटा क्षेत्रबाट अर्कोमा सार्न खोज्दा त्यहाँ गठबन्धनलाई छुट्याइसकिएको क्षेत्र हुनसक्छ ।

पदाधिकारीलाई नै टिकट पाउन हम्मे

केन्द्रीय पदाधिकारीमा उपसभापति धनराज गुरुङलाई टिकटका लागि हम्मे पर्ने कांग्रेसका नेताहरु बताउँछन् । स्याङ्जा–१ मा उम्मेदवार बन्न उनले जिल्ला नेतृत्वलाई सहमतिमा ल्याउनैपर्ने चुनौती छ । जिल्ला सभापति राजु थापाको सहमति विना गुरुङलाई स्याङ्जा–१ मा सहज छैन । ‘जिल्लाको पार्टी संगठनको आधारमा राजु थापा स्याङ्जा १ मा निर्विकल्प जस्तै हो । राजुले छोडे मात्रै धनराज जीको सम्भावना रहन्छ,’ स्याङ्जाका कांग्रेस नेता भन्छन् ।

उपसभापति गुरुङकै गृह क्षेत्र अर्का नेता गोपालमान श्रेष्ठको पनि हो । चुनाव जित्नका लागि श्रेष्ठको रोजाइ स्याङ्जा २ मा हुँदै आएको छ । स्याङ्जा २ बाट उनी गत निर्वाचनमा पराजित भएका थिए । जिल्ला तहका एक नेताका अनुसार गृह क्षेत्रमा गुरुङ वा श्रेष्ठ यसपटक उम्मेदवार बन्न पाउने सम्भावना कम छ । पदाधिकारी पनि भएको हुँदा श्रेष्ठको भन्दा गुरुङ उम्मेदवार हुन पाउने सम्भावना बढी स्वभाविक रहन्छ ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ

विकल्पका रुपमा उपसभापति गुरुङलाई स्याङ्जा २ रोज्ने अवस्था छ । तर, उनलाई उम्मेदवार बन्न सहज भने छैन । प्रतिनिधि सभा सदस्य मोहन पाण्डे र प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ललाई पछि हटाउन सकेमात्रै गुरुङ उम्मेदवार हुने बाटो खुल्छ । स्याङ्जामा गठबन्धनका अन्य दल कमजोर रहेकाले दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुने सम्भावना बढी छ ।

पदाधिकारीमा रहेर टिकटका लागि कठिनाइ पर्ने अर्का व्यक्ति हुन् सहमहामन्त्री बद्री पाण्डे । बाजुरामा पाण्डेले टिकटका लागि मनाउनुपर्ने व्यक्ति कविराज पण्डित हुन् ।  पण्डित संस्थापन पक्षका जिल्ला नेता हुन् । पाण्डे र पण्डित पार्टी भित्र फरक–फरक समूहमा छन् । १३ औं अधिवेशनबाट जिल्ला सभापति चुनिएका पण्डित गत निर्वाचनमा एमालेका उम्मेदवार लालबहादुर थापासँग पराजित भएका थिए ।

बर्दिया–२ बाट टिकट पाउने सम्भावना कम रहेपछि सहमहामन्त्री किशोरसिंह राठोर बाँके–३ बाट उठ्ने तयारीमा छन् । बाँकेका जिल्ला तहका नेता अनुसार बाँके ३ मा राठोरले प्रतिस्पर्धा गर्ने निश्चित जस्तै हो ।

बर्दियाका २ क्षेत्र मध्ये १ मा गत निर्वाचनमा कांग्रेस विजयी भएको थियो । बर्दिया–२ मा अघिल्लोपटक माओवादी केन्द्रले जितेकाले कांग्रेसको भागमा यो क्षेत्र पर्ने सम्भावना पनि कम छ । साथै, गत निर्वाचनमा पराजित गोपाल दहित कांग्रेसबाट यस क्षेत्रमा आकांक्षी हुन् ।

सहमहामन्त्री जीवन परियारले उम्मेदवारी सुरक्षित गर्न कास्की १ मा कसरत बढाउनुपर्ने भएको छ । गत निर्वाचनमा पराजित यज्ञबहादुर थापा र पूर्व सभामुख तारानाथ रानाभाट यस क्षेत्रमा कांग्रेसबाट आकांक्षी छन् । उम्मेदवारको आकांक्षी थापाले आफू र जीवन परियार बीचमा समस्या नआउने बताए ।

नुवाकोटमा महत दाजुभाइमा को ?

नुवाकोटमा पनि केन्द्रीय नेताहरुबीच हानथाप हुने देखिएको छ । काठमाडौं ५ बाट गत निर्वाचनमा प्रतिस्पर्धा गरेका डा. प्रकाशशरण महत नुवाकोट १ मा उठ्ने इच्छा देखाएपछि उम्मेदवारका लागि पारिवारिक समस्या थपिने भएको छ ।

डा. प्रकाशशरण महत र डा. रामशरण महत

गत निर्वाचनमा यस निर्वाचनमा डा. रामशरण महत पराजित भएका थिए । नुवाकोट १ मा उम्मेदवार हुनका लागि प्रकाशशरणले दाजु रामशरणलाई विश्वासमा लिनुपर्ने भएको छ । महत दाजुभाइलाई यस क्षेत्रमा अर्को समस्या माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जित्नु पनि छ ।

अघिल्लो निर्वाचनमा माओवादीबाट हितबहादुर तामाङले जितेका थिए । अघिल्लोपटक जितेको आधारमा निर्वाचन क्षेत्र पाउने मोडालिटी तय भयो भने महत दाजुभाइले नै टिकट नपाउने अवस्था रहन्छ ।

नुवाकोट २ मा उम्मेदवार हुन कांग्रेस नेता अर्जुनरसिंह केसीले कसरत बढाउनुपर्ने व्यक्ति भएका छन् बहादुर सिंह लामा । लामा सभापति शेरबहादुर देउवा निकट हुन् । देउवाले उनी पक्षीय लामालाई अघि सारे भने केसीलाई अप्ठ्यारो पर्नेछ ।

मोरङमा आकांक्षी नेताको लर्को

गत निर्वाचनमा डा. मिनेन्द्र रिजालले मोरङ २ जितेका थिए । उनी यस क्षेत्रको स्वाभाविक हकदार भएपनि यहाँ केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि दाबी गरेकी छन् । समानुपातिक सांसद कोइरालाले मोरङ २ बाट आफू उठ्ने चाहना यसअघि नै विराटनगर पुगेर व्यक्त गरिसकेकी छन् ।

मोरङको राजनीतिमा क्षेत्र नम्बर ४ यसपटक सर्वाधिक चर्चामा छ । तीन केन्द्रीय नेताले यस क्षेत्रमा दाबी गरेकाले मोरङ ४ को चर्चा चुलिएको हो । अघिल्लोपटक पराजित महेश आचार्य, प्रदेश १ को कांग्रेस सभापतिमा पराजित गुरुराज घिमिरे र केन्द्रीय सदस्य भीम पराजुलीको यस क्षेत्रमा दाबी छ । यस क्षेत्रमा उम्मेदवार बन्नका एकले अरु दुई जनालाई सहमतिमा ल्याउनुपर्ने हुन्छ ।

मोरङ ६ नेता शेखर कोइराला गत निर्वाचनमा पराजित भएको क्षेत्र हो । यस क्षेत्रमा उनी उम्मेदवार हुने निश्चित जस्तै भएपनि आकांक्षा राख्नेमा केन्द्रीय तहका दुई नेता छन् । केन्द्रीय सदस्य डिला संग्रौला र रमेशजंग रायमाझी यस क्षेत्रमा आकांक्षी छन् ।

पौडेललाई तनहुँ १ मा कष्ट

कांग्रेसका करिब आधा दर्जन नेता भएको तनहुँ–१ मा उम्मेदवार बन्न कडा परिश्रम गनुपर्ने छ । तनहुँमा रामचन्द्र पौडेल, प्रदीप पौडेल, गोविन्द भट्टराई, शंकर भण्डारी, ध्रुव वाग्ले लगायतका केन्द्रीय नेता छन् ।

पौडेलको लागि पार्टीबाट टिकट पाउन सहज छ । तर, तनहुँ–१ अघिल्लोपटक गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ (किसान)ले जितेको क्षेत्र हो । श्रेष्ठ हाल एकीकृत समाजवादीमा छन् । २०७४ सालमा जितेको आधार देखाएर क्षेत्र बाँडफाँट भए यहाँ एकीकृत समाजवादीले उम्मेदवार बनाउने छ ।

रामचन्द्र पौडेल

तनहुँ १ मा पौडेल र गोविन्दराज जोशीबीच द्वन्द्व छ । त्यसैले यहाँ तेस्रो पात्रलाई अघि सार्नु पर्ने मत पनि छ । तेस्रो पात्रको रुपमा गोविन्द भट्टराईको चर्चा छ । जोशी पक्षको मतसमेत तान्न सक्ने पात्र गोविन्द भट्टराई नै हुनसक्ने तनहुँका एक जना नेताले बताए । ती नेता भन्छन्, ‘राजनीतिमा विवादमा नपरेको र जोशी तिरको मत पनि तान्न सक्ने भएकाले गोविन्द भट्टराई उपयुक्त हुन सक्छन् ।’

तनहुँ २ मा प्रदीप पौडेल र शंकर भण्डारीले उम्मेदवार हुन कसरत गर्नुपर्ने भएको छ । मुख्यमन्त्री हुने आधार पार्टीले देखाएको अवस्थामा भण्डारी प्रदेश सभामा उठ्नसक्ने जिल्ला तहका नेताको बुझाइ छ । उनी गत निर्वाचनमा यहाँ पराजित भएका थिए ।

२०७४ मा प्रदेश सभा सदस्य उम्मेदवार बनेका प्रदीप पौडेलले पनि पराजय भोगेका थिए । ‘आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार स्विकारेपछि शंकरले प्रदीपलाई नेता मान्नुपर्ने हो । उम्मेदवारको बढी हकदार प्रदीप हुनुपर्छ,’ तनहुँका एक नेता भन्छन् ।

चितवनमा स्वर्णिम र उमेशको चर्चा

कांग्रेसको राजनीतिमा चितवन सधैं चर्चाको केन्द्रमा रहन्छ । चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उठ्ने घोषणा गरिसकेकाले कांग्रेसका नेताहरुको दाबी फितलो बनेको छ । चितवन २ मा जिल्ला केन्द्रीयदेखि जिल्ला तहका नेताले दाबी गरेका छन् ।

डा. स्वर्णिम वाग्ले र उमेश श्रेष्ठ

यस क्षेत्रमा राज्यमन्त्री उमेश श्रेष्ठको नाम अहिले चर्चामा आएको छ । उनीसँगै जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ यहाँ आकांक्षी छन् । ‘उमेश जीले जिल्ला आएर आफू निकटकालाई भेला गरेर म उठ्ने हो भन्दै छलफल गरिरहेका छन्,’ कांग्रेसका चितवनका नेता भन्छन्, ‘उनी नजिक हुनेहरुलाई तयारी गर है भनिरहेको पनि देखिन्छ । देउवाका मान्छे उठ्छु भने अरुले उम्मेदवार हुन नपाउने हुन् कि ।’

चितवन १ मा प्रतिस्पर्धा गर्ने गरि मुख खोलेका नेता भने हालसम्म छैनन् । जिल्ला तहका नेताहरुका अनुसार अर्थविद् डा. स्वर्णिम वाग्लेको नाम बढी चर्चामा छ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थ खनियाँले पनि यस क्षेत्रमा रुचि देखाएका छन् । उनले प्राज्ञिक क्षेत्रका व्यक्तिहरुलाई फोन गरेर आफ्नो इच्छा देखाएका छन् । ‘चितवन १ मा चर्चामा नाम स्वर्णिम वाग्लेको छ । उम्मेदवार हुने इच्छा तीर्थ खनियाको पनि छ,’ चितवन कांग्रेसका एक नेता भन्छन्, ‘उठिरहने र हार्दै आउनुभएका राजेन्द्र बुर्लाकोटीको अलि–अलि नाम आएको छ ।’

जीतजंग नछोड्ने पक्षमा

ललितपुर–३ मा कांग्रेसका दुई केन्द्रीय सदस्य मदन अमात्य र जीतजंग बस्नेतबीच नै प्रतिस्पर्धा छ । उनीहरु एकअर्कालाई नस्वीकार्ने पक्षमा छन् । यस क्षेत्रबाट अघिल्लो चुनावमा माओवादी केन्द्रकी पम्फा भुसालले जितेकी थिइन् । ‘ललितपुर–३ मा यसपटक उठ्ने म नै हो, अरुलाई छोड्दिनँ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘मैले निर्वाचन तयारी सुरु गरिसकेको छु ।’

अमात्य गत निर्वाचनमा पराजित भएका थिए । अमात्य र बस्नेत दुबै जना संस्थापन समूहका केन्द्रीय सदस्य हुन् । कांग्रेस स्रोतका अनुसार बस्नेतलाई ललितपुर–३ मा उम्मेदवारको तयारी गर्न सभापति देउवाले निर्देशन दिइसकेका छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?