+
+

काठमाडौं-५ को सट्टा झापा नै किन रोजे विश्वप्रकाशले ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १८:३०

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापाबाटै उम्मेदवार बन्ने घोषणा गरे । झापाबाट लगातार दुई पटक आम निर्वाचनमा पराजित भएका उनले चुनाव क्षेत्र परिवर्तन गर्न सक्ने चर्चा थियो ।

उनी यसपटक काठमाडौं–५ मा उम्मेदवार बन्ने चर्चा भइरहेका बेला उनले बुधबार सामाजिक सञ्जालमार्फत प्रष्ट पारेका छन् ‘झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

उनले झापाको कुन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भन्ने खुलाएका छैनन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा शर्माले झापा– १ बाट प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला वाम गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।

अनलाइनखबरसँगको कुराकानीमा महामन्त्री शर्माले झापा-१ बाटै प्रतिस्पर्धा गर्ने संकेत गरे । उनले त्यहाँबाट उम्मेदवारी दिँदा माओवादी केन्द्रबाट निर्वाचित सांसद कार्कीले पनि सहयोग गर्ने आशा गरे ।

‘संसदीय व्यवस्थामा एउटा व्यक्ति मेची महाकाली जहाँ पनि गएर लड्नसक्छ । म जहाँ लड्दा पनि हुन्छ । एउटै जिल्ला वा क्षेत्र रोज्नुपर्छ भन्ने त होइन’ महामन्त्री शर्माले भने ‘झापा १ मा म लड्छु भनेपछि स्वभाविक रुपमा अघिल्लो चुनावमा जितेको साथीले मेरो लागि अप्ठ्यारो पार्नुहुन्न । म लड्छु भनेँ भने माओवादीबाट जितेका साथीले हो हो विश्वप्रकाश नै हो भन्नेमा ढुक्क छु ।’

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ५ का सभापति झापाबाट बसाइ सरी आएका ओम बिमली छन् । उनले शर्मालाई काठमाडौं–५ बाट उम्मेदवार बन्न प्रस्ताव गरेका शर्मा निकट नेता बताउँछन् ।

‘झापाबाटै बसाइसराई गरी आएका ओम बिमली काठमाडौं–५ को क्षेत्रीय सभापति हुनुहुन्छ, उहाँ र टोखा नगरपालिकाको मेयरमा पराजित रजनी थापाले पनि विश्व दाइलाई यस क्षेत्रमा लड्न आग्रह गर्नुभएको थियो’ शर्मा निकट ती नेताले भने ।

काठमाडौं–५ मा काठमाडौं महानगरको वडा नं २, ३, ४, ५, बुढानीलकण्ठ नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नं २, ३, ४, ५, ६, ७ पर्छन् ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा पाएको मतको आधारमा काठमाडौं–५ मा एमाले पहिलो शक्ति बनेको छ । झापामा पनि अवस्था त्यस्तै छ ।

वडाध्यक्ष पदमा काठमाडौं-५ मा एमाले उम्मेदवारले पाएको कुल मत १९ हजार ७०३, कांग्रेसको १४ हजार ८५३, राप्रपाको २ हजार ८२२, एकीकृत समाजवादीको १ हजार ८२७, माओवादीको १ हजार १६८ र जसपाको ५८ छ ।

झापा– १ का स्थानीय तहको वडाध्यक्ष पदमा एमालेले ३१ हजार २३२ मत पाएको छ । कांग्रेसले २४ हजार ५९, माओवादीले ३ हजार ९०५, एकीकृत समाजजवादीले १ हजार २५२ मत पाएको छ । काठमाडौं ५ मा १ हजार ९७ र झापा १ मा २ हजार १७ मतले एमालेभन्दा सत्ता घटक पछि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?