+
+

दाङमा स्थानीय तहका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते ८:२८

२ भदौ, दाङ । दाङमा स्थानीय तहको निर्वाचन सकिएको तीन महिना बित्दा पनि धेरै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थाको उल्लंघन गर्दै राजनीतिक पार्टीबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएका आधाभन्दा बढीले निर्वाचन खर्च विवरण नबुझाएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

दाङमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसँगै वडासदस्य गरी कुल २२ सय ७ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ५०४ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएको आयोगका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए ।

सूचना अधिकारी कँवरका अनुसार निर्वाचन भएको तीन महिना बित्दासमेत अझै १७ सय ३ जनाले खर्च विवरण बुझाएका छैनन् ।

पार्टी अनुसार खर्च विवरण नबुझाउनेमा नेपाली कांग्रेस पहिलो नम्बरमा छ भने माओवादी केन्द्र दोस्रो र एमाले पार्टी तेस्रो छ । कांग्रेसका ३४०, माओवादी केन्द्रका ३१८, एमालेका २९८ जना रहेका छन् ।

यस्तै नेकपा (एकीकृत समाजवादी) १६२ जनाले उम्मेदवारी दिएकोमा अझै १५९ जनाले खर्च विवरण बुझाएका छैनन् । हालसम्म तीन जनाले खर्च विवरण बुझाएका छन् ।

त्यस्तै जनता समाजवादी नेपालका २१ जनाले खर्च विवरण बुझाउँदा ४१ जनाले बुझाएका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जनाले खर्च विवरण बुझाएका छन् भने  २८० जनाले खर्च विवरण बुझाएका छैनन् ।

त्यस्तै जनमत पार्टीका १३, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका २४, नागरिक उन्मुक्ति पार्टीका ४, राष्ट्रिय जनमोर्चाका ६१ जनाले अझै खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका १४४ जनालेसमेत निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् । स्वतन्त्र रुपमा उम्मेदवार भएका १४७ जनामध्ये तीन जनाले मात्र खर्च विवरण बुझाएको सूचना अधिकारी कँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?