+
+

रामकुमारी झाँक्रीको अपिल : भ्रममा नपरौं, गठबन्धनमै अगाडि बढौं

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १६:४४

२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले गठबन्धनमै अगाडि बढ्ने स्पष्ट पार्दै भ्रमित नहुन पार्टी पंक्तिलाई अपिल गरेकी छिन् ।

नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेको एक वर्ष पुगेको दिनमा सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै नेता झाँक्रीले पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्न अपिल गरेकी हुन् ।

‘बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार/विचार आएको देख्छु, यो कुरा गलत हो,’ उनले भनेकी छिन्, ‘देशैभरीका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहन्छु।’

यस्तो छ नेता झाँक्रीको सन्देश-

गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितीक निर्णय लिएको दिन हो ।मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो । हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडि बढाएको दिन हो ।

स्वभावैले मैले मेरो निर्णय लिदा दाँया बाँयाका मेरा आफ्ना राजनीतिक अभिभावक छोडेर आएको दिन थियो । सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु । राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन् ।स्वतन्त्रता यानिकी आजादीको त्यही प्यासनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन् ।

हो, हाम्रो विद्रोह त्यही थियोः संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपल्धिको रक्षा गर्न, यो राजनीतिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहना अनुसार संचालन गर्न ।

आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो ।आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडि बढ्ने हाम्रो संकल्प छ । गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गतिदिन, संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ । आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडि बढ्नु आजको आवश्यकता हो ।

बजारमा केही दिनदेखि हामीहरूका बारेमा केही भ्रामक समाचार/विचार आएको देख्छु । यो कुरा गलत हो । देशैभरीका हाम्रा सहयोद्धा साथीहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहन्छु ।

आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो। यो अवसरमा सबै कमरेडहरू, साथीहरूप्रति हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?