+
+

नागरिकता विधेयकको विपक्षमा सत्तारुढ दलका २ सांसद, जसले पाए विपक्षीको ताली

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ भदौ २ गते १७:४८

२ भदौ, काठमाडौं । संघीय संसदमा रहेका पार्टीहरु राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकको पक्ष र विपक्षमा विभाजित छन् । पाँच दलीय सत्ता गठबन्धनले राष्ट्रपतिको यो कदमलाई राजनीतिक कदमका रुपमा ब्याख्या गरिरहेका छन् । राष्ट्रपतिलाई पनि राजनीतिक रुपमै जवाफ दिने भनेर फेरि पनि नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गर्ने गठबन्धनको तयारी छ ।

तर, बिहीबार प्रतिनिधिसभामा भएको विधेयकमाथिको छलफलमा सत्तागठबन्धनकै दुई जना सांसद जस्ताको तस्तै नागरिकता विधेयक पारित गर्ने तयारीप्रति खरो रुपमा उत्रिए ।

उनीहरु हुन् – सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरी र सत्ता घटक नेकपा एकीकृत समाजवादीका सांसद निरादेवी जैरु । दुबैले नागरिकता विधेयकले नेपालको दीर्घकालीन हीत नगर्ने समान धारणा व्यक्त गरे ।

कांग्रेसकी सांसद चौधरीले पार्टीको बन्धनबाट बाहिर निस्किएर मुलुकको हीतका लागि बोल्न आह्वान गरिन् । ‘यो राष्ट्रभन्दा ठूलो पार्टी होइन, म पनि हैन’ प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले भनिन्, ‘धेरै माननीय ज्युहरुलाई गलत भइरहेको भन्ने लागेको छ । तर, पार्टीको बन्धनले बोल्न सकिरहनुभएको छैन । पार्टीभन्दा माथि उठेर राष्ट्रलाई हेरेर बोल्नुस्, यो मुलुकको लागि बोल्नुस् ।’

एकीकृत समाजवादीका सांसद जैरुले नागरिकता विधेयकमा विवेकपूर्ण निर्णय गर्न आवश्यक रहेको बताइन् । महिला र पुरुषका बीचमा बिहे हुने बित्तिकै बुहारीले (नेपाली पुरुषसँग विवाह गरेकी महिला)ले नागरिकता पाउने हो भने ज्वाईं (नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुष)ले किन नपाउने भन्ने प्रश्न उठेको उनले स्मरण गरिन ।

साथसाथै सांसद जैरुले जस्ताको तस्तै नागरिकता विधेयक पारित गर्ने सत्ता गठबन्धनको शीर्ष नेताहरुको निर्णयप्रति कटाक्ष गरिन् । ‘यो देशलाई अगाडि बढाउनलाई शीर्ष नेतृत्वको भूमिका रहन्छ । आज कमरेडहरु शीर्ष हुनुहुन्छ । एउटा उमेर सकिन्छ, भोलि यो सबै ब्याज हाम्रा काँधमा आएका दिन ब्याजसहित निवारण गर्न सक्छौं कि सक्दैनौं ?’ जैरु थप्छिन्, ‘यो देश तपाईं हाम्रो हातमा छ । रहौंला हामी नेपाली कहाँ नेपालै नरहे ।’

यी दुई सांसदले नागरिकताको विधेयकको विरोधमा धारणा राखिरहँदा संसदमा विपक्षी दल नेकपा एमालेका सांसदहरुले भने समर्थनमा टेबल ठोकेका थिए ।

वैवाहिक अंगीकृत नागरिकताको विषयमा पुनर्विचार गरियोस्

नागरिकता विधेयक पुनर्विचारका निम्ति फर्किएको छ । म एउटा तितो स्मरण गर्न चाहन्छु । २०७८ साल वैशाख ८ गते र वैशाख ९ गते अध्यादेशमा जुन अनुमति जुन राष्ट्रपतिबाट भएको थियो, मैले उहाँको महिमा भन्दा पनि नेकपाको सरकार, सिंगो नेपालको कम्युनिस्ट पार्टीको अवस्था आज जुन ठाउँमा पुगेको छ, एउटा यो विधेयक नै थियो भन्नेसम्म ठान्दछु ।

तर, आज जसरी हामी के होइन भने, नेपालमै रहेका मधेशका जनता र पहाडियाबीचको जुन द्वन्द्व देखाउने कोसिस गरिएको छ, स्वभाविक रुपले नागरिकता विधेयकले कहीँ बोलेको छैन्, आज पाँच लाख जति युवाहरु नागरिकता नपाएर, जागीर गर्न पाइरहनुभएको छैन्, उच्च शिक्षा अध्ययन गर्न पाइरहेको छैन् । यसमा हाम्रो दुईमत छैन, तर विश्वमा भएका बिभिन्न व्यवस्था, पाकिस्तानलाई हेरौं, बंगलादेशलाई हेरौं, भुटानमा हेर्नुहुन्छ भने विवाह भएर छोराछोरी जन्मिइसकेर नागरिकता दिएपछि (विदेशी बुहारीलाई ) नागरिकता दिने सिस्टम छ ।

त्यसैले हाम्रो जस्तो भूगोल खुला बोर्डर भएका कारणले गर्दा हामीले बिभिन्न बेलाका सन्धि सम्झौताहरुले नेपाललाई कुण्ठा भएको देखेका छौं । त्यसैले यो विधयक एकपटक पुनर्विचार गरौं, गठबन्धनको सरकार छ, फेरि एक पटक यो देशलाई हामी युवाका हैसियतले, पार्टीका नेता त हौं, सांसद पनि हौं, तर यो देशका युवा पनि हौं । दिनरात यो देशलाई अगाडि बढाउनलाई शीर्ष नेतृत्वको भूमिका रहन्छ भन्ने पनि चाहन्छौं ।

नागरिकता महिला र पुरुषका बीचमा बिहे हुने वित्तिकै बुहारीले (नेपाली पुरुषसँग विवाह गरेकी महिला)ले नागरिकता पाउने हो भने ज्वाईं (नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुष)ले किन नपाउने भन्ने प्रश्न उठेको छ ।

५१ प्रतिशत महिलाको हक लिएर निर्वाचित भएर हामी संसदमा आएका महिला (महिला सांसद)हरुले नागरिकताको हकमा यदि विवाह गर्ने छोरीलाई हुँदैन भने फेरि पनि पितृसतात्मक समाजले गाँजेको देखिन्छ । त्यसैले वैवाहिक अंगीकृत नागरिकताको विषयमा पुनर्विचार गरियोस् । आज कमरेडहरु शीर्ष हुनुहुन्छ । एउटा उमेर सकिन्छ, भोलि यो सबै ब्याज हाम्रा काँधमा आएका दिन ब्याजसहित निवारण गर्न सक्छौं कि सक्दैनौं ? यो देश तपाईं हाम्रो हातमा छ । रहौंला हामी नेपाली कहाँ नेपालै नरहे भन्दै विवकेपूर्ण निर्णय गरौं ।

– (नेकपा एकीकृत समाजवादीकी सांसद निरादेवी जैरुले संसद बैठकमा राखेको विचार)

आउनेवित्तिकै नागरिकता  दिने भन्ने जो कुरा छ, यसमा सोच्नैपर्छ

राष्ट्रपति ज्यूले सन्देशसहित प्रतिनिधिसभामा, सदनमा पुनर्विचार गरियोस् भनेर पठाउनुभएको छ । केही कुरामा राष्ट्रिय सहमति होस्, केही कुरामा सच्चिएर आओस् भन्ने उहाँको अवश्य पनि मनसाय होला ।
राष्ट्रपति भनेको यो देशको प्रमुख हो । उहाँमाथि धेरै टिकाटिप्पणी गर्नु उचित होइन, गर्न पनि हुँदैन । आज उहाँ हुनुहुन्छ भोलि अर्को हुन्छ । हामीले आफ्नै राष्ट्रपतिको सम्मान गर्न सक्दैनौं भने, अरु कसको सम्मान गर्न  सक्छौं र ?

त्यसकारण यो नागरिकता विधेयक जसरी आयो, जसरी गयो एउटा पार्टीको हैसियतले, दलको हिसाबले म समर्थन गरौंला तर, व्यक्तिगत रुपमा मेरो आत्माले यो ठिक छैन भनेर आफ्नो कुरा राख्न चाहन्छु । किनभने, सबै नागरिक आन्दोलित छन् ।

यो चुनावको समयमा आएर हामी किन पास गरिरहेका छौं ? चार/पाँच महिना पछि त नयाँ सरकार, नयाँ सदन आइहाल्छ । सात वर्ष हामीले ढिला गर्‍यौं भन्छ । यो सात वर्ष कसको कारणले ढिला भयो त ? आज सात लाख नागरिकले नागरिकता पाइरहेका छैनन् । जन्मसिद्धको आधारमा ज जसका आमा बुबा नेपालको नागरिक हुनुभएको छ उहाँहरुको सन्तानले नागरिकता पाउनुपर्छ । सात वर्षसम्म ढिलाइ किन भयो ? कसको कारणले भयो ? त्यसको क्षतिपूर्ति दिने कि नदिने तिनीहरुलाई ? ढिलो पनि आफैं गर्ने ?

साथसाथै यो वैवाहिक अंगीकृत भनेपछि सोचनीय कुरा छ । आउनेवित्तिकै नागरिकता  दिने भन्ने जो कुरा छ, यसमा सोच्नैपर्छ । किनभने हाम्रो जस्तो सानो मुलुकमा यसरी हामीले नागरिकता दिँदै गर्‍यौं भने समस्या हुन्छ । नागरिकता त दिन हुन्छ, जो आए पनि दिन हुन्छ किन नदिने रे ! त्यसो भए विज्ञापन खोलिदिउँ न त । आउन, सबैले नागरिकता पाउन । विज्ञापन खोलिदिउँ, सबैले भर्नुहुन्छ दिउँ नागरिकता ।

त्यसकारण यो राष्ट्रभन्दा ठूलो मेरो पार्टी पनि होइन, म पनि हैन । हामी यहाँ जति पनि छौं, सबैलाई लागेको छ, धेरै माननीय ज्यूहरुलाई लागेको छ । तर, पार्टीको बन्धनले उहाँहरु बोल्न सकिरहनुभएको छैन । पार्टीभन्दा माथि उठेर राष्ट्रलाई हेरेर बोल्नुस्, यो मुलुकको लागि बोल्नुस् भन्न चाहन्छु । र राष्ट्रपतिले पठाएको यो ठीक छ, उहाँको सम्मान गर्नुपर्छ । अपमान गर्दै गयौं भने, हामी एक आपसमा लड्यौं भने अवश्व पनि विदेशीहरुको चलखेल हुन्छ । विधेयक पारित गर्दा हुन्छ र हुन्नमा त एउटा पार्टीको सांसदको हिसाबले हुन्छ भन्नैपर्छ । तर, मेरो भावना चाहीं यो हो ।

– (नेपाली कांग्रेसकी सांसद पार्वता डीसी चौधरीले संसद बैठकमा राखेको विचार)

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?