+
+

बिजुलीको मिटर जोड्न प्राधिकरणको सधैं अलमल

कतै अभावको कारण देखाएर त, कतै अनेक बाहानाबजी गरेर नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले नयाँ मिटर माग्न र थप लोड स्वीकृत गर्ने काममा ढिलाइ गर्छन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ २ गते २२:१०

२ भदौ, काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी दलबलसहित ३० असारमा दाङको तुलसीपुरस्थित विद्युत् प्राधिकरण वितरण केन्द्रमा पुगे । शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीसहितको टोली सोवग्राहीसाथमा लिएर त्यहाँ पुगेको थियो ।

वितरण केन्द्रका प्रमुख ज्ञानप्रसाद फर्सालसँग उनीहरुले बिजुलीको मिटर जोड्न घुस मागेको भन्दै आपत्ति मात्रै जनाएनन्, कमजोर भोल्टेजको बिजुलीले समस्या परेको पनि सुनाए । सोवग्राहीले पनि समयमै मिटर नदिएको भन्दै आक्रोश पोखेका थिए ।

मिटर माग्दा पनि बेलैमा नदिने समस्या प्राधिकरणका धेरै वितरण केन्द्रमा छ । यही कुरा जानकारी पाएर ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बुधबार नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा वितरण केन्द्रका कर्मचारीको सुशासनमाथि गम्भीर प्रश्न उठाइन् ।

‘मन्त्रालय, मन्त्री र प्राधिकरणले चाहेजति विद्युत् खपत गर्नुहोस्, लोड स्वीकृत गर्नुस् भन्दै हिँड्ने, तर एउटा थ्रीफेज मिटर माग्दा महिनौं कुर्नुपर्ने अवस्था अझै छ,’ उनले भनेकी थिइन्, ‘अबका दिनमा यस्तो व्यवहार र सेवा प्रवाहको शैली परिवर्तन गर्नु जरुरी छ । त्यस्ता बदमासी गर्नेलाई कारवाही गर्न निर्देशन दिन्छु ।’

मन्त्री भुसालले कुनै मनगढन्ते कुरा गरेर यो निर्देशन दिएकी थिइनन् । ६ महिनादेखि थ्री फेज मिटर जोड्न नपाएको सेवाग्राही आफैंसम्म गुनासो बोकेर पुगेपछि वार्षिकोत्सव समारोहमा यसको खुलासा गरेकी थिइन् ।

‘एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको गुनासो आएको छ,’उनले भनेकी थिइन्, ‘म व्यवस्थापनको ध्यानाकर्षण गराउँछु ।’ मन्त्री भुसालले यस्ता समस्या सुल्झाउन ऐन र नियम परिवर्तन गरेपनि अब कर्मचारीको सोच र शैलीमा परिवर्तन आवश्यक रहेको औंल्याएकी छिन् ।

बाहानाबजीले ग्राहकलाई सास्ती

समयमै टेन्डर नगर्दा विद्युत् प्राधिकरणमा केही महिनाअघि घरायसी प्रयोजनका वितरण मिटरको अभाव चर्किएको थियो । केही समय वितरण ट्रान्सफर्मर पनि माग अनुसार आपूर्ति भएको थिएन । तर, अहिले सो समस्या समाधान भइरहेको छ । प्राधिकरणमा थ्री फेज मिटरको पनि अभाव छैन ।

तर, अहिले पनि कतै अभावको कारण देखाएर त, कतै अनेक बाहानाबजी गरेर लोड स्वीकृत गर्दैनन् । अतिरिक्त रकम (घुस) माग्नेहरु पनि छन् । सेवाग्राहीलाई अल्मल्याएर घुसको धन्दा चलाउनेहरु प्राधिकरणमा निरुत्साहित भएका छैनन् ।

प्राधिकरणको कतिपय वितरण केन्द्रले सजिलै र समयमै मिटर जोडिदिंदैनन् । मिटरको लागि आवेदन परेको र थप लोड स्वीकृतिका लागि निवेदन दिएको महिनौंसम्म कर्मचारीले अनेक बाहनाबाजी गरेर मिटर नदिने समस्या छ ।

प्राधिकरणको कतिपय वितरण केन्द्रले सजिलै र समयमै मिटर जोडिदिंदैनन् । मिटरको लागि आवेदन परेको र थप लोड स्वीकृतिका लागि निवेदन दिएको महिनौंसम्म कर्मचारीले अनेक बाहनाबाजी गरेर मिटर नदिने समस्या छ ।

२०७३ मा कुलमान घिसिङ प्राधिरकणको नेतृत्वमा आएपछि ट्रान्सफर्मरको नाममा हुने राजनीतिक लगभग अन्त्य भएको छ । प्राधिकरणले योजना बनाएर ट्रान्फर्मर आपूर्ति गरिरहेकाले भोल्टेज कम भएर ट्रान्सफर्मर थप्न दलका नेताको सोर्सफोर्स लगाउनु पर्ने अवस्था हटेको छ ।

तर, सेवाग्राही व्यक्तिगत रुपमा सेवा लिन जाने भएकाले प्राधिकरणका कतिपय कर्मचारीले समयमै लोड स्वीकृत नगर्ने र मिटर नजोडिदिने समस्या बढेको छ ।

पछिल्लो समयमा प्राधिकरणले यो समस्या समाधान गर्न विभिन्न नीति र विधि पनि परिवर्तन गरेको छ । समस्या केही घटेपनि यस्ता समस्याबाट पीडित सेवाग्राहीको संख्या सानो छैन ।

प्राधिकरण भन्छ-पहिले जस्तो छैन

प्राधिकरणका वितरण विभाग प्रमुख तथा उपमहानिर्देशक मनोज सिलवाल मिटर नदिएर अल्मल्याउने प्रवृत्ति धेरै हदसम्म न्यूनिकरण भइसकेको दावी गर्छन् । तर, कतिपय सेवाग्राहीले आवश्यक नभएको लोड समेत लिन खोज्दा समस्या भएको हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसर १०० केभीएसम्मका लाइन प्राधिकरणले आफ्नै ट्रान्सफर्मर राखेर ग्राहकलाई दिने गरेको छ । १०० केभीएभन्दा बढीको लाइन लिने ग्राहले मात्रै आफ्नै ट्रान्सफर्मर राखेर लाइन लिन सक्छन् ।

‘प्राधिकरणभित्र सेवाग्राहीलाई दुःख दिने एक–दुई जना मान्छे नभएका हैनन्, यस्तो समस्या हामीकहाँ गुनासो नआएर पनि भएको हो,’ उनी भन्छन्, ‘हामीसम्म गुनासो आउँदा हामीले तुरुनतै निर्देशित गर्छौं ।’

उनले कतिपय वितरण केन्द्रमा विचौलियाहरु सेमत सक्रिय रहेको पाइएको बताए । प्राधिकरणका मान्छे संलग्न नभएपनि बिचौलियाले नै सेवाग्राहीलाई ढिला हुने डर देखाएर गलत हर्कत गर्ने गरेको पनि उनको अनुमान छ ।

‘थ्री फेज लाइनको मिटर लिन त अनलाइनबाटै प्रक्रिया पूरा गर्न सकिने अवस्था छ,’ उनले भने, ‘हामीले सकेसम्म निवेदन पर्नासाथ मिटर जोड्ने गरी प्रणाली बनाएका छौं ।’

कुनै कारणले तत्काल लाइन दिन नसकिए लिखित रुपमै ग्राहकलाई यति दिनपछि दिन सक्छौं जानकारी दिने गरिएको सिलवालले बताए । काठमाडौंमा सेवाग्राहीका लागि हटलाइन सुविधा पनि दिइएको उनले जानकारी दिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भने खपत बढाउन लोड थप्ने र नयाँ मिटर जोड्ने ग्राहकलाई विगतको भन्दा धेरै सहज अवस्था बनाइसकिएको बताउँछन् । ‘विगत ६ वर्षमा ३ गुणाले खपत बढेको छ, चुवाहट पनि ठूलो मात्रामा घटेको छ’ उनी भन्छन्, ‘हामीले सुशासनका मामिला पनि कडाइ गरेकाले नै यो सम्भव भएको हो ।’

‘अब सुशासन, पारदर्शिता र जवाफदेहीता कायम गर्दै उपभोक्ताहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित सुदृढ र सवल प्राधिकरण निर्माण गर्न हाम्रा प्रयासहरु केन्द्रित हुनेछन्,’ घिसिङ भन्छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?