+
+

त्यो नयाँ मापदण्ड, जसले देव गुरुङलाई स्वतः महासचिव बनायो

गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले अनलाइनखबरलाई बताए ।

दिपेश शाही दिपेश शाही
२०७९ भदौ ४ गते १७:३४

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिव पदका लागि लामो समयदेखि जारी खिचातानी अन्त्य गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई रोजेका छन् ।

महाधिवेशन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्माबीच सहमति जुट्न नसकेपछि त्यसको विकल्पमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् । तर, यसमा प्रचण्डको चाहना मात्रै नभएर स्थायी कमिटीले तय गरेको पछिल्लो मापदण्डका कारण गुरुङ महासचिव बनेका हुन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरे । उनले अरु दाबेदारलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।

प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले अनलाइनखबरलाई बताए ।

‘आकांक्षी दुवै जनाबीच सहमति नजुटेपछि हामीले बनाएको नयाँ मापदण्डमा वरिष्ठतालाई आधार बनाउँ भन्ने भयो,’ ती नेताले भने, ‘त्यसमा देव गुरुङ चौथो नम्बरमा पर्नुहुन्छ । उहाँलाई बनाउँ भन्ने प्रस्ताव आउँदा कसैबाट पनि विमति भएन ।’

यसमा महासचिवका आकांक्षी पुन र शर्माको पनि सहमति रह्यो । आफू महासचिव नहुने अवस्थामा निकट प्रतिद्वन्द्वीलाई रोक्न उनीहरु दुवै चाहन्थे । लामो समयदेखि पुन र शर्माका कारण पदाधिकारी चयनमा ढिला भएको भनेर आलोचना हुन थालेपछि दुवै जना एकले अर्कालाई नस्वीकार्ने तर आफू छोड्न तयार भएको संकेत प्रचण्डलाई गरेका थिए । केही समयअघि नै यो संकेत गरेपछि पम्फा भुसाल र शक्ति बस्नेतलाई प्रचण्डले महासचिव बनाउन सक्ने आँकलन भइरहेको थियो ।

पदाधिकारी चयन गर्न नसकिने अवस्था बनेपछि प्रचण्डले अघिल्लो वर्षको पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनलाई पदाधिकारी विहिन केन्द्रीय कमिटी देखाएर समापन गरेका थिए ।

महाधिवेशन एक हप्तासम्म लम्बिँदा पनि पदाधिकारीको टुंगो लगाउन नसकेपछि प्रचण्डले अध्यक्षको जिम्मेवारी समेत त्यसको भोलिपल्ट पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक आयोजना गरेर लिएका थिए ।

आकांक्षी नेताहरूका बीचमा सहमति बनाउने जतिसुकै कोशिस गर्दा पनि असफल भएपछि प्रचण्डले अन्ततः त्यसको विकल्प खोजेका छन् । र त्यसको लाभ सशस्त्र युद्ध सुरु गर्दा बनेको माओवादीको केन्द्रीय समितिका १९ जनामध्येका एक देव गुरुङले प्राप्त गरेका छन् ।

सशस्त्र युद्ध सुरु गर्दा २०५२ सालमा गुरुङ पार्टीको केन्द्रीय सदस्य थिए । केन्द्रीय समितिभन्दा माथि ६ जनाको पोलिटब्यूरो थियो । जसमा प्रचण्ड महामन्त्री थिए भने मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी र सीपी गजुरेल थिए ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?