+
+
‘दुराचारी’ डीआई :

चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते २०:०८
सुरज सुवेदी र विनोदकुमार राउत ।

३ भदौ, विराटनगर । चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् ।

केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका खोलेपछि सुवेदी कोठाभित्र पसेर पानी मागे । ‘मैले पानी दिएँ, पानी खाइसकेपछि मलाई एक सय रुपैयाँ दिएर चुरोट किन्न पठाउनुभयो,’ पीडित किशोरीले बयानमा भनेकी छन्, ‘चुरोट लिएर आएपछि मलाई पानी पिउन दिनुभयो । पानी खाइसकेपछि चक्कर लागेजस्तो भयो ।’

रिंगटा लागेर भुईँमा ढलेपछि के भयो उनलाई थाहा छैन । उनी होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको छ । उनले भनिन्, ‘होसमा आउँदा भोलिपल्ट बिहान भइसकेको थियो । कोठामा बियरका बोतल, चुरोटका ठुटा र कागज छरपष्ट थियो, बेडमा रगतको टाटै–टाटा थियो । मेरो जिउमा भित्री बस्त्र समेत थिएन ।’

किशोरीका अनुसार सुवेदीले बलात्कार गरेको उनले भोलिपल्ट बिहानमात्र थाहा पाइन्, यो त पहिलो घटनामात्र थियो ।

किशोरीले बताएअनुसार करणीको भिडियो देखाएर सुवेदीले धम्क्याउँदै कहिले डेरामा त कहिले होटलमा लगेर करणी गरे । उनी सुरक्षितस्थल खोज्दै चार पटक कोठा सरिन्, तर उनको नियती रोकिएन ।

किशोरीलाई सुवेदीले खाँदबारीमा लगेर पनि बलात्कार गरे । ‘मलाई मिति र समय याद भएन, जेठ अन्तिमतिर धरान आइज भन्दै धम्काएपछि म बस चढेर धरान गएँ,’ किशोरीले बयानमा भनेकी छन्, ‘धरान पुगेपछि त्यतैबाट मोटरसाइकलमा राखेर संखुवासभाको खादबारीमा लगेर भेनस होटलमा ३ दिन राखी पटक पटक जवरजस्ती करणी गरे ।’

चार महिनामा तीन पटक कोठा सरेकी किशोरीलाई पछिल्लो पटक असार २८ गते डेरामै पुगेर सुवेदीले बलात्कार गरे ।

चार महिनादेखि चलेको यो शृङ्खलामा विराटनगरका जग्गा कारोबारी विनोद राउत पनि जोडिएका छन् । जेठ अन्तिम साता किशोरीलाई बेलुका सुवेदीले विराट होटलमा बोलाएका थिए । १०४ नम्बर कोठामा राउत पनि पुग्छन् ।

दुवैजनाले करणी गरेपछि राति नै होटलबाट बाहिरिएको पीडित किशोरीले बताएकी छन् । मानसिक रुपमा विछिप्त किशोरीलाई होटलमा लगेको समय याद नभएको र होटलको रेकर्डमा नाम पनि नभेटिएका कारण समय खुलेको छैन ।

सुवेदी र राउत साथी हुन् । उनीहरु दुवै राष्ट्रिय खेलकुद परिषद्को मोरङको कराते प्रशिक्षक पनि हुन् ।

छोरासँग गुहार

डीआईले पटक पटक करणी गरेपछि मानसिक रुपमा विछिप्त किशोरी गत चैतदेखि नियमित कलेज गएकी थिइनन् । तर पनि सुवेदीले पिछा गर्न छाडेनन् । त्यसपछि पीडित किशोरीले सुवेदीका छोरालाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर आफूमाथि भएको जवर्जस्ती सुनाउँदै बुबालाई सम्झाउन आग्रह गरिन् ।

सुवेदीका कारण आफ्नो जीवन बर्बाद भएको भन्दै उनले सन्देशमा लेखेकी छन्, ‘लास्ट गर्दै हुनुहुन्छ, के गर्नु म ? प्लिज मेरो लास्ट होप तपाईंमात्रै हो अब ।’

तर उनले बुबालाई सम्झाउन नसक्ने जवाफ फर्काए । किशोरीले आमा (सुरजको श्रीमती) को फोन नम्बर पनि मागेकी थिइन् । तर ममीलाई पनि हर्ट हुने भन्दै फोन नम्बर दिएनन् । पीडित किशोरी मानसिक रुपमा विक्षिप्त भइन् ।

६ साउन कलेजबाट पीडित किशोरीको घरमा फोन गएपछि भने घटनाले नयाँ मोड लियो । उनी लामो समयदेखि कलेज नै नगएको खबर पाएपछि अभिभावकले सोधीखोजी गरे ।

पीडित किशोरीले आफूमाथि निरन्तर करणी भएको बताएपछि अभिभावकले ८ साउनमा जिल्ला प्रहरी कार्यालय, मोरङमा जाहेरी दिए । जाहेरीका आधरामा प्रहरीले विराटनगर ४ का ५१ वर्षीय अमर सुवेदी र विराटनगर ३ का ५४ वर्षीय विनोदकुमार राउतलाई पक्राउ गरेको छ ।

अधिकतम सजायको मागदाबी

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालय मोरङले सुवेदी र राउतले सामूहिक जवरजस्ती करणी गरेको दाबीसहित जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको छ । मुद्दाको थुनछेक बहस आइतबारबाट हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले आरोपीलाई अधिकतम १५ वर्षसम्मको कैद सजाय माग गरेको छ ।

दुवै आरोपीले भने घटनामा संलग्नता इन्कार गरेका छन् । सुवेदीले किशोरीलाई आफूले चिनेपनि करणी नगरेको दाबी गरेका छन् भने राउतले नचिन्ने दाबी गरेका छन् ।

तर दुवैले पटक–पटक किशोरीलाई टेलिफोन सम्पर्क गरेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मेडिकल रिपोर्टमा पटकपटक करणी भएका कारण यौनाङ्गमा चोट रहेको उल्लेख छ । घटनापछि किशोरीमा ‘पोष्ट ट्रमा स्टेस्स डिसअडर’ र ‘एडजसमेन्ट डिसअडर’ देखिएको मेडिकल रिपोर्टमा उल्लेख छ ।

अनुसन्धानका क्रममा प्रहरीले पोलिग्राफ जाँच पनि गरेको थियो । तर अभियोग पत्रमा सो विषय समावेश छैन ।

सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा २१९ को ३ को देहाय (ङ) बमोजिम सात वर्षदेखि १० वर्षसम्मको कैद तथा सामूहिक करणी गरेको तर्फ सोही संहिताको दफा २१९ (७) बमोजिम थप पाँच वर्ष कैद सजाय माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?