+
+
अग्रपथ :

किन असफल भयो ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति बनाउने प्रयास ?

यथार्थमा पार्टी निर्माणको जटिलता भिन्नै हुन्छ । त्यसले वैचारिक, सैद्धान्तिक र सवालगत प्रष्टताको माग गर्दछ । संस्थागत पद्धति र प्रक्रिया अनि बलियो समूहकार्यको पनि माग गर्दछ । संस्थापनकालीन लक्ष्य र उद्देश्यप्रति दृढ र चट्टानी अडानको माग गर्दछ । संगठनात्मक कौशल र व्यवस्थापन क्षमताको माग गर्दछ । त्यो हुन सकेन ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०७९ भदौ ५ गते ८:३३

दशकको प्रारम्भतिर देशमा आफूलाई ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति दाबी गर्ने तीन वटा राजनीतिक समूह जन्मिएका थिए । उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली दल, डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी, नेपाल र रवीन्द्र मिश्रको नेतृत्वमा साझा पार्टी ।

आज करिब एक दशकपछि ती दलहरूको स्थिति हेर्दा निकै टिठलाग्दो देखिन्छ । यी दल यसबीच अनेक आरोह–अवरोह, एकता र विभाजनको शिकार भए । ठीक आजको मितिमा ती दल एकप्रकारको दुर्दशा र दुःखान्त, अधमरोपन र अधोगति, विनाश र पतनको स्थिति सामना गर्दैछन् । लुडोमा हुने ‘भर्‍याङ र सर्प’ को खेलमा जस्तै बल्लतल्ल अलिअलि सिंढी चढेका ती दल तुरुन्तै सर्पको मुखमा परेजस्तो भएका छन् ।

वस्तुतः यो कुनै खिसीटिउरी र खुच्चिङ, वितृष्णा र निराशा, पलायन र भागदौडको विषय भने हैन, हुनुहुँदैन । यी दलहरूको प्रयास, अभ्यास र असफलता हाम्रो राष्ट्रिय जीवनकै एक अनुभव थियो, हो । हाम्रो लोकतन्त्र र लोकतान्त्रिक अभ्यासकै एक अंश थियो, हो । तसर्थ यी घटनाबारे सूचित हुन, संज्ञानमा लिन, विश्लेषण र संश्लेषण गर्न आवश्यक छ ।

आखिर किन असफल भयो ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति बनाउने अहिलेसम्मको प्रयास ? यसका बाह्य र अन्तर्निहित कारण के थिए ? तीमध्ये कुन पक्ष बढी हावी र जिम्मेवार थियो ? प्रवृत्तिगत समस्या के रहे ? त्यस्ता प्रवृत्तिको जन्म हुनुमा के कस्ता वस्तुगत तथा आत्मगत कारण उपस्थित थिए ? यी सबै पाटो र पक्षलाई केलाउन जरूरी हुन्छ ।

नयाँ हुन नयाँ नै, फरक हुन फरक नै हुनुपर्दथ्यो

विश्वविख्यात दार्शनिक फ्रेडरिक बिल्हेम हिगेलले बारम्बार प्रयोग गरेको एक शब्दावली थियो– ‘डिफ्रेन्सिया इस्पेसिफिका’ । यसको अर्थ हुन्छ– फरक हुन विशेष हुनुपर्दछ । अर्थात् कुनै चिज अरू जस्तै छ भने त्यसलाई फरक हो भन्दैमा त्यो फरक हुन सक्दैन । कुनै अस्तित्व यदि फरक हो भने त्यसमा अरूभन्दा फरक केही विशेष गुणहरू हुन्छन् वा हुनुपर्दछ । कसैले कुनै विशेष गुण विकास गर्दछ भने स्वाभाविक रूपमा त्यो फरक मानिन्छ । फरक चाहिं छैन, तर फरक दाबी गरिन्छ भने त्यो फरक हुँदैन र त्यसको फरक अस्तित्व पनि कायम हुन सक्दैन ।

‘नयाँ’ र ‘वैकल्पिक’ भनिएका यी दलहरू यथार्थमै नयाँ र वैकल्पिक थिए कि त्यो एक झूटो दाबी वा आत्मरति मात्रै थियो ? यो प्रश्न निकै अहं हो ।

यो प्रश्नमा विचार गर्दा नेतृत्वपंक्तिको अनुहारका हिसाबले तीन दलको अभ्यास फरक–फरक थियो । नयाँ शक्तिमा पुराना राजनीतिक कार्यकर्ता, विशेषतः माओवादी धारबाट आएका मानिसकै बाहुल्य र हालीमुहाली थियो । मानौं कि यो ‘नयाँ बोतलमा पुरानै रक्सी’ भने जस्तो भयो । तर, यही कारणले असफल भएको चाहिं मान्न सकिन्न ।

किनकि विवेकशीलमा त सबै नयाँ युवायुवती थिए । त्यहाँ कोही पुरानो अनुहार थिएन । यदि नयाँ शक्तिमा भएजस्तो पुराना अनुहार नै ‘नयाँ’ र ‘वैकल्पिक’ शक्ति निर्माणका लागि मुख्य कारकतत्व हुन्थ्यो त विवेकशील दल सफल हुनुपर्दथ्यो । मानौं कि नयाँहरूमा राजनीतिक ज्ञान र अनुभव भएन, तसर्थ विवेकशील असफल भयो, त्यसो भए साझा सफल हुनुपर्दथ्यो । त्यस समूहमा त राजनीतिक अनुभव पनि भएका, केही परिपक्व र चिनिएका, नयाँ शक्तिको झैं कुनै पुरानो विरासतको ब्यागेज नभएका मानिस थिए ।

यथार्थमा नयाँ अनुहार, पुराना अनुहार वा ठिकठिकैका मझौला अनुहार– समस्या तीनैखाले अनुहार थिएनन् । मान्छेको अनुहार कहिल्यै कुनै कामका लागि समस्या बन्दैन । तर, उनीहरूले कुन ‘एप्रोच’ ले काम गर्दछन्, कति परिपक्व र परिणाममुखी तरिका अपनाउँछन् भन्ने कुरा मुख्य हुन्छ । यस दृष्टिकोणले यी तीनवटै समूहले आफ्नो नयाँ र भिन्न चरित्र वा विशेष गुण विकास गर्न सकेनन् । जनता र मतदाताले उनीहरूलाई पुरातन दलहरू जस्तै देखे, भिन्न, नयाँ र वैकल्पिक मानेनन् ।

नायकपूजा र लोकरिझ्याईं

चर्चित हुनु लोकप्रिय हुनु हैन । तर चर्चितहरूमा म लोकप्रिय छु भन्ने भ्रम सृजना हुने गर्दछ । यो विरोधाभास यी दलहरूको दृष्टान्तमा पनि प्रष्टै देखिन्छ । उज्ज्वल थापा खासै चर्चित मानिस थिएनन् । उनी यो संसारबाट बिदा भइसके । उनमा हिरोइज्म र पपुलिज्मको भावना पनि कहिल्यै देखिएन । एक समर्पित अभियन्ता र केही नयाँ काम गरौं भन्ने प्रतिबद्ध भावनाबाहेक उनको व्यक्तित्वको अरू पाटो उजागर भएकै थिएन ।

तर, डा. बाबुराम भट्टराई र रवीन्द्र मिश्र दुवै नेपाली समाजमा खुबै चर्चित पात्र हुन् ।

डा. भट्टराई चर्चित हुनका अनेक कारण थिए । मूलतः एसएलसीको बोर्डफष्ट र सानो उमेरमै पीएचडीदेखि नै भट्टराई चर्चित थिए । माओवादी जनयुद्धमा उनको साहसिक सहभागिता र ‘आइडोलग’ भूमिका चर्चाको अर्को कारण थियो । यी भूमिकामा चर्चा र लोकप्रियता दुवैको अंश थियो । तर, डा. भट्टराईको वास्तविक लोकप्रियता भने सफल अर्थमन्त्री र काठमाडौंका सडक विस्तारका कारणले बनेको थियो ।

तर, प्रधानमन्त्री भएपछि र त्यसपछिका दिनमा त्यो निकै कम भइसकेको थियो । नयाँ शक्ति अभियानको सुरुवातपछि डा. भट्टराईको व्यक्तित्वमा एक नयाँ ऐतिहासिक विरोधाभास प्रकट भएको थियो । त्यो थियो– जीवनभरि कम्युनिस्ट र अझ त्यसको सबै र्‍याडिकल रूप माओवादमा विश्वास गर्ने मानिस जीवनको उत्तराद्र्धमा आएर ‘समावेशी र सहभागितामूलक लोकतन्त्र’ को साँचो अभियन्ता कसरी बन्न सक्दछ ?

कुन बाबुराम ठीक ? ६३ वर्ष उमेरसम्मको बाबुराम ठीक कि त्यसपछिको बाबुराम ?

आज पनि डा. भट्टराईका सबैभन्दा बढी ट्वीटर फलोअर छन्, १४ लाख बढी । दोस्रो स्थानमा कांग्रेसका महामन्त्री गगन थापा छन् भने तेस्रो स्थानमा रवीन्द्र मिश्र । मिश्रका १० लाख ट्वीटर फलोअर छन् ।

डा. भट्टराई र मिश्रका अनुयायीहरूमा परेको सबैभन्दा ठूलो भ्रम के थियो भने आ–आफ्ना नेताको जयजयकार, नायकत्व, चर्चा र व्यक्तित्वपूजा नै पार्टी बन्नका लागि पर्याप्त छ ।

यथार्थमा पार्टी निर्माणको जटिलता भिन्नै हुन्छ । त्यसले वैचारिक, सैद्धान्तिक र सवालगत प्रष्टताको माग गर्दछ । संस्थागत पद्धति र प्रक्रियाको माग गर्दछ । बलियो समूहकार्यको माग गर्दछ । संस्थापनकालीन लक्ष्य र उद्देश्यप्रति दृढ र चट्टानी अडानको माग गर्दछ । संगठनात्मक कौशल र व्यवस्थापन क्षमताको माग गर्दछ । त्यो हुन सकेन ।

स्व–पहिचान र अस्तित्वको प्रश्न

सामान्यतः ‘नयाँ’ र ‘वैकल्पिक’ दल बन्ने आकांक्षा राख्ने राजनीतिक समूहले पुराना दलहरूप्रति लहसिनुहुँदैन । भारतको आम आदमी पार्टीको उदाहरणबाट हेर्ने हो भने त्यसले पनि ठीक एकदशक नै पूरा गर्दैछ । त्यो सन् २०१२ मा गठन भएको थियो । एक दशकमै त्यसले दिल्ली र पञ्जाब दुई प्रदेश सरकार गठन गर्ने अवसर पाएको छ । हरियाणा, गुजरात, गोवा, हिमाञ्चल र मध्यप्रदेशमा आश्चर्यजनक ढंगले विकास हुँदैछ ।

यही अगष्ट ११ मा सार्वजनिक भएको इन्डिया टुडेको ‘मूड अफ नेशन’ सर्वेक्षणको नतिजा अनुसार त्यो दल २०२४ को चुनावसम्म देशको दोस्रो ठूलो दल हुने संभावना छ । तर, त्यो सबलता उसले पुराना दलहरूसँगको १–२ सीट गठबन्धनबाट हासिल गरेको हैन ।

आम आदमी पार्टीले अहिलेसम्म त्यहाँ कांग्रेस, कम्युनिस्ट, भाजपा, सपा, बसपा जस्ता पुरातन दलहरूसँग कुनै चुनावी गठबन्धन गरेको छैन । पाँच वर्ष तिनै दलको विरोध गर्ने र चुनावमा तिनैसँग दुई चार सीटको भिख माग्न जाने प्रवृत्तिले ‘नयाँ’ र ‘वैकल्पिक’ दलको स्वअस्तित्व र भिन्नै पहिचान निर्माण हुने संभावना नै हुँदैन । विशेषतः नयाँ शक्ति धारको यो प्रवृत्ति ‘नयाँ’ र ‘वैकल्पिक’ दल निर्माणका लागि घातकसिद्ध भयो ।

अनावश्यक एकता र विभाजन

उज्ज्वल थापाले विवेकशील दलमार्फत स्थापित गर्न चाहेका विचार,  मूल्य–मान्यता र साझा पार्टीका संस्थापक रवीन्द्र मिश्रका वास्तविक विचार बीच आखिर कुनै संगति र मेल रहेनछ । उज्ज्वल प्रगतिशील–लोकतान्त्रिक मध्यमार्गमा विश्वास गर्थे । मिश्र त पूरै राजावादी, सम्बर्धनवादी रहेछन् । फेरि किन र के कारणले ती दल बारम्बार मिले र फुटे होला ? यो प्रक्रिया विल्कुलै अर्थहीन र कृत्रिम लाग्दछ ।

नयाँ शक्तिले संघीय समाजवादी फोरमसँग एकीकरण गरी सपा–जसपा–नेसपा हुँदै छोटो समयमै जुन यात्रा तय गर्‍यो, त्यसले अपरिपक्वता र अधैर्यबाहेक केही पनि प्रस्तुत गर्दैन । मिल्न सकिंदैनथ्यो भने त्यसको सही विश्लेषण र अनुमान गर्नुपर्दथ्यो । मिलिसकेपछि त्यसको अन्तिम परिणाम के कस्तोसम्म हुन सक्दछ भन्ने प्रष्ट हुन निश्चित कोर्स पूरा हुन दिनुपर्दथ्यो । त्यो भनेको कम्तीमा एक चुनाव र एक महाधिवेशनसम्म सँगै जाने र त्यसको रूपान्तरण संभव छ कि छैन भन्ने व्यवहारबाटै प्रष्ट हुन दिने धैर्य हुनुपर्दथ्यो ।

नयाँ शक्ति धारका मानिसले फोरम वा राजपालाई दोष लगाउनु निरर्थक हो । किनकि ती पार्टीको आफ्नै आन्दोलन, विरासत, संस्कृति र प्रचलन थियो । ती आफैंमा फरक आन्दोलन र स्पेस थिए । नयाँ शक्तिका इच्छा, चाहना, महत्वाकांक्षा पूरा गर्दिन ती चाहेर पनि रातारात बदलिन सक्दैनथे । तसर्थ त्यहाँँ गइसकेपछि केही असंगति, केही समस्या, दुःखसुख सहन सक्ने मानसिकता बनाएर जानुपथ्र्यो । रूपान्तरणको लागि अलिक लामो प्रयास र धैर्य गर्न सक्नुपर्दथ्यो ।

यस बीच ‘नयाँ’ र ‘वैकल्पिक’ भनिएका यी दलहरूले जुन एकता र विभाजन गरे, जसरी गुटतन्त्रको शिकार भए, त्यो बिल्कुलै पुरानो र अवसरवादी राजनीतिको निरन्तरता थियो । अहिले हेर्दा ती दललाई जनताले समर्थन र मतदाताले भोट नदिएर राम्रो गरेका रहेछन् । यदि दिन्थे त त्यस्तो समर्थन र भोटको निहित स्वार्थका लागि दुरुपयोग हुने रहेछ ।

मतदाताले ‘जतिसुकै लामो मेनु पढे पनि चाउमिन र मोमो नै मगाउँछन्’ भन्ने भाष्य सही सावित भएन । यी दल कुनै नयाँ ‘आइटम’ हैन, अझ कमसल प्रकारका चाउमिन र मोमो पसल नै थिए भन्ने पुष्टि भयो । अनावश्यकको एकता र विभाजनले विश्वसनीयता समाप्तप्रायः भयो ।

दक्षिणपन्थी र वामपन्थी अवसरवादको शिकार

बढो दुःखका साथ यो स्वीकार गर्नुपर्ने हुन्छ कि नेपालको ‘वैकल्पिक आन्दोलन’ आफ्नै नेताहरूको दक्षिणपन्थी र बामपन्थी अवसरवादको शिकार भयो । आफ्नै शिशुको हत्या आफ्नै अभिभावकले गरेजस्तो दुर्भाग्यपूर्ण अवस्था सृजना भयो ।

एकातिरबाट ‘विचारभन्दा माथि देश, देशभन्दा माथि नरेश’ आयो । तथाकथित ‘मार्ग परिवर्तन’ का नाममा आएको यो ‘कुमार्ग’ ले विवेकशील साझालाई धुजाधुजा बनाइदियो । यदि यही विचार थियो त त्यो स्थापनाको दस्तावेजमै लेख्नुपथ्र्यो । पार्टी स्थापनाको उद्देश्य नै त्यही बनाउनुपथ्र्यो । अन्यथा पार्टी स्थापनाको उद्देश्य जे थियो, मार्ग परिवर्तन नगरी त्यही मार्गमा हिंड्नुपर्दथ्यो ।

साझा धारको नेतृत्वमा कुनै वैचारिक इमानदारी देखिएन तर उनीहरूले विवेकशील धारलाई समेत आफ्नो नरक यात्राको सहभागी बनाएर त्यसको पवित्रता भंग गरिदिए ।

जसपाबाट विभाजन, नेसपाको गठन र माओवादी केन्द्रको निर्वाचन चिह्नमा चुनाव लड्ने सम्झौतासम्म आइपुग्दा नयाँ शक्ति धारमा पनि त्यही प्रकारको चरम अवसरवाद प्रकट भयो । यहाँ भने तथाकथित समाजवादी केन्द्रको नाममा वामपन्थी अवसरवादको जन्म भयो । वैकल्पिक राजनीतिका लागि भनेर सहभागी भएका, करिब ७ वर्ष कष्टपूर्ण जीवन लगानी गरेका मानिसलाई अल्पसूचना, अस्पष्टता र अन्योलको बीचबाट जबर्जस्त घिसार्दै लगेर कम्युनिस्ट धार र माओवादी पार्टीभित्र हुल्ने काम भयो । आम जनताको आँखामा यसका अभियन्ताहरूलाई जहाँ जतिखेर जता पनि लुरुलुरु कसैको पछि लागेर जान सक्ने, कुनै वैचारिक अडान र विवेक नभएको समूहका रूपमा नैतिक च्यूत गर्ने/गराउने काम भयो ।

यो समूहका अभियन्ता अहिले चरम नैतिक संकटको सामना गरिरहेका छन् । यसले सृजना गरेको निराशा र वितृष्णाको कारण छोटो समयमै सयौंले पार्टी छोडेका छन् । बाँकी बचेकाहरू पनि आगामी चुनावको दिनसम्म पुग्दा कहाँ पुग्ने हुन्, के गर्ने हुन् कुनै ठेगान छैन । अधिकांश के गर्नुपर्ने हो ठोस निर्णय गर्न नसकेर छट्पटाइरहेका छन् । एकप्रकारले नयाँ शक्ति धार र पार्टी नै भताभुङ्ग भएको छ । यो टिक्नै नसक्ने गरी चरम अस्तित्व संकटको अवस्थामा पुगेको छ ।

अब के गर्ने ?

सत्यको मार्ग सधैं सत्यको स्वीकारोक्तिबाट सुरुवात हुन्छ । सत्य स्वीकार गर्नुभन्दा ठूलो क्रान्तिकारिता विवेक र न्यायसंगत कुरा संसारमा अरू केही छैन । सबै धारका वैकल्पिक राजनीतिका अभियन्ताहरूले सबैभन्दा पहिले यो स्वीकार गर्नुपर्दछ कि करिब एक दशकको यो यात्रा एक अचम्मको गतिरोध, निराशा, असफलतामा आइपुगेको छ ।

तर, यो विचार र धार अझै पतन भने भएको छैन । पतन हुनु भनेको फेरि उठ्ने संभावना समाप्त हुनु हो । असफल हुनु भनेको भविष्यमा फेरि सफल हुनसक्ने सम्भावना बाँकी नै रहनु हो । यो विचार र आन्दोलनबाट भागेर अन्य विचार र धारका दलमा प्रवेश गरेर यो समस्याको हल हुँदैन । त्यो झनै ठूलो अवसरवाद र पलायन सावित हुनेछ ।

वैकल्पिक राजनीतिको धारमा किन यस्तो भयो ? यसको कठोर समीक्षा हुनुपर्दछ । कुनै मोलाहिजा विनाको निर्मम समीक्षा । समीक्षाबाट पहिचान गरिएका कमजोरी नदोहोर्‍याउने नयाँ प्रतिबद्धता व्यक्त हुनुपर्दछ । सोही अनुरूपको नयाँ नेतृत्व पंक्ति निर्माण गर्नुपर्दछ । यो काम अब कुनै एउटा समूहले गर्न सक्दैन । यस मिसनमा लागेका सबै धार, शक्ति, समूह, व्यक्ति र व्यक्तित्वको साझा प्रयत्न र बलियो समूहकार्यबाट मात्रै यो काम सम्भव हुन्छ ।

तर, पहलकदमी त कसै न कसैले लिनै पर्दछ । वैकल्पिक राजनीतिको पुनर्गठन वस्तुतः साम्यवादी, पूँजीवादी र राजावादी शक्ति बाहेकका सबै प्रगतिशील शक्तिहरूको लोकतान्त्रिक मञ्च हो । यो एक उत्तरगणतान्त्रिक तथा उत्तरलोकतान्त्रिक विचार र आन्दोलन हो ।

लोकतान्त्रिक आन्दोलन चाहे राजतन्त्र होस् वा सैनिक तानाशाही, चाहे एकदलीयता होस् वा अन्य कुनै प्रकारको निरंकुशता विरुद्ध आधारभूत लोकतन्त्रका लागि लक्षित हुन्छ । वैकल्पिक राजनीति चाहिं लोकतान्त्रिक समाजकै त्यस्तो अभियान हो, जो शास्त्रीय लोकतान्त्रिक शक्तिहरूले सृजना गरेका बेथिति र लुटतन्त्र विरुद्ध लक्षित हुन्छ । तसर्थ वैकल्पिक राजनीति लोकतन्त्रको पनि लोकतन्त्रीकरण गर्ने आन्दोलन हो ।

यो आन्दोलनको सान्दर्भिकता झनै बढेको छ । र यसलाई नयाँ तरिकाले पुनर्गठन गर्नु बाहेक अरू कुनै उपाय देखिन्न ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?