+
+
माओवादी महासचिव :

प्रचण्डलाई राइफल खोजिदिने देव गुरुङ

मनाङमा लाइसेन्स भएका र नभएका राइफलहरू पाइन्छन् भन्ने सूचनाका आधारमा प्रचण्ड, बादल र गुरुङ खोज्न हिँडेका थिए । तर, नभेटाएपछि पार्टीको जिल्लास्तरका नेता गणेश गुरुङलाई हतियार खोज्ने जिम्मा दिए । पछि गणेश गुरुङले एउटा राइफल भेटिएको भन्ने खबर पठाएपछि गुरुङ उक्त राइफल लिएर मनाङबाट गोरखा झरे ।

दिपेश शाही दिपेश शाही
२०७९ भदौ ६ गते १८:०९

विचारमा स्पष्ट, अभिव्यक्तिमा प्रखर, स्वभावमा शालिन । बलिया आकांक्षीहरूका बीच देव गुरुङलाई आफ्नो यही स्वभावले माओवादी केन्द्रको महासचिव बनाइदिएको हुनसक्छ । उनी फ्रन्टलाइनमा आउन उत्रो रुचाउँदैनन् । भित्री संगठनात्मक काममा दिलचस्पी राख्छन् । तोकिएको जिम्मेवारीमा खरो उत्रिन खोज्छन् । कसैले गुरुङलाई कट्टर भनिदिन पनि सक्ला, तर आफ्नो विचार राजनीतिमा दृढतापूर्वक अडान लिने नेताका रूपमा उनी चिनिन्छन् ।

गुरुङ नै महासचिव बन्लान् भन्ने आकलन अधिकांशको थिएन । तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामै समयदेखि जारी पार्टीभित्रको विवाद समाधानमा उनलाई विकल्पका रूपमा देखेका थिए । हुन त यसअघि पनि प्रचण्डलाई पदाधिकारी चयनमा सकस परेपछि गुरुङलाई महासचिव बनाउने चर्चा नचलेको होइन । तैपनि निर्णय नै लेलान् भन्ने पार्टी पंक्तिलाई परेको रहेनछ ।

यसपटक पनि आकांक्षी नेताहरूलाई ‘साइज’ मा राख्न मात्रै प्रचण्डले गुरुङको नाम सार्वजनिक गरेको भन्ने धेरैलाई लागेको थियो । अन्ततः विगत लामो समयदेखि सहकार्य गरेका गुरुङलाई एउटा वरीयताको मापदण्ड बनाएर प्रचण्डले महासचिवको जिम्मेवारी दिएका छन् ।

पार्टीको महासचिव चयन भएपछि गुरुङले अध्यक्षले प्राप्त गरेको टिम बनाउने अधिकारभित्र रहेर आफूले जिम्मेवारी पाएको स्वीकार गरेका छन् । ‘कम्युनिष्ट पार्टीमा टिम बनाउने अधिकार अध्यक्षको हो । पार्टीमा पद दाबी गर्ने कुरा होइन, मैले मागेको पनि होइन,’ उनले भने, ‘अध्यक्षले विश्वास गरेर मलाई जिम्मेवारी दिनुभएको छ । म त्यो पूरा गर्छु ।’

उनी कम्युनिस्ट पार्टीमा नेतृत्वको केन्द्रीकरण हुनुपर्नेमा विश्वास गर्छन् । पार्टीभित्रको आन्तरिक किचलोमा नयाँ मापदण्डका कारण महासचिव जस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गरे पनि त्यसमा अध्यक्ष प्रचण्डको सदाशय रहेको भाव प्रकट उनले प्रकट गरेका छन् ।

राजनीतिमा जिम्मेवारीसँगै निष्ठा र अडानले पनि ठूलो अर्थ राख्छ । पछिल्लो समय माओवादीका अधिकांश नेताहरूलाई विचारमा सम्झौता गरेको आरोप लागिरहन्छ । गुरुङ कम विवादित हुने नेतामा पर्छन् । ०३८ सालदेखि सक्रिय राजनीतिमा लागेका गुरुङ अडान लिने नेताका रूपमा परिचित भएको उनीसँग निकट रहेर काम गरेका नेताहरू बताउँछन् ।

‘उहाँको सुरूदेखिकै इतिहास हेर्दा आफ्नो विचार राजनीतिमा दृढतापूर्वक अडान लिनुहुन्छ भन्ने देखिन्छ । त्यो उहाँले पछिल्लो समय सदनदेखि सडकसम्म उठाएका एजेन्डा हेर्दा पनि बुझ्न सकिन्छ,’ गुरुङसँग निकट रहेर काम गरेका पार्टीका केन्द्रीय सदस्य सूर्य सुवेदी भन्छन् ।

गुरुङले पछिल्लो समय संसदमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को खुलेर विरोध गरेका थिए । सत्ता गठबन्धनमा रहेको दलकै प्रमुख सचेतक भएर पनि सरकारले एमसीसी सदनमा टेबल भएपछि गुरुङले फरक मत राखेका थिए । त्यसपछि एसपीपीको विषयमा पनि उनले निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

निरन्तर ‘हार्डलाइनर’

चौँथो महाधिवेशनको फुटपश्चात २०४० सालतिर मसालको विद्यार्थी संगठन अखिल छैठौँको केन्द्रीय अध्यक्ष बनेका गुरुङ त्यसअघि ०३८ सालमा नै पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । मसाल विभाजन भएर मोटो मशाल गठन भएपछि गुरुङ उक्त पार्टीको ‘हार्डलाइनर’ नेताहरूमा दरिन्थे । त्यो प्रचण्ड र मोहन वैद्य किरणसहितको उक्त हार्डलाइनर समूहले पार्टीभित्र तत्काल क्रान्ति सुरू गर्नुपर्ने विषय उठाएको थियो ।

सोही धाराले ०४८ सालको एकता महाधिवेशनबाट सशस्त्र युद्धको लाइन लगेको भनिए पनि प्रचण्ड, वैद्य, र गुरुङलगायत नेताहरूले त्यसभन्दा अघिदेखि नै सशस्त्र युद्धको आन्तरिक तयारी थालेको र पार्टीभित्र बहस चलाएको सम्झिन्छन् माओवादी नेता सुवेदी ।

यसको तयारी एकता महाधिवेशनभन्दा अघिको मोटो मशाल हुँदादेखि नै भएको थियो । सुवेदीका अनुसार गुरुङसहितको यो समूहले कार्यविभाजन गरेरै सशस्त्र युद्धको तयारीका लागि अध्ययन गरेको थियो । जसअन्तर्गगत दर्शनको क्षेत्रमा मोहन वैद्य, अन्तर्राष्ट्रिय क्षेत्रमा सीपी गजुरेल, सैन्य क्षेत्रमा रामबहादुर थापा, अर्थशास्त्रमा गुरुङ र समग्र विषयमा प्रचण्डले अध्ययन गर्ने गरी कार्यविभाजन भएको थियो ।

त्यतिबेला पार्टीभित्र मोहनविक्रम सिंहसँग विचारको तहमा यो समूहले कडा संघर्ष सुरू गरेको थियो । पाचौँ महाधिवेशनमा सिंहको ‘चरित्र’ को विषय सार्वजनिक भयो । सिंहले नेतृत्व लिएको लामो समय हुँदा पनि क्रान्तिको प्रक्रिया सुरु नभएको भन्दै गुरुङलगायत नेताहरूले आलोचना गरेर सशस्त्र युद्धको तयारी थालेका थिए ।

चारवटा पार्टी एकीकरण भएपछि चितवनको माडीमा सम्पन्न एकता महाधिवेशनबाट दीर्घकालीन सशस्त्र युद्धको विषयमा मतान्तर सुरु भएको केही समयमा नै नारायणकाजी श्रेष्ठलगायतले पार्टी विभाजन गरे । उनी भने सशस्त्र युद्धको लाइनमा निरन्तर उभिए ।

माओवादी युद्धमा प्रयोग भएको पहिलो हतियार पनि गुरुङले पार्टीलाई उपलब्ध गराएको नेताहरू बताउँछन् । २०४८ सालमा पार्टीले दीर्घकालीन युद्धको लाइन लिएपछि हतियारको खोजी सुरू भयो ।

मनाङमा लाइसेन्स भएका र नभएका राइफलहरू पाइन्छन् भन्ने सूचनाका आधारमा प्रचण्ड, बादल र गुरुङ खोज्न हिँडेका थिए । तर, नभेटाएपछि पार्टीको जिल्लास्तरका नेता गणेश गुरुङलाई जिम्मा दिएर उनीहरू हिँडेका थिए । पछि गणेश गुरुङले एउटा राइफल भेटिएको भन्ने खबर पठाएपछि गुरुङ उक्त राइफल लिएर मनाङबाट गोरखा झरेका थिए ।

नेताहरूका अनुसार माओवादी सशस्त्र युद्धको सुरुवाती कालमा त्यही एउटा राइफलले नै देशैभर सैन्य तालिम चलाएको माओवादी सशस्त्र युद्ध सम्बन्धी विभिन्न दस्तावेजहरूमा उल्लेख छ । गुरुङले पार्टीलाई बुझाएको उक्त राइफललाई माओवादीले ‘होल टाइमर’ नाम दिइएको थियो ।

०५१ सालमा पार्टीको पोलिटब्यूरो सदस्य बनेका गुरुङ सशस्त्र युद्ध सुरू भएको केही समयपछि ०५३ सालमा गोरखाबाट गिरफ्तार भएका थिए । गिरफ्तार भएपछि उनलाई तत्कालीन राज्य पक्षले विरगंज, धनुषा हुँदै पछि सेन्टर जेल काठमाडौंमा ल्याएर राखेको थियो । उलने जेलमा करिब साढे तीन वर्ष बस्नुपर्‍यो ।

माओवादीले ०५६ सालको असोजमा रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा गर्ने क्रममा डीएसपी ठूले राईलाई नियन्त्रणमा लिएपछि गुरुङ रिहाइको बाटो खुलेको थियो ।

राज्यले माओवादी नेता गुरुङलाई र माओवादीले राईलाई छोड्ने सहमति भएपछि उनी रिहाई भएका थिए । रिहाई भएपछि गुरुङलाई पार्टीले कमाण्ड इन्चार्ज भएर सुदूरपश्चिम क्षेत्रमा खटाएको थियो ।

पार्टीका महत्वपूर्ण जिम्मेवारीमा गुरुङ

पार्टीको केन्द्रीय सदस्य पहिले र त्यसको विद्यार्थी संगठनको अध्यक्षको जिम्मेवारी पछि प्राप्त गरेका गुरुङ नेतृत्व केन्द्रीकरणमा जति विश्वास गर्छन् उत्तिकै आलोचनात्मक समेत देखिन्छन् । ०३८ सालमा मसालको केन्द्रीय सदस्य बनिसकेका गुरुङ त्यसको दुई वर्षपछि अखिलको केन्द्रीय अध्यक्ष बनेका थिए ।

गुरुङलाई पार्टीले २०४८ सालमा संयुक्त जनमोर्चाबाट लमजुङ-१ मा चुनावी उम्मेदवार उठाएको थियो । त्यसपछि २०५१ सालमा पार्टीको पोलिटब्यूरो सदस्य बनेका गुरुङ सशस्त्र युद्धको सुरुवात हुने बेलासम्म गण्डक क्षेत्रको इन्चार्ज भएर काम गरे ।

पछि बाबुराम भट्टराईको जनमोर्चासँग पार्टी एकता भएपछि भने उनको जिम्मेवारी फेरिएको थियो । त्यतिबेलासम्म मध्ये कमाण्डमा गुरुङ, पश्चिम कमाण्डमा थापा, पूर्वी कमाण्डमा सीपी र उपत्यकामा वैद्य इन्चार्ज थिए ।

खुला मोर्चाका रूपमा काम गरिरहेको जनमोर्चासँग पार्टी एकता भएपछि भट्टराई मध्य कमाण्डको इन्चार्ज भए भने गुरुङ सेक्रेटरी रहेर काम गरे । यद्यपि, इन्चार्जको भूमिकामा गुरुङले नै काम गरेको नेताहरू बताउँछन् । भट्टराईलगायत शीर्ष नेताहरू देश बाहिर बढी रहन थालेपछि उनले उक्त जिम्मेवारी पूरा गरेका थिए ।

करिब चार वर्ष जेल जीवन बिताएका गुरुङ २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य बनेका थिए । राज्यसँग २०६२ सालमा भएको वार्तामा उनले नेकपा माओवादीको तर्फबाट वार्ताटोली सदस्य बनेर काम गरेका थिए । माओवादी शान्ति–प्रक्रियामा आएपछि २०६४ सालमा अन्तरिम संसदमा सदस्य बनेका गुरुङ संसदीय दलको उपनेता बनेका थिए । सोही समयमा उनलाई पार्टीले स्थानीय विकासमन्त्री समेत बनाएको थियो ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा मनाङ र कास्की–१ बाट निर्वाचित भएका गुरुङ ०६५ देखि ०६६ सम्म करिब नौ महिना कानुन तथा न्यायमन्त्री समेत भए । त्यसपछि एनेकपा माओवादीको संसदीय दलको प्रमुख सचेतक रहेका गुरुङ ०६९ सालमा पार्टी विभाजन भएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेका थिए ।

उक्त पार्टीमा सचिवको जिम्मेवारीमा रहेका गुरुङले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेका थिए । त्यसपछि ०७४ सालको आम निर्वाचन हुनु केही समयअघि मात्रै रामबहादुर थापा ‘बादल’ र पम्फा भुसालसहित नेताहरू वैद्य नेतृत्वको पार्टीबाट पुनः प्रचण्ड नेतृत्वको पार्टीमा फर्किएर माओवादी केन्द्र बनाएका थिए ।

त्यसपछि लमजुङ-१ बाट निर्वाचित गुरुङ पार्टी संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा समेत छन् ।

प्रचण्डले जुराइदिएको विवाह

मनाङको नासोङ गाउँपालिका–४ ओडारमा जन्मिएका गुरुङको बसाइ लमजुङमा पनि छ । तर, युद्धकालमा छापामार राजनीतिमा लागेका उनका लागि बसाइको ठेगान नै नहुने । सोही क्रममा पार्टीमा उनको विवाहको विषय उठ्यो । गुरुङका सहयोद्धाहरूले नै यसको तारतम्य मिलाइदिए ।

दाङकी यशोदा सुवेदी जनता सांस्कृतिक क्याम्सपमा आइ.ए. प्रथम वर्षमा अध्ययनरत थिइन् । एक दिन दाङका परिचित कम्युनिस्ट नेता नारायण शर्माले सुवेदीलाई उनी पढ्ने क्याम्पस नजिकैको बोर्डिङ स्कुलमा भेट्न बोलाए । सुवेदी र शर्मा नाताले मामा-भान्जी भएकाले उनी सहजै गइन् ।

बोलाइएको ठाउँमा शर्मासँगै सोही क्षेत्रका अर्का परिचित नेता विष्णु पोखरेल, प्रचण्ड र गुरुङ पनि थिए । त्यतिबेला विद्यार्थी संगठनको जिल्ला उपाध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीलाई शर्मा र प्रचण्डले नै गुरुङसँग विवाह गर्ने प्रस्ताव राखे । त्यही बसाईमा नै गुरुङ र सुवेदीको विवाह पक्का भयो ।

देव गुरूङ र यशोदा सुवेदी।

त्यसको करिब डेढ महिना जतिमा नै विवाह सम्पन्न भएको सुवेदी सम्झिन्छन् । तर, विवाह त्यति सहजै गर्न भने सम्भव थिएन । २०४४ सालतिर मोहन वैद्य किरणको नेतृत्वमा काठमाडौंमा भएको प्रहरी चौकी हमलामा पार्टीले असफलता पाएको थियो । गुरुङ सोही पार्टीका जिम्मेवार नेता भएकाले उनलाई राज्यले जतिसुकै बेला पक्राउ गर्न सक्थ्यो ।

सार्वजनिक हिसाबले विवाह गर्न सम्भव नहुने भएपछि प्रचण्डलगायत नेताहरूले चितवनमा भूमिगत शैलीमा गर्ने चाँजोपाँजो मिलाए । कम्युनिस्ट आन्दोलनमा ‘काजी बुबा’ भनेर चिनिने खम्बासिंह कुँवरको घरमा गुरुङ र सुवेदीको जनवादी विवाह भयो । गुरुङ र सुवेदीबाट अहिले दुई जना छोरा छन् । जेठो छोरा काठमाडौंको वीर अस्पतालमा अर्थपेडिक चिकित्सक छन् भने कान्छो छोरा चीनमा अध्ययन गरिरहेका छन् ।

माओवादीभित्र वैचारिक नेताका रूपमा परिचित गुरुङले दर्शन शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । माओवादी सशस्त्र युद्धका बेला २०५३ सालमा गिरफ्तारमा परेपछि उनले काठमाडौंको सेन्ट्रल जेलमा लामो समय बिताए । त्यही बेला उनले त्रिभुवन विश्वविद्यालयबाट दर्शन शास्त्रमा स्नातकोत्तर गरेका थिए । उनी माओवादीभित्र अर्थशास्त्र र कानुनका विषयमा पनि जानकार मानिन्छन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?