+
+

अंगीकृत नागरिकताबारे ओलीले भने : बिहे टिक्छ कि टिक्दैन हेर्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते २०:०३

७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली पुरुषसँग विवाह गर्नेवित्तिकै विदेशी महिलालाई नागरिकता दिन नहुने बताएका छन् । मंगलबार नेकपा एमालेको पर्सा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले विवाह गरेको केही अवधि राखेर मात्र नागरिकता दिनु उचित हुने बताएका हुन् ।

‘वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुप¥यो, त्यो विवाह साँच्चै हो कि होइन त्यो टिक्छ कि टिक्दैन ?’ ओलीले भने ।

ओलीले आफू गृहमन्त्री भएका बेला ०५१ सालमै नागरिकताको समस्या समाधान गर्न धनपति उपाध्यायको नेतृत्वमा आयोग गठन गरेको बताए । त्यस्तै पछिल्लो पटक आफू प्रधानमन्त्री भएपछि नागरिकता विधेयक पेश गरेको तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको रोक्यै गरेको ओलीले आरोप लगाए ।

२०७५ सालमा तत्कालीन ओली सरकारले प्रतिनिधिसभामा नागरिकता विधेयक पेश गरेको थियो । उक्त विधेयकमा सुरुमा वैवाहिक अंगीकृत नागरिकता दिन अवधि तोक्ने व्यवस्था थिएन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले २२ महिनासम्म छलफलपछि प्रतिनिधिसभा बैठकमा पेश गरेको प्रतिवेदनमा भने वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधान राखिएको थियो ।

प्रतिनिधिसभा विघटन गरेपछि ओली नेतृत्वको सरकारले नागरिकता अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशमा पनि वैवाहिक अंगीकृत नागरिकतामा अवधि राख्ने विषय उल्लेख थिएन । यद्यपि सो अध्यादेश सर्वोच्च अदालतको आदेशमा खारेज भएको थियो ।

ओलीले नागरिकतबारे के भने पढ्नुहोस् :

मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिएँ । एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिइकन उनीहरुले अगाडि बढाएका छन् । त्यो देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ । नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकताको समस्या त्यही त हो नि ।

वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुपर्‍यो, त्यो विवाह साँच्चै हो कि होइन त्यो टिक्छ कि टिक्दैन । नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरिटोपलेको छ कि ? यस्तो कुराहरु अलिकति हेर्नुपर्छ ।

कहिलेकहिले नागरिकहरुलाई कसैले अलमल्याउन झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहिँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी अलिकति सजग हुनुपर्छ । र, नागरिकताको समस्या सही ढंगले समाधान गर्ने नेकपा एमालेबाहेक अरु कोही छैन । अरुले त राजनीति मात्रै गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?