+
+

राष्ट्रिय शिक्षा दिवस मनाउने मितिमा अझै अन्योल

नुनुता राई नुनुता राई
२०७९ भदौ ८ गते ९:२९

८ भदौ, काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ ।

पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी घोषणा हुन सकेको छैन ।

यो वर्ष पनि अहिलेसम्म शिक्षा दिवस मनाउने मिति तय नभइसकेकाले दिवस मनाउने सम्भावना कम छ । तर दिवस मनाउन भनेर सरकारले चार करोड बजेट भने छुट्याएको छ ।

दिवस मनाउन किन रोकियो ?

राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि *फागुन १२ गतेको दिन मनाउन थालिएको हो । २०६२/०६३ को आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भयो । देशमा लोकतन्त्र आयो । त्यसपछि राजाले शुरुवात गरेका धेरै कार्यक्रमहरु मनाउन छोडियो । त्यही कारण माघ १२ मा मनाउँदै आएको राष्ट्रिय शिक्षा दिवस पनि मनाउन हुँदैन, नयाँ मिति तय गर्नुपर्छ भन्ने आवाज उठ्यो । त्यसैले २०६३ सालमा राष्ट्रिय शिक्षा दिवस मनाइएन ।

२०६४ सालदेखि नयाँ मिति अन्तर्गत अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मा मनाउने निर्णय भयो । २०७६ सालसम्म सेप्टेम्बर ८ मै दिवस मनाइयो ।

गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपाली होइन, हामीले फरक मिति तय गर्नुपर्छ भनेर स्थगित गरे । तर नयाँ मिति तय गरेनन् । त्यसपछि २०७७ र २०७८ सालमा दिवस मनाइएन ।

गिरिराजमणि पोखरेल, पूर्वमन्त्री

मन्त्री पोखरेलकै पालामा शिक्षा मन्त्रालयले साक्षरता दिवस मनाउने नयाँ मिति तोक्नको लागि विभिन्न व्यक्तिहरुबाट सुझाव लियो । त्यसक्रममा शिक्षा सम्बन्धी इस्तियार (कानुन) जारी भएको मितिलाई प्राथमिकता राखेर पहिलो स्कुल (दरबार हाईस्कुल) स्थापना भएको मिति, पहिलो संस्कृत स्कुल स्थापना गएको मिति, दिङ्लाको पाठशाला स्थापना भएको मिति, महोत्तरीको मटिहानी विद्यालय स्थापना मिति र राष्ट्रिय शिक्षा नीति लागू भएको मितिमध्ये कुनै एक उपयुक्त हुने सुझाव आयो ।

विभिन्न विकल्पहरुमध्ये शिक्षा मन्त्रालयले नेपालको शिक्षा सम्बन्धी इस्तियार (कानुन) जारी भएको १९८५ साल माघ ८ गते भएकाले माघ ८ गतेलाई नै साक्षरता दिवस मनाउन उपयुक्त हुने भन्दै मन्त्रिपरिषदमा प्रस्ताव लग्यो । मन्त्रिपरिषदले नेपालको शिक्षा सम्बन्धी इस्तियारको सक्कली कागजपत्र खोजी गर्यो । तर नभेटिएपछि मन्त्रिपरिषदले निर्णय गर्न सकेन ।

यो वर्ष भने शिक्षा मन्त्रालयले प्रमाणसहित विभिन्न विकल्पहरुको प्रस्ताव लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘विगतमा प्राथमिकता सहित विकल्प दिँदा समस्या भयो । त्यसैले यो पटक चाहिँ प्रमाण सहितको विकल्प पठाउने तयारी भइरहेको छ ।’

यो वर्ष जसरी पनि दिवस मनाउने गरी मिति सिफारिस गर्ने तयारीमा मन्त्रालय जुटेको उनले दाबी गरे । विगतमा मन्त्रालयबाट मिति तय नगरी स्थगित गर्ने गल्ति गरेकाले समस्या भएको उनको भनाइ थियो ।

कति छ पुरस्कार राशी ?

दिवसको अवसरमा विश्वविद्यालय स्तरीय सर्वोत्कृष्ट विद्यार्थी र राष्ट्रिय तथा प्रदेश (पहिला क्षेत्रीय स्तर) स्तरका सर्वोत्कृष्ट विद्यालय छनोट गरिन्थ्यो । स्थानीय तहहरुले पनि राष्ट्रिय शिक्षा दिवसको दिन पालिकाभित्रका विद्यालयलाई पुरस्कृत गर्थे । सर्वोत्कृष्ट विद्यार्थी र विद्यालयहरुलाई नेपाल विद्या भूषण पदक तथा नगद राशीले सम्मान गरिन्थ्यो ।

नेपाल विद्या भूषण ‘क’ बाट विद्यावारिधी गर्ने विद्यार्थी (विदेशी शैक्षिक संस्थाबाट गरेर आएकालाई समेत) लाई सम्मान गर्ने, नेपाल विद्या भूषण ‘ख’ स्नातकोत्तर तहका विधागत सर्वोत्कृष्ट विद्यार्थीलाई र नेपाल विद्या भूषण ‘ग’ स्नातक तह तथा कक्षा ११, १२ का सर्वोत्कृष्टलाई सम्मान गर्ने प्रचलन छ ।

विद्यार्थीको हकमा विश्वविद्यालय तथा विद्यालयले उत्कष्ट ठहर गरेको विद्यार्थीलाई सम्मान गर्ने गरेको छ । उनीहरुलाई राजतन्त्र व्यवस्थामा पहिले राजाबाट र पछि रानीबाट सम्मान गरिन्थ्यो । गणतन्त्र घोषणापछि राष्ट्रपतिबाट गर्न थालिएको थियो ।

विद्यालय हकमा राष्ट्रिय पुरस्कार तथा प्रदेश स्तरीय अर्को क्षेत्रीय पुरस्कार दिइन्छ । राष्ट्रिय पुरस्कारमा देशभरबाट छनोट भएको सर्वोत्कृष्ट विद्यालयलाई दुई लाख राशीको पुरस्कार र क्षेत्रीय पुरस्कार अन्तर्गत क्षेत्रीय स्तरका सर्वोत्कृष्ट विद्यालयलाई एक/एक लाख राशीबाट पुरस्कृत गरिन्छ । सर्वोत्कृष्ट विद्यालय छनोट गर्न भर्ना विद्यार्थी संख्या, एसईईको पछिल्लो तीन वर्षको नतिजा लगायतलाई आधार मानिन्थ्यो ।

चार करोड बजेट विनियोजन, खर्च हुनेमा आशंका

यो आर्थिक वर्षमा राष्ट्रिय शिक्षा दिवसका लागि सरकारले चार करोड बजेट विनियोजन गरेको छ । तर अहिलेसम्म मिति तय नहुँदा उक्त रकम फिर्ता हुने जोखिम बढेको शिक्षा पत्रकार प्रकृति अधिकारी बताउँछन् । उनी भन्छन् ‘अहिलेसम्म मिति तयको लागि बनाउने भनिएको समिति नै गठन भएको छैन । यो वर्ष पनि दिवस हुने सम्भावना कम छ ।’

दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरणले विद्यालयको शैक्षिक गुणस्तर, प्रतिस्पर्धाको वातावरण बनाउने भएकोले जतिसक्दो मिति तय गरेर दिवस मनाउनुपर्ने उनको मत छ ।

काठमाडौंको कालिमाटीस्थित ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जन पनि पुरस्कार र सम्मानले प्रतिस्पर्धाको वातावरण बन्ने भन्दै शिक्षा दिवस मनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यसले विद्यार्थी तथा विद्यालयहरुबीचमा मिहिनेत तथा शैक्षिक गुणस्तर उत्कृष्ट बनाउनको लागि हुने प्रतिस्पर्धाको वातावरण बन्छ । त्यसैले हुनुपर्छ ।’

शिक्षा दिवसको अवसर पारेर स्थानीय तहहरुले विद्यालयबीच गराउने प्रतिस्पर्धाले विद्यार्थीहरुमा उत्साह थप्ने उनको जिकिर छ । शिक्षकलाई पनि पुरस्कृत गर्ने भएकोले शिक्षकहरुमा पनि थप मिहिनेती बनाउने उनको भनाइ छ ।

(* यसअघि समाचारमा राष्ट्रिय शिक्षा दिवस २०३१ साल माघ १२ गतेदेखि मनाउन थालिएको लेखिएकाले सच्याइएको छ ।)

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?