
८ भदौ, काठमाडौं । बाबुआमा र सन्तान बीचमा जति गहिरो सम्बन्ध अरुमा हुँदैन । अभिभावकको काखमा सन्तान सुरक्षित मात्र हुँदैन, उसले आफ्नो मर्जीले जिउन सक्छ । तर सबैको हकमा यस्तो नहुने रहेछ ।
बुधबार जिल्ला प्रशासन कार्यालय, ललितपुरमा इमाडोल १ (परिवर्तित नाम) ले आफ्नै अभिभावकबाट ज्यानको खतरा भएको भन्दै सुरक्षाको लागि निवेदन दिइन् ।
आफूलाई बाबुआमाले कोठामा थुनेर राखेको र ज्यानकै खतरा भएको बताएकी उनी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग कुराकानीपछि आश्वस्त देखिइन् ।
इमाडोल १ का अनुसार, उनी २४ वर्षकी भइन् र काठमाडौं मेडिकल कलेजमा दन्त चिकित्साशास्त्र स्नातक चौथो वर्षमा अध्ययनरत छिन् । ३४ वर्षीय दन्त चिकित्सक अविनाशकुमार रायसँगको प्रेमलाई लिएर आमाबाबुले आफूलाई एक महिना कोठामा थुनेर राखेको उनले बताइन् ।
‘प्रेम सम्बन्ध र विवाहको कुरा गर्दा बाबुआमाले मलाई ललितपुरको इमाडोलबाट लगेर सुनसरीको दुहवी नगरपालिका–४ भलुवाको घरमा एक महिना थुन्नुभयो’ उनले भनिन्, ‘अविनाशलाई नबिर्सिए मारिदिन पनि गाह्रो नमान्ने भन्दै धेरै पटक कुटपिट गर्नुभयो । अनेक प्रयासपछि मुस्किलले भागेर फुत्कन पाएँ ।’
उनका अनुसार, महोत्तरीको पिगौना स्थायी घर भएका डा. रायसँगको डेढ वर्षे प्रेमलाई उनीहरु परिवारकै सहमतिमा विवाहमा परिणत गर्न चाहन्थे । त्यसका लागि गत वैशाखमा पहिलो पटक आमाबाबुलाई सम्बन्धबारे बताउँदै विवााह गरिदिन आग्रह गरेकी थिइन् । ‘उहाँहरुले जात मिल्दैन भनेर ठाडै अस्वीकार गर्नुभयो । पटक–पटक भन्दा पनि उहाँहरु मान्ने सम्भावना नदेखिएपछि हामीले असार २६ गते गुह्येश्वरी मन्दिरमा विवाह गर्यौं र आमाबुवाको स्वीकृति लिएर मात्र सँगै बस्ने सल्लाह गरेर आ–आफ्नो घर गयौं’, इमाडोल १ ले भनिन् ।
मन्दिरमा विवाह गरेको कुरा पनि बताएपछि बुबाले अविनाशलाई बोलाएर गुन्डागर्दी गरेको आरोपमा कुटपिट गरेर प्रहरीमा बुझाएको उनले बताइन् । ‘सम्बन्ध नटुटाए अविनाशलाई मारिदिने भनेपछि म ७ साउनमा इमाडोलबाट दुहवी जान बाध्य भएँ’ उनले भनिन्, ‘त्यसपछि मलाई कोठामा थुनेर राख्नुभयो । परिवारको इज्जतमा दाग लगाएको बन्दै कहिले कहिले हातले त कहिले पाइपले बेस्सरी पिट्नुभयो ।’
त्यसैबीच कसैको मोबाइल फोनबाट अविनाशलाई आफ्नो अवस्था बताउन सकेको र उनले राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारीलाई भेटेर उद्धारको आग्रह गरेको उनले बताइन् । ‘पत्रकारसहितको टोली घरमा आउने तयारी हुन लागेको सुइँको पाएपछि परिवारले भदौ ५ गते ललितपुर ल्याएछ’, अन्सारीले अनलाइनखबरसँग भनिन् ।
अन्सारीका अनुसार, त्यसबीचमा छोरी किन क्लासमा नआएको भन्दै कलेजबाट पटक–पटक फोन आएपछि विश्वासले भदौ ७ गते मंगलबार बिहान साढे आठ कलेज जान दिए । ‘कलेज पुगेर साथीको सहयोगमा उनले अविनाश र मसँग फोन सम्पर्क गर्न पाइन्’ अन्सारी भन्छिन्, ‘अहिले हाम्रै संरक्षणमा छिन् । बाँकी मानवअधिकार र अन्य प्रचलित कानुनअनुसार हुन्छ ।’
इमाडोल १ का बुबा मोहनकुमार विश्वास नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार उपप्रधानमन्त्री रहेका बेला स्वकीय सचिव थिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4