+

ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

२०७९ भदौ  ९ गते १६:३३ २०७९ भदौ ९ गते १६:३३
ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

९ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल झण्डै ६ महिनापछि टिममा फर्किएका छन् । नेपालले केन्यासँग खेलेको टी–२० बाट उनी टिममा मात्र फर्किएनन्, नयाँ जर्सीमा देखिए ।

जबकी उनले ११ नम्बर जर्सी लगाउँदै आएका थिए । मेहबुब आलम राष्ट्रिय टिममा हुँदा उनले ११ नम्बर जर्सी लगाउँथे र ज्ञानेन्द्रले २२ नम्बर लगाउँथे ।

आलमले खेल्न छाडेपछि ज्ञानेन्द्रले ११ नम्बर लगाए । पछिल्ला वर्षहरुमा ज्ञानेन्द्र राष्ट्रिय टिमका नियमित सदस्य बने । पारस खड्काले राजीनामा दिएपछि कप्तानको जिम्मेवारी पनि सम्हाले ।

तर खेलाडीहरुको वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै नेपाल क्रिकेट संघले २९ मंसिर २०७८ मा मल्लसहित चार खेलाडीमाथि कारबाही ग¥यो । मल्ल कप्तानबाट हटाइयो भने चार जनालाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गर्‍यो ।

खेलाडीहरुले त्यसको विरोध गरे । कारबाही फिर्ता नभए नखेल्ने चेतावनी दिए । ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय सच्याउन क्यान तयार भएपछि मल्लसहितका खेलाडीहरु क्याम्पमा त फर्किए, तर मल्लको कप्तानी खोसियो ।

त्यसका बाबजुद उनले मार्चमा दुबईमा भएको नेपाल, यूएई र पपुवा न्यूगिनी सम्मिलित क्रिकेट विश्वकप लिग टू श्रृंखला खेले । युएईमै पीएनजीविरुद्ध पहिलो रोजाईँमा नपरेका उनी त्यसपछि भने टिममै पर्न छाडे ।

नेपालले अमेरिकामा ओमान र अमेरिका तथा स्कटल्याण्डमा नामिबिया र स्कटल्याण्डसँग लिग टू श्रृखला खेल्यो ।

पुबुदु दशानायकेको प्रशिक्षणमा अनी सन्दीपको कप्तानीमा नेपालले खेलेको टी-२० विश्वकप छनोट, चारदेशीय टी-२० शृंखला र युएईमा भएको लिग टु मा ज्ञानेन्द्र टिममा थिए । तर युएईमै पीएनजी विरुद्ध पहिलो रोजाईँमा नपरेका उनी त्यसपछि भने टिममै पर्न छाडे ।

तर अहिले उनी टिममा फर्किएका छन् । राष्ट्रिय टिममा अनुभवी खेलाडीका रुपमा उनलाई भित्र्याइएको छ, जसलाई ज्ञानेन्द्रले पनि आफ्नो नयाँ सुरुवात मानेका छन् ।

त्यसकै सन्देश दिन उनले राष्ट्रिय टिमको सुरुवाती दिनमा लगाउने २२ नम्बरको जर्सी रोजेका हुन् । ‘फ्रेस स्टार्ट गरम् भनेर,’ केन्यामा रहेको उनले छोटो प्रतिक्रिया दिए ।

नेपालका प्रमुख छनोटकर्ता दिपेन्द्र चौधरीले पनि खेलाडीको चाहनामा जर्सी नम्बर राखिने बताउँछन् । ‘पारसको ७७ नम्बर जर्सी रिटायर गरेका छौं । अरु खेलाडीले जति नम्बर लगाउन चाहन्छन्, त्यहीं लगाउने हो । ज्ञानेन्द्रले पनि २२ नम्बर रोजे’ उनले अनलाइनखबरसँग भनेका छन्, ‘यसमा अरु खासै केही छैन ।’

ज्ञानेन्द्र मल्ल नेपाल केन्या

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय