+
+

अलविदा उत्सव ! मिस यु  !

इष्टु कार्की इष्टु कार्की
२०७९ भदौ १० गते ८:००

प्रेम सम्बन्ध टुटेको केही महिना मात्र भएको थियो। प्रेममा हुँदा घण्टौं कुरा गरेर बसेका सम्झनाहरू मेरो बेड नजिकैको झ्यालले सम्झाउने गर्थ्यो। त्यसैले मलाई फ्ल्याट सर्नु र याद मेट्नु थियो ।

एकदशक लामो फ्ल्याटको पारिवारिक बसाइपछि मलाई एक्लै बस्न मन लाग्यो। फ्ल्याट सर्न मन लाग्यो। म फ्ल्याटको खोजीमा थिएँ। धेरै खोजें तर आफूले सोचे जस्तो पाइएन। असाध्यै मन परेको फ्ल्याट अफोर्ड गर्न सक्ने अवस्था थिएन। बल्ल बल्ल आफूले खोजे जस्तो एउटा त पाइयो तर एउटा सिंगो फ्ल्याटमा एक्लै बस्ने आँट आएन।

यसो सोचें, राम्रो फ्ल्याटमा बस्नुपर्ला। बरू एकजना फ्ल्याटमेट खोज्छु। बोल्ने साथी पनि हुन्छ, घरभाडा पनि आधा लाग्छ। म सिरियस भएरै फ्ल्याटमेट खोज्नतिर लागें।

हाम्रो बजार भन्ने एपबाट सात जना फ्ल्याटमेट खोजिरहेका साथीहरूको फोन नम्बर फ्ल्याटमेट १, फ्ल्याटमेट २ गरेर आठौं नम्बरसम्म सेभ गरें। फुर्सदको बेला आरामले कल गर्छु भन्ने लाग्यो ।

केही दिनपछि आफ्नो कामहरूबाट फुर्सद मिल्यो र पालैपालो सबै नम्बरहरूमा कल गरें। दुईवटा नम्बर उपलब्ध हुन सकेन। तेस्रो नम्बरमा कल गरें। एक जना दिदीले फोन उठाउनुभयो। शान्तिनगरमा उहाँको फ्ल्याट रहेछ। मैले हेरेको फ्ल्याटमा बस्न उहाँलाई अनुरोध गरें। तर उहाँले भन्नुभयो, ‘एक पटक म बसेको फ्ल्याट हेर्नुस्, मन परेन भने अरू खोजौंला।’

म फ्ल्याट हेर्न गएँ। त्यतिबेला बिहानको आठ बजेको थियो। गुगल लोकेसनबाट म त्यहाँ पुगें। दिदी पूजा गर्दै हुनुहुन्थ्यो। करिब आधा घण्टाको पूजा सकिएपछि उहाँले मलाई चिया बनाएर दिनुभयो। मैले दिदीलाई सोधें, ‘दिदी कतिबेरसम्म पूजा गर्नुहुन्छ तपाईं ?’

उहाँले भन्नुभयो, ‘आज अलिकति ढिलो भयो। त्यही भएर एक घण्टा मात्र गरें। नत्र हरेक दिन डेढ, दुई घण्टासम्म गर्छु। मलाई बिहानै घण्टी बजाएको आवाजले मेडिटेसन हुन्छ। पूजा नगरी त बस्नै सक्दिनँ।’

मलाई यति भन्ने बित्तिकै उहाँ मसँग बस्न सक्नुहुन्छ जस्तो लागेन। उहाँमा धार्मिक आस्था पनि बढी नै थियो। उहाँको कुराहरू सुन्दा उहाँ धेरै कुरामा मसँग कम्फर्ट हुनुहुन्नथ्यो। सँगै बस्यो भने बेकार पछि सम्बन्ध बिग्रिन्छ भनेर म त्यहाँबाट निस्किएँ।

चौथो नम्बरमा कल गर्दा एक जना पुरूष साथीले फोन उठाउनुभयो। ‘सरी ल। मैले त महिला सोचेकी पुरूष पो हुनुहुँदोरहेछ।’ यति भनेर फोन राखें। पाँचौं र छैटौंले फ्ल्याटमेट भेटिसक्नुभएको रहेछ ।

सातौं नम्बरमा कल गरें। सम्पर्क हुन सकेन। आठौं नम्बरवालाको कोठा अँध्यारो लाग्यो। मैले खोजेको फ्ल्याटबाट उहाँको अफिसलाई टाढा पर्ने रहेछ ।

एपबाट अरू नयाँ फ्ल्याटमेटको नम्बर खोज्दै कल गरें। कतिको फ्ल्याटमा गएर चिया खाइयो। कतिले कर गरेर खाना पनि खुवाउनुभयो। अझै पनि एकजना दिदीले सञ्चो–विसञ्चो सोध्न कल गरिरहनुहुन्छ। तर मेरो कम्फर्ट जोनभित्र बसिदिने फ्ल्याटमेट भेट्नै सकिनँ ।

मेरा नजिकै भएका साथीहरूलाई मसँग बस्न अनुरोध गरें तर केटीकेटी बस्दा झगडा हुन्छ भन्ने कुरा आयो। केटासँग बस्नु हुन्छ भन्ने मेन्टालिटीमा पुग्न सकेकी थिइनँ। त्यसपछि म थाकें। अनि यही पुरानै फ्ल्याटमा परिवारसँगै बस्छु भन्ने स्टेट अफ माइन्डमा पुगें। सबै नम्बरहरू डिलिट हानें।

करिब एक हप्तापछि एउटा नयाँ नम्बरबाट फोन आयो। हेलो भन्न नपाई कट्यो। सायद पैसा सकिएको हुँदो हो। केही क्षणपछि अर्को नम्बरबाट कल आयो। जुन फ्ल्याटमेट ७ थियो। फोन नलागेकोले फ्ल्याटमेट ७ मैले डिलिट नगरी राखेकी रहेछु।

‘तपाईंले कल गर्नुभएको थियो ? मेरोमा मिस्डकल मेसेज आएको रहेछ’, उसले सोध्यो।

‘हजुर, म फ्ल्याटमेटको खोजीमा थिएँ त्यहीबेला गरें होला। म अब बसिरहेको फ्ल्याटमा बस्ने मेन्टालिटीमा पुगिसकें। अरू कोही खोज्नुस् है ?’ यति भनेर फोन राखें।

म पुरूषसँग फ्ल्याट सेयर गरेर बस्ने कुरामा कन्भिन्स थिइनँ। तर केही समयपछि लाग्यो- आफू स्वतन्त्र भएर बाँच्न पाइन्छ।

मलाई लाग्यो- सामाजिक दृष्टिकोण पनि परिवर्तन गर्नु जरूरी छ। केटासँग फ्ल्याट शेयर गरेर बस्दैमा गलत नै हुन्छ भन्ने पनि त छैन भन्ने लाग्यो। बस्ने नै भइसकेपछि आफूले नजिकबाट चिनेको केही पुरूष साथीहरूलाई रिक्वेष्ट गर्नुपर्‍यो भन्दै मैले नजिकैको एक जना मिल्ने साथीलाई अनुरोध गरें। उसले नजिकै बस्दा सम्बन्ध बिग्रिन सक्छ भन्ने डरले बस्न मानेन।

एकपटक नचिनेको मान्छेसँग पनि कुरा गरौं न त। नचिनेको मान्छे चैं खराब हुन्छ भनेर सोच्नु पनि भएन। मैले फ्ल्याटमेट नम्बर ७ मा फोन लगाएँ।

फेरि उसको फोन सम्पर्क हुन सकेन। मनमा लाग्यो- यो मान्छे त शंकास्पद रहेछ। छिनको छिनमै फोन सम्पर्क हुन सकेन भन्छ।

फेरि एक घण्टा पछि फोन आयो। फ्ल्याटमेट नं. ७ बाट।

मैले फोन उठाउने बित्तिकै जिस्किंदै भने, ‘दाइ तपाईं मानव तस्कर त हैन नि? यताबाट फोन नलाग्ने। एकछिन पछि उताबाट चैं आउने। यस्तो नं. बोक्ने मान्छे शंकास्पद हुन्छन् भन्छन् नि !’
उताबाट जिस्किंदै अर्को जवाफ आयो, ‘मानव तस्करी हैन म्याम, मानव उद्धारकर्ता चैं हो, उद्धार गरिरहनुपर्ने भएर फोन धेरै आउँछ। त्यसैले ब्याट्री तातेर फोन अफ भएको हुन सक्छ।’

‘तपाईं त गफाडी हुनुहुँदोरहेछ दाइ। धेरै कुरा के गर्नु, तपाईंले फ्ल्याटमेट खोज्नु भा’को हो ?’
‘मैले खोजेको त हो तर तपाईं मसँग बस्नुहुन्छ र?’

‘कस्तो कुरा गर्नु भा’को दाइ, महिला पुरूष उस्तै हो के, जेण्डर मात्र फरक हो।’

एकदिन बिहानको ११ बजेतिर अर्सद भन्ने साथीको मेसेज आयो। ‘इष्टु अस्ति तिम्रो साथी उत्सव पोखरेल र म एउटै ट्रेनिङमा थियौं। आज ऊ चढेको जहाज हराएको छ। होप एभ्रिथिङ इज फाइन।’ उत्सव र मेरो कुरा नभएको करिब एक महिना जति भएको थियो। मैले उसको फोन ट्राइ गरें। घण्टी गयो तर उठेन। इन्टाग्राम खोलें। अघिल्लो दिनको स्टोरी पनि एक्स्पाएर भएको रहेनछ।

‘म पनि ठ्याक्कै त्यही सोच्छु तर हाम्रो सोसाइटीले स्वीकार्ला त?’ उसले मलाई घुमाउरो पाराले अस्वीकारको वाक्य बोले जस्तो लाग्यो। मनमा कताकता हो जस्तो पनि लाग्यो। तर हामीले सामाजिक दायरा अलि फराकिलो बनाउनुपर्छ भनेर सेल्फ मोटिभेट हुँदै मैले आत्मविश्वास प्रदर्शन गर्दै भनें, ‘ह्या दाइ, सोसाइटी भनेकै तपाईं र म हो बुझ्नुभयो। बरू भन्नु तपाईं के गर्नुहुन्छ ?’

‘म त आकाशको गाडी कुदाउँछु नानी।’

‘ए पाइलट साब, तपाईंको उमेर कति भयो ? खूब मलाई नानी भन्नुहुन्छ त ?’

‘कति बाठी रहिछौ तिमी, यही उमेर सोध्न पो फोन गरेकी हौ ?’

मैले ठट्टा गर्दै भनें, ‘पश्चिमको मान्छे भएर पूर्वको मान्छेसँग यसरी बोल्ने हैन है। पूर्वेलीलाई चिनेको छ?’

‘किन नचिन्नु। पूर्वेलीहरू एउटा शब्द सुन्ने बित्तिकै कुन दिशामा जन्मिएको मान्छे हो भनेर छुट्याउन सक्छन् रे’, उसले भन्यो।

‘सर अब धेरै लामो कुरा नगरौं। विषयवस्तुमा प्रवेश गरौं त। तपाईंलाई फ्ल्याटमेट चाहिएको हो कि हैन ?’

‘चाहिएको छ, पर्खेउ न त, म अहिले डोल्पामा छु। मौसमको कारणले फ्लाइट नउडेको तीन दिन भयो। आजै खुल्यो भने त एकछिनमै आइपुग्छु। तर मौसमको केही भर हुँदैन रै’छ। एक हप्ता यतै बस्न पनि सकिन्छ। म त महिनाको २,३ दिन मात्र हो कोठामा आउने।’

मलाई फ्ल्याटमेट पनि त्यस्तै भइदिए हुन्थ्यो जस्तो लागेको थियो। म धेरै कोलाहल नहुने, शान्त वातावरणमा बस्न रूचाउने खालको मान्छे।

केही दिनपछि उसले एउटा मेसेज गर्‍यो।

‘म अहिले लुक्लामा छु, मौसम राम्रो छैन। मौसम नखुलेसम्म कहिले आउने ठेगान हुँदैन। तिमीलाई फ्ल्याटमेट एकदमै जरूरी हो भने अरू खोज्दै गर्नु है।’

मैले ‘ओके’ भनेर मेसेज गरें। म फ्ल्याटमेट खोजेर थाकिसकेकी थिएँ। त्यसैले यो चिज छोडेर म आफ्नो कामतिर फोकस हुन थालें।

करिब एक महिनापछि फेरि एउटा नम्बरबाट फोन आयो।

‘हेलो को बोल्नुभएको ?’

‘पश्चिमको केटा क्या, म आज नेपालगञ्जबाट आएको। भोलि फर्किनुछ। तिम्रो समय के छ ?’

‘ए तपाईं पो हो।’

‘आज त म भेट्नै भ्याउँदिन। अति बिजी छु।’

म फ्ल्याट नसर्ने मेन्टालिटीमा पुगिसकेकी थिएँ। त्यसैले फ्रि हुँदाहुँदै पनि आज बिजी छु भनेर झुट बोलें।

‘तपाईं अरू कुन दिन फ्रि हुनुहुन्छ ?’ मैले सोधें।

‘खै यार, मेरो त भरै हुँदैन। आज यहाँ छु, भोलि कहाँ हुन्छु आफैंलाई थाहा हुँदैन।’

उसले ‘यार’ भनेर सम्बोधन गरेको मलाई खूब मन परेको थियो। वर्षौंदेखि चिने जस्तो। बच्चा बेलाको साथी जस्तो।

तर मैले मन नपरे जसरी गाली गरें, ‘नचिनेको मान्छेलाई यार भन्न अनुमति माग्नुपर्दैन ? ल ल भोलि के हुन्छ कल गर्नु।’ मैले फोन राखें।

भोलिपल्ट फेरि उही नम्बरबाट कल आयो।

‘तिम्रो नाम चैं के रे ? मैले सोध्नै बिर्सेछु।’

‘तपाईंलाई बिहानै मेरो नाम चैं किन चाहिएको ?’

‘सँगै बस्ने मान्छेको नाम पनि थाहा पाउन नहुने ?’

‘नाम मात्रै कि थर पनि ?’ मैले जिस्किंदै प्रतिप्रश्न गरें।

‘नाम मात्र भने हुन्छ। आजकल थरको कामै छैन।’

‘मलाई इष्टु भनेर चिन्छन्।’

‘थर पनि भन्दा भइहाल्यो नि!’ उसले जान्न नचाहेको जसरी जान्न खोज्यो।

‘अघिसम्म त थर जान्नु जरूरी छैन भन्दै हुनुहुन्थ्यो त’, मैले भनें।

‘मैले थर थाहा पाउँदा तिमीलाई गाह्रो हुन्छ हो ? त्यस्तो हो भने नभन’, उसले भन्यो।

मैले ‘कार्की’ भनें।

उसले केही सम्झिए जस्तो गरेर जिस्किंदै सिरियस प्रश्न गर्‍यो। ‘ला मैले त बिर्सेर तिमीलाई तिमी भनिहालें। यार भन्दा प्रब्लम हुने मान्छेलाई तिमी भन्न मिल्ला त ?’

मैले जवाफ दिन नपाउँदै आफू उड्ने बेला भएको जानकारी दिंदै फोन काट्यो।

केही दिनपछि उसको फेरि फोन आयो।

‘कार्की लुक्लाबाट म काठमाडौं फर्किन लागेको। आज हामी भेट्नुपर्छ है। तिम्रो समय के छ ?’

नौ बजे लोकन्थलीमा भेट्ने सहमतिसहित फोन राखियो।

कोटेश्वरबाट जाँदा लोकन्थली चोकको देब्रे साइडको एउटा ठूलो बिल्डिङमा उसले बोलायो।

म पुग्दा ऊ कालो चस्मा लगाएर खाना खाइरहेको थियो।

‘ओ कार्की ! वेलकम। म त फोहोरी छु है। नतर्सिउ नि! यो चस्मा देखाउन लगाएको नसोच्नु। घाम आँखामा आयो त्यसैले लगाएको।’

‘चस्माले तिमीलाई सुहाएको छ। तर तिमी फोहोरी छौ भन्ने कुरामा चैं म प्रिपियर नै थिएँ’, मैले भनें।

‘कसरी ?’

‘यस्तो बिजी मान्छे। भेट्नै गाह्रो। नुहाउन पनि भ्याउँदैनौ होला।’

‘मभन्दा बिजी तिमी छौ। तीन पटकसम्म भेट्ने कुरा गर्दा क्यान्सिल तिमीले गर्‍या हो। तर तिमी त सफा नै देखिएकी छौ। जेहोस् नुहाउने फुर्सद चैं निकाल्ने रहेछौ।’

ऊ जोडले हाँस्न थाल्यो।

उसको पञ्च दामी दियो। हामी पहिलो पटक भेटेका थियौं तर वर्षौं पहिले चिनेको जस्तो लागिरहेको थियो। मैले हाँसेर कुरा डाइभर्ट गर्दै भनें, ‘तिमीले खाना खाएको हेर्न बोलाएको कि ? फ्ल्याट हेर्न ?’

‘सँगै फ्ल्याटमा बस्ने साथीले कति खाँदो रहेछ भनेर जान्नु पनि जरूरी छ के। चामल किन्ने बेला कसले कति खान्छ भन्दै किन्नु पर्‍यो नि त’, उसले भन्यो।

यति सुनेपछि यो केटासँग मेरो दोस्ती खत्रा जम्छ जस्तो लागिसकेको थियो। उसले मलाई बेलाबेला ‘ब्रो’ भन्ने गर्थ्यो।

उसको केटा साथी जसरी ट्रिटमेन्ट गरेको मलाई खूब मन पर्थ्यो। मेरा केटा साथीहरू थुप्रै थिए तर यसरी ब्रो भन्ने ऊ पहिलो साथी थियो। फ्ल्याटमा पुग्ने बित्तिकै उसको दराजबाट युनिफर्म झिकेर देखायो र भन्यो- ‘मलाई यसको खूब माया लाग्छ।’

उसको फ्ल्याटमा सामान एकदमै कम थिए। सानो दुईवटा बेड। कपडाले बनेको दराज। सानो पढ्ने टेबल र मिलाएर राखेको किताबका थाकहरू। उसको कोठा साधारण, सुन्दर र सफा थियो।

विस्तारै उसका पाइलट पढ्न जाँदाका अनुभवहरू सुनायो। नेपालमा पाइलटहरूका जटिलता सुनायो। अनि एक्सले दिएको गिफ्ट पनि देखायो।

मलाई गिफ्ट मन पर्‍यो तर फ्ल्याट मन परेन भनेर जिस्किंदै मैले उसलाई अर्को फ्ल्याट खोजेर बस्नुपर्छ भनें। तर उसले तीन महिनाको घरभाडा एड्भान्स दिइसकेको रहेछ। तीन महिना पछि अन्तै फ्ल्याट खोजौं भन्दा पनि उसले मानिरहेको थिएन।

तिमीलाई एअरपोर्ट पुग्न पनि सजिलो हुन्छ भन्दै सिनामंगलमा फ्ल्याट खोजौं भनेर आग्रह गरें। उसले सब चिज कम्प्रोमाइज गर्छु तर पानी चैं सक्दिनँ भन्ने कुरा बतायो। बल्लबल्ल पानी भएको फ्ल्याट खोज्ने शर्तमा उसलाई कन्भिन्स गराएँ।

केही क्षणमा उसको साथीको भान्जा त्यहाँ आए। एकछिन उसँग कुरा गरेर हामी कफी खान निस्कियौं।

धेरैपटक समय निकालेर फ्ल्याट खोज्न गयौं पनि। कतै सोचे जस्तो फ्ल्याट पाइएन। एक ठाउँमा उसलाई मन परेको थियो, मलाई मन परेन।

मैले उसलाई आफू अलि चुज्जी भएको कुरा जानकारी दिएँ।

ऊ मसँग एकदमै कम्फर्ट थियो। ऊ केही समय हराउँथ्यो। हाम्रो कुरा कमै हुन्थ्यो। तर समय निस्किने बित्तिकै कल गर्थ्यो। एकले अर्कालाई उडाउँदा उडाउँदै फोन राख्थ्यौं।

एकदिन रातोपुलतिर फ्ल्याट खोज्दै गयौं। त्यहाँ एउटा एसएसपीको घरमा फ्ल्याट खाली छ भन्ने थाहा पायौं। र घर अगाडि पुगेर घण्टी बजायौं। गेट खुलेन।

‘घर हेर्दै राम्रो छ। मैले खोजेको फ्ल्याट यस्तै हो के। घरबेटी नभएको घरमा बस्नु पनि हुँदैन, घरै फोहोर हुन्छ। तिमी बसेको जस्तो।’

‘मेरो कोठा फोहोर थियो?’ उसले सोध्यो।

‘म आउँछु भनेर सफा गर्‍या हो, मलाई थाहा छ’, मैले जवाफ फर्काएँ र त्यो घरको घण्टी बजाइरहें।

उसले अब छोड्देउ भन्दै थियो। तर म नटेरेर ननस्टप घण्टी बजाइरहेकी थिएँ।

एकछिनमा घरबेटी बुढाले माथिबाट हामीलाई ठूलो स्वरले गाली गर्‍यो र भन्यो ‘के चोर जस्तो गेटमा ढुकेको। छैन फ्ल्याटस्ल्याट। यहाँबाट गइहाल्।’

म डराएँ र स्कुटर स्टाट गरें। ऊ स्कुटर पछाडि बसेर जोडले हाँस्न थाल्यो र मलाई जिस्काउँदै भन्यो, ‘तिमी के छौ रे इष्टु ? मैले बिर्से क्या। भन न के रे ? अँ याद आयो ‘चुज्जी’। तिमी चुज्जी छौ होइन ?’

‘अर्काको घरमा बस्नु छ। चुज्जी हुनुपर्‍यो।’

उसले फेरि भन्यो, ‘तर तिमीसँग मेरो ट्युनिङ मिल्ने रहेछ यार। म मेरो साथीहरूसँग तिमीलाई भेटाउँछु। अनि हामी घुम्न जानुपर्छ है। तिमीलाई घुम्न कत्तिको मन पर्छ ?’

मैले केही जवाफ दिइनँ। म नबोली स्कुटर चलाइरहें। उसलाई नराम्रो लागेछ क्या रे !
‘अब म छिट्टै राम्रो घर बनाउँछु। तिमीलाई भाडामा दिन्छु ल ?’

मैले आफ्नो मौनता तोड्दै भनें, ‘त्यो घरबेटीले गाली गर्‍यो भनेर चित्त नदुखाउ के ब्रो। बरू यो ‘लोकलमा जाऊँ। खाजा खाएर छुट्टिउँला।’ मलाई खान मन थिएन र पनि खाजा खायौं।
उसले मलाई नर्मल बनाउन जोकहरू सुनायो र भन्यो, ‘केही महिनापछि ट्रेनिङमा बाहिर जाँदैछु नि !’
‘ट्रेनिङमा जाँदा चैं आफैं प्लेन चलाएर जाने हो कि अरूले चलाको प्लेनमा ?’ मैले सोधें।

‘अरूले नि, इन्टरन्यासनल यत्तिकै चलाउन पाइँदैन’, उसले भन्यो। ‘ठिकै हो ठूलो प्लेन चलाउन त तिम्रो खुट्टा नि पुग्नु पर्‍यो नि! मेरो कम्मर कम्मर आउँछौ’ म जोडले हाँसें।

उसले हाँस्दै भन्यो, ‘ए त्यस्तो मेरो पनि पालो आउँछ पख। तिमीलाई त बडिसेमिङको केस हाल्दिम कि के हो ?’ भन्दै गर्लफ्रेन्डलाई फोन लगायो र सपिङ जाने कुरा जानकारी दियो।
हामी त्यहाँबाट छुट्टियौं।

उसले प्रायः प्लेनबाट आकाशको फोटो खिचेर आफ्नो स्टोरीमा राख्ने गर्थ्यो। हाम्रो एकअर्काको स्टोरीहरूमा रियाक्ट गर्ने बाहेक खासै कुरा हुँदैनथ्यो।

एकदिन बिहानको ११ बजेतिर अर्सद भन्ने साथीको मेसेज आयो।

‘इष्टु अस्ति तिम्रो साथी उत्सव पोखरेल र म एउटै ट्रेनिङमा थियौं। आज ऊ चढेको जहाज हराएको छ। होप एभ्रिथिङ इज फाइन।’

उत्सव र मेरो कुरा नभएको करिब एक महिना जति भएको थियो। मैले उसको फोन ट्राइ गरें। घण्टी गयो तर उठेन। इन्टाग्राम खोलें। अघिल्लो दिनको स्टोरी पनि एक्स्पाएर भएको रहेनछ।

‘उत्सव लुक्लातिरको मौसमको भर हुन्न नि ! अरू ठाउँमा चलाउन मिल्दैन?’ मैले यसो भन्दा ऊ भन्ने गर्थ्यो, ‘केही हुन्न। त्यो एक्सेप्नल केस मात्र हो। प्लेन हामीले चलाउने हैन क्या। आफैं चल्छ। यसो कन्ट्रोल मात्र गर्ने हो।’

ऊ आफ्नो काममा यति कन्फिडेन्ट थियो कि मलाई प्लेन हराए पनि भेटिइहाल्छ नि भन्ने लाग्यो। मैले प्लेन हराएको कुरालाई प्रायोटाइज नै गरिनँ।

म आफ्नो काममा व्यस्त भएँ। काम सकेर केही समयपछि उत्सवको फोन ट्राइ गरें। फोन अफ भएको रहेछ। फेसबुक खोलें। प्लेन हराएदेखि क्र्यास भएसम्मका समाचारहरू मेरो वालमा आइरहेका थिए। मलाई पत्याउन गाह्रो भइरहेको थियो। त्यो रात समाचारहरू पढेर निदाउन सकिनँ। तर पनि फर्किन्छ कि जस्तो लागिरह्यो। तर सपिङमा जानुछ भनेर हिंडेको मेरो साथी आजसम्म पनि फर्केर आएन।

अलविदा उत्सव ! मिस यु  !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?