+
+

प्रतिनिधि सभामा सिटौला पक्षबाटै २० भन्दा धेरै आकांक्षी

मधेश, लुम्बिनी र सुदूरपश्चिममा १–१ जना मात्रै

संस्थापन समूहमै रहे पनि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पक्षले पार्टीमा आफ्नो छुट्टै भागवण्डा खोज्न छाडेको छैन । प्रारम्भिक दाबी अनुसार सिटौला समूहबाट प्रतिनिधि सभामा २३ जना उम्मेदवारका आकांक्षी छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ १२ गते १४:१७

१२ भदौ, काठमाडौं । १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेसँगै नेपाली कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्ष संस्थापन पक्षकै एक हिस्सा बनेको छ ।

तर सिटौला पक्षले पार्टीमा आफ्नो छुट्टै भागवण्डा खोज्न छाडेको छैन । पछिल्लो पटक १० महिला केन्द्रीय सदस्य मनोनित गर्दा सिटौला पक्षबाट धना खतिवडा परेकी छन् ।

सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा पनि आफ्नो पक्षका नेतालाई उम्मेदवार बनाउन देउवामाथि दबाव बढाइरहेका छन् । हाल उनी सभापति देउवाकै अग्रसरतामा तालमेलको मोडालिटी बनाउने सत्तारुढ गठबन्धनको कार्यदलको संयोजकसमेत छन् ।

सत्ता घटकमा तालमेलको मोडालिटी टुंग्याएपछि उनको ध्यान आफ्नै समूहमा आकांक्षीको व्यवस्थापनमा हुनेछ । प्रारम्भिक दाबी अनुसार सिटौला समूहबाट प्रतिनिधि सभामा २३ जना उम्मेदवारका आकांक्षी छन् ।

कहाँ को आकांक्षी ?

गृह जिल्ला झापाबाट प्रतिनिधि सभा सदस्यका लागि सिटौलासँगै उद्धव थापा, सुधीर शिवाकोटी र देउमान थेवे आकांक्षी छन् । गत निर्वाचनमा झापा–३ बाट पराजित सिटौला त्यसै क्षेत्रमा उम्मेदवारी दोहोर्‍याउने पक्षमा छन् ।

कांग्रेसको प्रदेश १ सभापति थापा झापा–२ बाट आकांक्षी छन्, तर उनलाई मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा उठाउने तयारी रहेको कांग्रेस स्रोतको भनाइ छ ।

पूर्व केन्द्रीय सदस्य शिवाकोटी पनि झापा–२ बाट आकांक्षी छन् । झापा जिल्ला सभापति थेवेको इच्छा झापा–४ मा छ । सिटौलाको गृह प्रदेश पनि भएकाले प्रदेश १ मा कांग्रेसका अरु नेताको तुलनामा उनको शक्ति बढी छ ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष उत्तम चापागाईं भोजपुरबाट आकांक्षी देखिएका छन् । सखुंवासभाबाट तारामान गुरुङ इच्छुक छन् । केन्द्रीय सदस्य गुरुङलाई संस्थापन पक्षले आफ्नो समूहमा गणना गर्दै आएको छ । तर सिटौला समूहका नेता तथा नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना गुरुङ आफ्नो समूहका रहेको बताउँछन् ।

प्रदेश १ कै अर्को पहाडी जिल्ला ताप्लेजुङबाट जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याङ प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी छन् । उनी पनि सिटौला समूहको रहेको तिमिल्सिना बताउँछन् ।

विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली मोरङबाट प्रतिनिधि सभाको उम्मेदवारको आकांक्षी छन् । सिटौला समूहका उनी मेयरमा दोहोरिन चाहन्थे, तर टिकट पाएनन् । अहिले उनले महेक आचार्यले प्रतिस्पर्धा गर्दै आएको क्षेत्र मोरङ–४ बाट उम्मेदवार दाबी गरेका छन् ।

‘प्रधानमन्त्रीलाई भेटेर मेरो कुरा भनिसकेको छु । कहिँ न कहिँ व्यवस्थापन गर्छु भन्नुभएको छ,’ पराजुलीले भने, ‘महेशजीले समानुपातिक बसेर त्यो क्षेत्र छोड्नुपर्छ ।’

मधेश प्रदेशमा सिटौला पक्षबाट प्रतिनिधि सभाका लागि दुई जनाको दाबी छ । खानेपानी मन्त्री रहेका उमाकान्त चौधरी बारा–१ बाट र सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंह पनि उम्मेदवारको आकांक्षी छन् । सर्लाहीका सभापति सिंहलाई सिटौला पक्षले आफ्नो समूहको दाबी गरे पनि उनी १४ औं महाधिवेशनमा संस्थापनबाट निर्वाचित भएका थिए ।

उपत्यकाका तीन जिल्लामा सिटौला समूहबाट चार जना आकांक्षी देखिएका छन् । काठमाडौं–६ बाट निर्वाचित हुँदै आएका पूर्वमन्त्री भीमसेनदास प्रधान, ललितपुरमा चन्द्र महर्जन र धना खतिवडा, भक्तपुरमा महेश श्रेष्ठले उम्मेदवार हुने चाहना देखाएका छन् ।

महर्जन ललितपुर–२ र खतिवडाले ललितपुर–३ बाट उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । ‘चन्द्रलाई सिटौला पक्षले आफ्नो समूहको भन्दै आएको छ । उनी संस्थापनतिरको पनि नेता हुँ भन्छन्,’ कांग्रेसका जिल्ला तहका एक नेता भन्छन् ।

काठमाडौं–६ बाट जिल्ला सभापति सबुज बानियाँको पनि दाबी रहेकाले व्यवस्थापनका लागि एक जनालाई काठमाडौं–७ मा उम्मेदवार बनाउने चर्चा पनि कांग्रेसभित्र छ ।

ललितपुरमा दाबी गर्ने महर्जन बागमती प्रदेशका उपसभापति तथा पहिलो संविधान सभा सदस्य पनि हुन् । पछिल्लोपटक केन्द्रीय सदस्यमा मनोनित खतिवडा प्रतिनिधि सभा सदस्य उम्मेदवारको दाबीकर्ता हुन् । भक्तपुरका पूर्व जिल्ला सभापति महेश श्रेष्ठलाई भक्तपुर–२ बाट उम्मेदवार बनाउन सिटौला पक्षको बल छ ।

सिटौला पक्षबाट काभ्रे-१ मा शिव हुमागाईं प्रतिनिधि सभा सदस्य उठ्न चाहेका छन् । यसै क्षेत्रमा तीर्थ लामा पनि आकांक्षी छन् ।

दोलखामा सिटौला पक्षबाट केन्द्रीय सदस्य कुन्दनराज काफ्ले उम्मेदवारको आकांक्षी छन् । उनका लागि चुनौती अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बनेका छन् । ‘दोलखाको टिकट पाए गठबन्धन विना पनि जित निकाल्न सक्छु’ काफ्लेले अनलाइनखबरसँग भने ।

केन्द्रीय सदस्य सुशीला थिङ सिन्धुली–२ बाट उम्मेदवारको आकांक्षी रहेकी छन् । संस्थापन पक्षकी नेता उनलाई सिटौल पक्षले पनि आफ्नो समूहमा रहेको दावी गरेको छ । यसै क्षेत्रबाट महासमिति सदस्यद्वय नरेन्द्रजंग थापा र माणिक ढकाल पनि आकांक्षी छन् । दुबै संस्थापन समूहका हुन् । सिन्धुली–२ मा अघिल्लोपटक माओवादी केन्द्रले जितेको थियो ।

गण्डकी प्रदेशबाट सिटौला पक्षका नेताहरु तनहुँका प्रदीप पौडेल र बागलुङका जित शेरचन प्रतिनिधिसभा सदस्यमा आकांक्षी छन् । पौडेल गृह क्षेत्र तनहुुँ–२ बाट प्रतिस्पर्धा गर्ने गरी चुनाव केन्द्रित गतिविधि गरिरहेका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा कांग्रेसबाट शंकर भण्डारी उम्मेदवार बनेका थिए । २०७४ सालमा प्रदेश सभामा पराजित शेरचन यसपटक बागलुङ–२ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्न चाहेका छन् ।

‘कृष्ण दाइ बिरामी भएर कुरा हुन पाएको छैन । म उठ्ने पक्षमा छु । गठबन्धनले गर्दा के हुने हो ?’ उनले आशंका व्यक्त गरे ।

लुम्बिनी प्रदेशमा सिटौला पक्षबाट बर्दिया–२ बाट मालती सोडारीमात्रै आकांक्षी छिन् । महिला संघको पूर्व नेता उनी विगतमा सिटौला निकट रहे पनि हाल संस्थापन पक्षमा छिन् । सोडारीको निर्वाचन क्षेत्रमा माओवादीले जित्दै आएको छ ।

कर्णालीमा सिटौला पक्षबाट कालीकोटका दुई नेता प्रतिनिधिसभामा आकांक्षी छन् । पूर्व जिल्ला सभापति हर्ष बम र तरुण दलका पूर्व नेता नारायणप्रसाद भट्टराई आफ्नो पक्षमा रहेको उक्त समूहको दाबी छ ।

सुदू्रपश्चिममा सिटौला पक्षबाट दाबी गर्ने एकल व्यक्ति छन् । पूर्व सांसद तथा राज्यमन्त्री जनकराज गिरीले बाजुराबाट उम्मेदवार हुने इच्छा देखाएका छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?