+
+

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण आउँदै, मूल्‍य २५ हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १९:०२

१२ भदौं, काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ को विशेष संस्करण बजारमा आउने भएको छ ।

डा. कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई समेत विश्लेषणात्मक धारणासहितको पुस्तक प्रकाशन हुन लागेको हो ।

उनले सात प्रदेशमा सात स्याटेलाइट सेन्टरसहित काठमाडौंमा बहुविशिष्टिकृत बाल अस्पताल खोल्दैछन् ।

कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले प्रकाशक फाइनप्रिन्टले उनको पुस्तक ‘हृदय’को विशेष संस्करण बजारमा ल्याउने भएको हो ।

२५ भदौंमा ‘हृदय’ विशेष संस्करणको लोकार्पण हुँदै छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण भएको छ, जसको अङ्कित मूल्य २५,००० (पच्चीस हजार) रहेको छ ।

विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्नेछन् । यद्यपि, विशेष संस्करण निस्किएको एक सातापछि अर्थात् असोजको पहिलो सातादेखि पुस्तकको नियमित संस्करण पनि अङ्कित मूल्य ५७५ रुपैयाँमा पाठकका निम्ति उपलब्ध हुनेछ ।

नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व किओचलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।

विशेष संस्करणको बिक्रीबाट प्राप्त हुने रकम प्रकाशकले आफ्नो लागत र लेखकले लेखकस्व केही नकटाई सीधै हस्पिटललाई हस्तान्तरण गर्ने जनाइएको छ ।

‘उपचार गरेका बच्चाहरूको अरू स्वास्थ्य जटिलता र समयमा उपचार नपाएको कारण मृत्यु हुँदा जुन पीडा भोगेँ, त्यसकै कारण अस्पतालको अवधारणा बनाएको हुँ,’ डा. कोइरालाले भने,‘अस्पतालले समतामूलक सेवामा जोड दिएको छ । पैसा तिर्न नसक्नेले निःशुल्क उपचार सेवा पाउँछन् ।’

हाल काठमाडौंमा त्यस्तो विशिष्टीकृत हस्पिटल ‘काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच) का रूपमा निर्माणाधीन छ । त्यसको पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । यस्ता अस्पताल सातै प्रदेशमा विस्तार गर्ने कोइरालाको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?