+
+
ब्लग :

भड्किलो बन्दै तीज

देवीलाल चौलागाईं देवीलाल चौलागाईं
२०७९ भदौ १२ गते १९:३५

हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज। एक किंवदन्ती अनुसार भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिन हो, हरितालिका तीज।

विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने पवित्र पर्व हो, हरितालिका तीज।

तर आजभोलि यतिमै मात्र सीमित रहेन, हरितालिका तीज। हिजोआज तीजको परिभाषा लगभग बदलिएको छ। माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ। व्रत र पूजाआजा गरी भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज आजभोलि दरका नाममा महिनैभरी मनाउन थालिएको छ।

व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ। शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ। त्यसैगरी आजभोलिका कतिपय तीज गीत र नाचगान त घरपरिवारमा बसेर हेर्न र सुन्न सकिने खालका पनि छैनन्।

के हामीले खोजेको संस्कृति यस्तै हो त ? अनि हरितालिका तीजको संस्कृति यही हो त ? अझ अचम्म र दुखद पक्ष त के छ भने कतिपय संघसंस्थाले नै तीज आउनु कहिले हो कहिले हो, पहिल्यै नै तीज कार्यक्रमहरूको आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ। यो झनै विकृतिको रूपमा मौलाएको छ। संस्कृतिको संरक्षण गर्नु हरेक व्यक्ति, समूह, संघ–संगठन, सरकार सबैको दायित्व हो। तर, संस्कृतिको नाममा विकृति भित्र्याउने छुट भने कसैलाई छैन।

महिना दिन पहिल्यैदेखि तीजका नाममा भोजभतेर र नाचगान न त सांस्कृतिक/धार्मिक रूपमा सही देखिन्छ न त साधन, स्रोत, समय र औचित्यका हिसाबमा सही। ‘धेरै खायो भने चिनी पनि तीतो हुन्छ’ भन्ने त आहानै छ नि। पर्वको मर्म बुझेर त्यसको उपभोग र प्रचलन गर्नु राम्रो हो। तर पर्वलाई नै गिज्याउने गरी, त्यसको मर्म विपरित कार्य गर्नु/गराउनुलाई भने शोभनीय मान्न सकिंदैन। तीजमा आएको यस प्रकारको विकृतिले हरितालिका तीज पर्वको मर्म माथि गम्भीर आघात पुर्‍याएको छ भने नयाँ पुस्तामाझ तीज पर्वको गलत सन्देश प्रवाह भइरहेको छ।

माइतीको आँगनमा जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ। व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ। शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ।

केही वर्षदेखि संस्थागत रूपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि बढिरहेको छ। पछिल्लो समयमा त लगभग प्रतिस्पर्धा जसरी कार्यक्रमहरूको आयोजना भैरहेको देखिन्छ। महिलासँग सम्बन्धित संघसंस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारी/गैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरूका संघसंगठन, क्लब, समूह आदि सबैले तीजको कार्यक्रम आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ।

तीज वा कुनै पनि चाडपर्व मनाउने विषयमा कसैको दुईमत हुन सक्दैन। यो सुखद पक्ष हो। चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृति त हाम्रा अमूल्य निधि हुन्। सम्पत्ति हुन्। यसको संरक्षण र संवर्धन गरिनुपर्दछ। तर यिनको मूल्य, मान्यता र पहिचानलाई भने कायम गर्नुपर्ने हुन्छ।

कुनै पनि चाडपर्वको आफ्नै विशेषता, मूल्यमान्यता र पहिचान हुन्छ। चाडपर्वको आफ्नो विशेषता, मूल्य र मान्यता अनुसार त्यसको संरक्षण गर्नु, जगेर्ना गर्नु र त्यसलाई निरन्तरता दिनु संस्कृति हो भने त्यसको मूल्य, मान्यात, आदर्श, पहिचान र विशेषताको प्रतिकूल हुने कार्यहरू गर्नु विकृति हो। अहिले यो पवित्र पर्व हरितालिका तीज विकृतिको शिकार बनेको छ।

यस्ता विकृतिले हाम्रो संस्कार र संस्कृतिका मूल्य एवं मान्यतालाई दिग्भ्रमित गर्ने र समग्र समाजलाई नै दूषित बनाउने हुनाले यस खालका विकृति र विसंगतिलाई हटाई हाम्रो संस्कार, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई मौलिक एवं स्वच्छ र स्वस्थ राख्न जरुरी छ।

हामीले हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो। अरु कुरा त मानिससँगै मेटिएर जाने हो। धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व, अर्थ र विशेषता भएका यस्ता पर्वहरूको मर्म, भावना र उद्देश्य अनुरूप सभ्य तथा सुसंस्कृत ढंगले चाडपर्वहरू मनाउनु र धर्म एवं संस्कृतिको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?