+
+

१०२ रनको लक्ष्य पनि पूरा गर्न सकेन नेपालले, शृंखला २-२ को अवस्थामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १९:०६

१३ भदौ, काठमाडौं । केन्या विरुद्धको चौथो टी-२० आईमा नेपाल ७ रनले पराजित भएको छ ।

लो स्कवरिङ थ्रीलर म्याचमा रोहितकुमार पौडेलले ४७ रन बनाए पनि अन्य ब्याटरले गतिलो साथ नदिँदा नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न सकेन । रोहित बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन समेत बनाउन सकेनन् ।

कप्तान सन्दीपको ५ विकेट पनि काम लागेन । नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो । क्रिजमा रोहित ४५ रन बनाएर खेलिरहेका थिए भने अर्को छेउमा कप्तान सन्दीप लामिछाने । तर रोहित र सन्दीपले पहिलो चार बलमा सिंगल रन मात्र लिए ।

रोहित पाँचौ बलमा आउट भए भने नेपालले अन्तिम ओभरमा जम्मा ४ रन मात्र बनाउन सक्यो ।

चौथो खेलमा केन्याले रोमाञ्चक जित निकालेपछि पाँच खेलको शृंखला २-२ को बराबरी अवसथ्मा पुगेको छ । अब मंगलबार हुने अन्तिम खेल नै निर्णायक हुने भएको छ ।

१०२ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । लगातार चौथो खेलमा ओपनिङ गरेका पवन सर्राफ गोल्डेन डक आउट भए । उनी खाता नखोली पभेलियन फर्के ।

त्यसपछि ज्ञानेन्द्र मल्ल र अर्का ओपनर रअजुन साउद समान ६ रन बनाएर आउट हुँदा नेपाल ३.१ ओभरमा १३-३ को स्थितीमा पुग्‍यो ।

त्यसपछि दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेलले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरे । यी दुईले २६ रनको साझेदारी गरे । तर नेपालले आठौं र नवौँ ओभरमा लगातार विकेट गुमायो ।

आठौं ओभरमा केन्याका कप्तान शेम एनगोचेले दीपेन्द्रको विकेट लिँदै मेडन राखे । दीपेन्द्र पनि ६ रनमै आउट भए । लगत्तै अर्को ओभरमा आरिफ शेख २ रन बनाएर आउट भए ।

सातौं/आठौं ओभरमा लगातार रन बनाउन नसकेपछि नेपाल दबामा परेको थियो । सातौं नम्बरमा ब्याटिङ गरेका सोमापाल कामी ७ बल खेलेर शुन्यमा आउट भए ।

एक छेउबाट रोहित पौडेलले इनिङ्स सम्हालेपनि अर्को छेउबाट साथ दिने कोही भएन । रोहितलाई केही समय साथ दिएका आदिल आलम १५ बल खेल्दै ८ रन बनाएर १६औं ओभरमा आउट हुँदा नेपाल ६६-७ को अवस्थामा पुग्यो ।

त्यसपछि करण केसी ५ रन बनाएर आउट भए । इनिङ् सम्हालेका रोहित इनिङ्सको दोस्रो अन्तिम बलमा आउट भए । अर्धशतकबाट तीन रनले चुकेका उनले ५५ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे ।

केन्याका लागि राकेप पटेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान शेन एनगोचे र भिराज पटेलले उत्कृष्ट बलिङ गरे । दुवैले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर समान २ विकेट लिए । एलिजाह ओटिएनोले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुचले सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र कप्तान शेम एनगोचेले १३ रन जोडे ।

बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । केन्याका लागि पहिलो विकेटका लागि ओपनरद्वय कोलिन्स ओबुया र एलेक्स ओबान्डाले २५ रनको साझेदारी गरेका थिए ।

लगातार विकेट गए पनि सातौं विकेटका लागि नेल्सन ओडिएम्बो र लुकास ओलुचले २६ रनको साझेदारी गरे । तल्लो क्रममा आक्रमक ब्याटिङ गरेका लुकास ओलुचलाई १९औं ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले कट एण्ड बोल्ड गरे ।

लुकासले १८ बल खेल्दै ३३ रन बनाउँदा ३ चौका र ३ छक्का प्रहार गरे । इनिङ्सको अन्तिम बलमा कप्तान शेम एनगोचे १३ रन बनाएर आउट भए । एलेक्स ३, नेहेमिह ओडिएम्बो ५, राकेप पटेल ६, सचिन बुडिअ ८, सुखदिप सिंह ३, नेल्सन ओडिएम्बो ६ र एलिजाह ओटिएनो १ रनमा आउट भए ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ९ रन मात्र खर्चेर सर्वाधिक ५ विकेट लिए । सन्दीपले लिएको तीन विकेटका विकेटकिपर अर्जुन साउदले दुई स्टम्पिङ र एक क्याच गरे ।

आदिल आलमले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । शाहब आलमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । शाहब र सन्दीप मिलेर एक रनआउट गरे । एक ओभर बलिङ गरेका दीपेन्द्र सिंह ऐरीले १० रन खर्चेर १ विकेट लिए । चार ओभर बलिङ गर्दा विकेटविहिन बनेका सोमपाल कामी र करण केसीले २३ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?