+
+

न्युरोडका ठूला कम्प्लेक्समा महानगरको ‘अपरेसन’

अमृत चिमरिया अमृत चिमरिया
२०७९ भदौ १३ गते २१:५७

१३ भदौ, काठमाडौं । लत्ता-कपडा, गरगहना, दैनिक घरायसी प्रयोजनका सामान किनमेलको केन्द्र हो न्युरोड । तर, त्यहाँ जानेहरुका लाटि टाउको दुखाइको विषय हुन्छ, पार्किङ स्थलको अभाव र सवारी जाम ।

अस्तव्यस्त बनेको न्यूरोडका पार्किङ र जामको समस्या सुल्झाउन काठमाडौं महानगरपालिकाको नयाँ नेतृत्वले न्युरोडभित्रबाटै समाधानको उपाय खोजी गर्न थालेको छ । त्यहाँ पनि ठूला व्यापारिक भवनमा रहेका भूमिगत पार्किङमा पनि पसलहरु चलाएपछि यात्रुलाई न्युरोडमा गाडी र मोटरसाइकल पार्क गर्नुपर्ने बाध्यता छ ।

यही जटिलता समाधानका लागि मेयर बालेन साहले भवन निर्माण गर्दाको स्वीकृत इजाजत र नक्साको प्रयोजन विपरीत भूमिगत पार्किङ नगरी पसल चलाउने न्युरोड क्षेत्रका व्यापारिक भवन र त्यहाँका व्यापारीमाथि कारवाही थालेका छन् । न्युरोड क्षेत्रका भूमिगत पार्किङ र गोदाममा हुनुपर्ने स्थानमा चलिरहेका अवैध पसलहरु हटाउन महानगरले सोमबारदेखि अभियान नै सुरु गरेको छ ।

नयाँ बानेश्वरमा स्थानीय व्यवसायीहरुलाई साथ लिएर ६ भदौबाट सुरु भएको अभियानलाई महानगरले न्युरोड क्षेत्रमा प्राथमिकता साथ अघि बढएको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए । ‘जहाँ बढी समस्या छ, त्यो पहिला समाधान गर्ने हो,’ उनले भने,’ न्युरोड काठमाडौंको मुटु हो, व्यापारिक केन्द्र हो, अधिक चहलपहल हुने पर्यटकीय क्षेत्र पनि हो । यो बिजनेस हबको पार्किङ र जामको समस्या घटाउन अभियानले न्युरोडमा प्राथमिकता पाएको हो ।’

उनका अनुसार बानेश्वर, दरबारमार्ग र न्युरोड क्षेत्रमा सवारीको व्यवस्थापन जटिल छ । त्यसमध्ये पनि न्युरोड क्षेत्रको जटिलता ‘अपरेसन’ गरिहाल्नुपर्ने अवस्थामा पुगिसकेको महानगरको निष्कर्ष छ ।

सोही कारण स्थानीय घरधनी र व्यवसायीको सहयोग र उपलब्ध स्रोत साधनको उपयोग गरेरै समस्या घटाउन बेसमेन्टहरुलाई नक्साअनुसारको प्रयोगका लागि बाध्यकारी बनाउन लागिएको शाहले बताए ।

ठूला कम्प्लेक्समा अप्रेसन

यो अभियानअनुसार महानगरको टोलीले आइतबार न्युरोड र वसन्तपुर क्षेत्रको ठूला भवनहरुमा बेसमेन्टहरुमा केमा कसरी प्रयोग भइरहेको छ भनेर स्थलगत अनुगमन गरेको थियो ।

मखनको सुरज अर्केडमा विहान साढे १० बजे नै महानगरको टोली पुगेको थियो । महानगरको टोली त्यहाँ पुग्दा बेसमेन्टमा पसल चलाइरहेका अधिकांश व्यापारी सटर बन्द गरेर भवनको बाहिर जम्मा भइसकेका थिए । सुरज अर्केडको बेसमेन्टमा चस्मा र कपडा पसलहरु थिए ।

महानगरको टोली पुगेर ती पसलहरुबाट सामान हटाउन निर्देशन दियो । तर, कतिपय सटरमा ‘पसल बन्द छ’ लेखेर व्यापारी त्यहाँबाट हिंडिसकेका थिए । महानगर प्रहरीले तुरुन्तै सामन निकाल्न सुरु नगरे आफैंले हटाउने बताएपछि व्यापारीहरु हतार-हतार समान पोको पार्न दौडिए । व्यापारीले भटाभटी सामान बाहिर निकल्न थालेपछि टोलीले २ जना नगर प्रहरी जवानलाई निरीक्षण गर्ने जिम्मा दियो ।

त्यसपछि सुरज अर्केड वरपरको ३ वटा ठूला भवनहरु चन्द्र महल, चन्दा सपिङ कम्प्लेक्स र मखन कम्प्लेक्समा पनि महानगरको टोली पुग्यो । त्यहाँ पनि बेसमेन्टमै कपडा पसल चलाइरहेको भेटिएपछि टोलीले तुरुन्तै हटाउने काम थालि हाल्न निर्देशन दियो । महानगरपालिकाले बल प्रयोग हुने बताएपछि अधिकांश व्यवसायीहरुले सामान हटाउन तयार भएका तिए । केही व्यवसायीहरुले सामान प्याकिङ गर्न नमानेपछि महानगरपालिकाले प्रत्यके भवनमा नगर प्रहरी खटाएको थियो ।

टोलीले हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ‘बसन्तपुर प्लाजा’को बेसमेन्टमा पनि प्रयोजनविपरीत पसल चलाइरहेको भेटायो । नक्सा विपरीत पार्किङको सट्टामा व्यवसाय चलाएको भन्दै हटाउन भनेको थियो । सो पसलले तत्कालै सामान पोको पार्न सुरु गरेपछि टोली अघि बढेको थियो ।

विशाल बजारलाई अल्टिमेटम, वीरामा तनाव

चर्चित विशाल बजार भवनको स्थलगत अनुमगनका क्रममा बेसमेन्टमा पनि पसलहरु चलाएको भेटिएको थियो । काठमाडौं महानगरपालिकाले सो भवनले पनि प्रयोजन विपरीत पसल चलाएको हुनसक्ने आशंका जनाएको छ । अनुगमन टोलीले सो भवनको नक्सा २४ घण्टाभित्रमा महानगरपालिकामा पेश गर्न निर्देशन दिएको छ । विशाल बजार कम्पनीका अधिकारीहरुले भने महानगरको टोलीलाई पसलहरु वैधानिक रहेको भाडामा लगाएको दावी गरेका थिए । तर, नक्साअनुसार विशाल बजारको भुईंतल्लामा पनि पार्किङ हुनसक्ने महानगरको अनुमान छ ।

अन्यत्र कतै अवरोध सामना गर्नु नपरेपनि न्युरोडको वीरा कम्पलेक्सको बेसमेन्टमा रहेको पसलेहरु भने महानगरको टोली माथि खनिए । सटर तानेर केहीबेर महानगरको टोलीलाई भित्र छिर्न समेत दिएनन् ।

व्यवसायीहरुले एकजुट भएर  महानगरको कार्यशैलीको विरोध गरेका थिए । उनीहरुले पसल हटाउन नदिने अडान लिएपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो ।

व्यवसायी सहमत नभएपछि महानगरको टोलीले भवनका घरधनी राजेश श्रेष्ठसहितको टोलीसँग छलफल गरेको थियो । महानगरपालिका र वीरा कम्प्लेक्सबीच नक्सामा उल्लेख भएअनुसार नै बेसमेन्टलाई गोदाम (स्टोर)का रुपमा प्रयोग गर्ने लिखित सहमति भएको छ ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे सहमतिअनुसार बेसमेन्ट प्रयोग भए/नभएको नियमित अनुगमन हुने बताएर वीरा कम्प्लेक्सबाट बाहिरिएका थिए ।

आफैं हटाउने पनि भेटिए

महानगरपालिकाले अनुगमन गरिरहँदा न्युरोडकै केही ठूला व्यापारिक भवनहरुले आफैं बेसमेन्टबाट पसल हटाइरहेको समेत भेटिएको थियो ।

कोजी कम्प्लेक्समा महानगरपालिकाको टोली पुग्दा व्यापारीहरु आफैं सामान पोको गरिरहेका थिए । केशा प्लाजाले पनि बेसमेन्टमा रहेको व्यवसाय हटाएर पार्किङ खुला गर्न तयारी गरिरहेको भेटिएको थियो ।

महानगरपालिकाले १ साउनमा ३५ दिने सूचना जारी गरेर भवनको नक्सा पास गरेअनुसार नै बेसमेन्टको संरचनाहरु प्रयोग गर्न निर्देशन दिएको थियो ।

त्यसअनुसार बानेश्वर क्षेत्रबाट सूरु भएको अभियान अहिले वडा कार्यालयहरुको समन्वयमा हरेक वडामा विस्तार गर्न तयारी हुँदैछ ।

नक्सा विपरीत प्रयोग भएका भूमिगत संरचनाका व्यवसायहरु नगर प्रहरीले तुरन्तै हटाउने प्रहरी प्रमुख पाण्डे बताउँछन् ।

‘हटाउन निर्देशन दिइएका पसलहरुको नियमित निरीक्षण हुन्छ,’ उनले भने । यो सडकमा मोटर पार्किङ गराएर व्यापारिक भवनहरुमा किनमेल गर्न छिर्नुपर्ने अवस्था गर्ने अभियान भएको महानगरका अधिकारीहरू बताउँछन् ।
तस्वीर :चन्द्र आले 

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?