
१५ भदौ, काठमाडौं । नेपाली महिला फुटबल टिमले भदौ २१ देखि घरेलु मैदानमा साफ च्याम्पियनसिप खेल्दैछ । अघिल्लो पाँच संस्करणमा जस्तै यसपल्ट पनि नेपालको लक्ष्य छ- भारतलाई हराएर उपाधि जित्ने ।
प्रशिक्षक कुमार थापाले २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । चार वर्षअघि नेपालमै भएको प्रतियोगितामा उपाधि जित्न असफल नेपाल टिमले यसपल्ट उपाधिलाई नै लक्ष्य बनाएको छ । यसपल्ट दक्षिण एसियाका सात टिमको सहभागिता हुँदैछ ।
सन् २०१० देखि सुरु भएको दक्षिण एसियाली प्रतिस्पर्धामा नेपालको उपाधि यात्रा भरतबाटै रोकिंदै आएको छ । पाँचमध्ये चार संस्करणको फाइनलमा भारतसँगै हारेर उपविजेतामा सीमित भएको नेपाल टिमको स्तर विकासका लागि तुलनात्मक रुपमा नेपालले पूर्वतयारी भने गर्न सकेको छैन ।
हरेक प्रतियोगितामा भारतलाई हराउने लक्ष्य राख्दा नेपाली टिमलाई जित्न योग्य बनाउनेतर्फ भने अखिल नेपाल फुटबल संघ (एन्फा)को लाचारी देखिन्छ ।
साफ महिला च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै नेपालभन्दा भारत बलियो टिमका रुपमा देखिन्छ । फिफाको वरीयता हेर्दा पनि नेपाल टिम भारतको छेउछाउ पुग्न सकेको छैन । सन् २०१० मा नेपाल फिफा वरीयतामा ११६ औं स्थानमा रहँदा भारत ५६ औं स्थानमा थियो । त्यसको १२ वर्षपछि अर्थात सन् २०२२ मा नेपाल १०२ औं स्थानमा छ भने भारत ५८ औं स्थानमा छ । वरीयताको तुलनात्मक प्रगति नेपालको राम्रो भए पनि भारतसँग प्रतिस्पर्धात्मक जितको सम्भावना कमजोर बन्दै गएको छ ।
फिफा वरीयतामा मात्र होइन भारतीय महिला फुटबल संरचना नै नेपालभन्दा बलियो छ । वास्तविकता के हो भने नेपालमा महिला फुटबलका लागि विशेष कार्यक्रम र व्यवस्थित संरचना नै छैन । अहिलेसम्म एन्फाले महिला फुटबलमा परीक्षणमात्र गरिरहेको छ ।
नेपाल र भारतको महिला फुटबल संरचनाको फरक
अल इण्डिया फुटबल फेडेरेसनले आफूमातहत रहने गरी महिला संरचना बनाएर संरचनात्मक विकासको सुरुवात गरेको छ । महिला फुटबल विकासकै लागि भनेर भारतीय महिला फुटबल महासंघ (डब्ल्युएफएफआई) गठन गरिएको छ ।
खेलाडी उत्पादन, संरक्षण, प्रशिक्षण, तयारी र अन्तर्राष्ट्रिय सहभागिता यही संरचनाअन्तर्गत हुने गरेको छ । भारतमा उमेरहसमूको महिला फुटबल प्रतियोगिता पर्याप्त हुने गरेका छन् । केन्द्रीयस्तरमै यू-१७ टोर्नियो महिला फुटबल प्रतियोगिता आयोजना हुन्छ । यो प्रतियोगिताको हालसम्म ६ वटा संस्करण सम्पन्न भएको छ । त्यसबाहेक यू-१७ को हिरो सब जुनियर गल्र्स राष्ट्रिय फुटबल प्रतियोगिता-एनएफसी) आयोजना हुन्छ । जसमा भारतका २९ वटै राज्यका टिमले सहभागीता जनाउँछन् । सन् २००३ यता भारतले राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महिला उमेर समूहको खेललाई विशेष प्राथमिकतामा राखेको छ ।
त्यसपछिको चरणमा यू-१९ प्रतियोगिता हुन्छ । जसमा यू-१७ को भन्दा ५ टिम बढी छन् । ३४ टोलीले यू-१९ हिरो जुनियर गल्र्स एनएफसी खेल्छन् । सिनियर महिला फुटबलमा घरेलु प्रतियोगितामा हिरो इन्डियन महिला लिग खेल्छन् । यसमा १२ क्लब सम्मिलित छन् । अर्को भनेको भारतीय सिनियर महिला लिग प्रतियोगिता हो । यसलाई हिरो सिनियर च्याम्पियनसिप हुन्छ । जसमा ३२ टिम सहभागी हुन्छन् । यी टिमहरुलाई ८ समूहमा बाँडेर प्रतियोगिता सञ्चालन गरिन्छ । यी सबै प्रतियोगिता गरी महिला खेलाडी ५ महिना व्यस्त हुन्छन् ।
भारतले राष्ट्रिय महिला टिममा विदेशी प्रशिक्षक नियुक्त गरेको छ । यो टिमले गत वर्ष विश्व महारथी ब्राजिलसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाएको थियो । एएफसी कप भारत आफैंले आयोजना गगरेको छ । क्लबहरुलाई व्यावसायिक बनाउन ठूलो रकम खर्चेको छ । भारतका क्लब लिगहरुमा नेपाली खेलाडीहरुले पनि अवसर पाएका छन् ।
भारतले दीर्घकालीन विकासको लक्ष्य कार्यान्वयन गरिरहँदा नेपालको महिला टिम भने भगवान भरोसामा चलिरहेको छ । नेपालमा खेलाडी उत्पादन त परै जाओस सिनियर टिमको प्रतियोगिता पनि नियमित हुँदैन । भए पनि मुस्किलले १५ दिनमै सम्पन्न गर्ने गरी आयोजना गरिन्छ ।
गत चैतमा साफ यू-१८ महिला च्याम्पियनसिप आयोजना हुँदा नेपालले चार महिनाअघि उपमेयर कपमा गरेको प्रदर्शनका आधारमा खेलाडीको जोहो गर्नुपरेको थियो । नेपाल टिम जितविहीन हुँदै घर फर्कियो ।
महिला फुटबलमा खेलाडी खोजेर केही हप्ताको प्रशिक्षणले नेपाली टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान्छन् । नतिजा अपेक्षित नै हुन्छ, भारतसँगको हार । अझ अहिलेको अवस्थामा बंगलादेश पनि उत्तिकै सुधारिएर आएको छ ।
यस पटक पनि खेलाडी छनोटको माध्यम उपमेयर कप र महिला लिग हो । सन् २०१६ पछि दोस्रोपल्ट महिला टिमको जिम्मेबारी पाएका प्रशिक्षक कुमार थापाले खेलाडी उत्पादन र संरचना कमजोर हुनु नै नेपालले जहिले भारतसँग पराजित हुनुको कारण भनेर भनेका थिए । ‘अहिले नेपाली महिला फुटबल टिममा अधिकतम् खेलाडी ३ विभागीय टोलीबाट छन्,’ उनले भने, ‘महिला फुटबलको प्रतियोगिता कम हुनु र निश्चित संरचना नहुनु तथा लगानी कम हुनु नेपाली महिला फुटबल विकासको खड्को हो ।’
अन्तर्राष्ट्रिय सहभागितामा मात्र होइन घरेलु फुटबलको संरचनामा पनि महिला फुटबललाई निकै कम प्राथमिकता दिइएको छ । पुरुष टिमको तुलनामा महिलाका प्रतियोगिता नगन्य छन् । एन्फा आफैंले गर्ने प्रतियोगिता पनि सीमित र कम समयमा सम्पन्न गर्ने गरी तयार गरिएका छन् ।
एन्फाले आयोजना गर्ने महिला राष्ट्रिय लिगको दोस्रो चरणका खेल नै आयोजना भएको छैन । गत चैतमा चितवनमा पहिलो चरणको प्रतियोगिता सम्पन्न भएपछि सोही महिनाको अन्तिमदेखि दोस्रो चरणको प्रतियोगिता मोरङमा गर्ने तय भएको थियो । तर, दोस्रो चरणका २८ खेल अहिलेसम्म आयोजना भएको छैन ।
महिला फुटबलमा लगानी र नीति कार्यान्वयन कमजोर
एन्फाको अघिल्लो कार्यसमितिले महिला फुटबललाई प्राथमिकतामा राख्ने भन्दै रौतहटमा एकेडेमी निर्माण प्रक्रिया सुरु गरेको थियो । अदालती झमेलाले अहिलेसम्म एकेडेमी स्थापना गर्न सकिएको छैन । अघिल्लो महिना भएको निर्वाचनमा अध्यक्षमा चुनिएका अध्यक्ष पंकज विक्रम नेम्वाङले एकेडेमी सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।
नेपालको उमेर समूहको प्रतियोगिताका लागि भने महिला विभागले खाका बनाइसकेको, तर नियमनकारी निकायबाट भने यसको मूल्याङ्कन र कार्यन्वयनको पाटोमा चुकिरहेको कुरा एन्फा महिला विभाग प्रमुख हरी खड्काले बताए । ‘हामीले नीति निमार्ण गरेर दिन्छौं तर नियमकारी निकायबाट कार्यन्वयनमा ढिलाइ भएर महिला फुटबलको निश्चित संरचनात्मक ढाँचा बाहिर आउन नसकेको हो,’ नेपाली महिला राष्ट्रिय टिमका पूर्वप्रशिक्षकसमेत रहेका खड्काले भने ।
यसमा एन्फाले मात्रै भन्दा पनि क्लब तथा लगानीको क्षेत्रमा रहेका उद्योग व्यवसायहरुले पनि महिला फुटबलमा चासो देखाउनुपर्ने खड्काले बताए । कार्यक्रम कार्यान्वयन गर्न लगानी र प्राथमिकताको समस्या खड्काले औल्याएका छन् ।
विभागले धानेको महिला फुटबल
नेपाली महिला फुटबल खेलाडी टिक्ने र लामो समय फुटबललाई नै निरन्तरता दिने एकमात्र विकल्प हो विभागीय टिम । अहिले नेपाली महिला टिमका जति पनि खेलाडी छन्, ती मध्ये लगभग ८० प्रतिशतभन्दा बढी खेलाडी विभागका छन् । यो नौलो कुरा होइन । सन् २०१० मा पहिलो पटक साफ खेल्दा पनि नेपालको हालत यस्तै थियो ।
विभागीय टिमका नै धेरै खेलाडी नेपाली राष्ट्रिय टिममा परिरहन्छन् । किनभने उनीहरु वर्षभरि नै प्रशिक्षण गर्न पाउँछन् । बाहिरका खेलाडीका तुलनामा उनीहरु आर्थिक रुपमा सुरक्षित छन् । । सन् २०१० देखि नै नेपाली महिला फुटबलको उद्गम स्थल थियो तीन विभागीय टोली ।
‘जतिसुकै प्रदेशको टिम बनाउँछौं भने पनि ती खेलाडी आउने तीन विभागमा नै हो । अहिले पनि महिला खेलाडी खेलमा टिकी रहेका छन् भने विभागले गर्दा नै टिकेका हुन्,’ नेपाल पुलिस क्लबका पूर्वखेलाडी खड्काले थपे ।
अहिले साफको तयारीमा जुटेका प्रशिक्षक थापा आफैं पनि विभागीय टोलीका प्रशिक्षक हुन् । उनले पनि प्रशिक्षणको पहिलो चरणमा बोलाइएका खेलाडी मध्येमा नै धेरै विभागीय रहेको बताएका थिए । उनले शनिबार २३ सदस्यीय टिम घोषणा गर्दा २२ जना विभागका छन् । तीमध्ये एपीएफ क्लबबाट मात्रै १० जना परेका छन् । त्रिभुवन आर्मी क्लबबाट ९ र नेपाल पुलिसबाट ४ जना खेलाडी राष्ट्रिय टिममा परेका छन् ।
सन् २०१० मा नेपाली कप्तान रहेकी जमुना गुरुङ भन्छिन्, ‘हामी विभागीय खेलाडी नै टोलीमा बढी थियौं । आउन त जिल्लाबाट पनि आउँथे तर उनीहरु मैदानमा खेल्न सक्दैनथे । अनुभव भनौं वा फिटनेस उनीहरुमा कमी देखिन्थ्यो ।’
एन्फाले अहिले विस्तारै महिला फुटबल एकेडेमी निर्माण गरेर जिल्ला, प्रदेशको टोलीको संरचना तयार पार्दै छ । तर खेलाडी प्रदेश र जिल्लाबाट उत्पादन भएर पनि विभागमा नै आबद्ध हुन चाहन्छन् । यसको कारण हो नेपाली महिला फुटबलका लगानी कम हुनु । महिला फुटबल क्लबहरु नहुनु नै मुख्य समस्या हो । ‘यसमा एन्फाले मात्रै गरेर हुँदैन, क्लबले पनि महिला फुटबल टिम नराखेसम्म यो समस्याको समाधान हुन समय लाग्छ,’ पूर्वकप्तान जमुनाले भनिन् ।
महिला फुटबल विकासका लागि र संरचनात्मक हिसाबले अघि बढाउन एन्फाले संरचनात्मक कुरालाई मुख्य प्राथमिकतामा राख्नुपर्छ ।
खेल बढी भए पनि खेलाडीमा समन्वयको कमी
सन् २०१० मा पहिलो पल्ट भएको महिला साफ च्याम्पियनसिपकी कप्तान जमुना गुरुङले खेलाडी जीवनबाट विश्राम लिइसकेकी छन् । उनले आफूले फूटबल खेलेको समयमा भन्दा अहिलेका खेलाडीमा मैदानमा समन्वय कम हुने गरेको बताइन् । सन् २०१० को कुरा हो नेपालमा घरेलु प्रतियोगिता २ वर्षमा एकपटक अथवा कहिले हुने कहिले नहुनुे अवस्था थियो । त्यस बेला पनि एन्फाले साफ च्याम्पियनसिपका लागि ४० खेलाडीलाई बोलाएको थियो ।
‘अहिलेको टिमभन्दा त्यतिबेलाको टिम राम्रो थियो,’ जमुनाले आफ्नो अनुभव सुनाइन्, ‘हाम्रो पालामा गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फर्वाडबीच राम्रो तालमेल हुन्थ्यो । अहिलेका खेलाडीमा क्षमता छ । तर, तालमेलको कमी छ ।’
पहिलो पटक साफको कप्तानी गरेकी जमुनासँग भारतसँगको त्यो फाइनलको अनुभव अझै ताजै छ । ‘पहिलो हाफमा हामीले नै गोल गरेका थियौं तर, ९० मिनेट हामी उत्तिकै डटेर खेलन सकेनौं,’ जमुनाले भारतीय खेलाडीको शारीरिक क्षमताबारे पत्तो पाएको त्यतिबेलै हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4