+
+

केकीलाई प्रश्न : कृतिमा आधारित फिल्म ‘झिंगेदाउ’ किन हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:०९

काठमाडौं । केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘झिंगेदाउ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । भीमनिधि तिवारीको कथामा आधारित यो फिल्मले परिवारमा आउने विग्रह र अन्यले उठाउने लाभको कथा पेश गर्छ ।

केकीले यसअघि नीर शाह निर्देशित कृतिमा आधारित फिल्म ‘मसान’मा अभिनय गरिन् । ‘झिंगेदाउ’ उनको दोस्रो एडप्टेसन फिल्म हो । अनलाइनखबरसँग कुरा गर्दै केकीले कृतिमा आधारित फिल्म गर्न पाउनु कलाकारको लागि भाग्यको कुरा हुने बताइन् ।

उनी भन्छिन्, ‘कृतिमा फिल्म कम बन्छन् । एउटा एक्टरले एउटा कृतिमा एउटा फिल्म गर्न पाउँछन्, तर मैले भाग्यवश यसअघि मसान भन्ने फिल्ममा काम गर्न पाएकी थिएँ । फेरि पनि कृतिमा आधारित अर्को फिल्म आउँदा म त भाग्यमानी रहेछु भन्ने लाग्छ ।’

कलाकारले फिल्मलाई मनदेखि र कहिलेकाहीं परिस्थितिजन्य रुपमा आर्थिक लाभ हेरेर गर्नुपर्ने अनुभव उनले सुनाइन् । ‘झिंगेदाउ’मा आफूले मनदेखि काम गरेको उनले बताइन् ।

‘कतिपय फिल्मलाई हामीले मनदेखि गर्छौं । यसले आफ्नो करिअरमा फाइदा पुग्छ भनेर गर्छौं । कतिपय परिस्थितिजन्य फिल्म पनि बन्न जान्छन् । यो गरेन भने आर्थिक क्षतिमा हामी जानुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘कहिलेकाहीं कोभिडको कारण यस्ता खालका फिल्म बन्दैनन् कि भन्ने कुराले मान्छेलाई गाँज्छ । यस्तो फिल्मको सूचीमा झिंगेदाउ यस्तो फिल्म हो जसलाई मनदेखि गरेकी छु ।’

निर्देशक ज्ञानेन्द्र देउजाले कथा सुनाएपछि आफू यो फिल्म गर्न प्रेरित भएको केकीले सुनाइन् । ‘उहाँले मलाई कथा सुनाउनुभयो, मलाई लाग्यो यो सबै खालको मानवीय संवेदना भरिएको पात्र हो । इष्र्या, रिस पनि देखाउन सक्ने पात्र,’ फिल्ममा संलग्नताबारे केकी भन्छिन्, ‘अन्त्यमा त दर्शक निस्कँदा के यो फिल्ममा हिरोइन पनि थिइन् त भन्ने कुरा मिस हुनु भएन ।’

झिंगेदाउ किन हेर्ने ? केकीलाई लाग्छ मौलिकता नै यो फिल्मको सशक्तता हो । ‘हामी मौलिक त भन्छौं, तर त्यो कथा कतै न कतैबाट आयातीत जस्तो लाग्छ । २०२५ सालतिरको सेटिङले नै दर्शकलाई आकर्षणयोग्य हुन्छ । त्यतिबेलाको बोलीचोली, रहनसहन र मानवीय संवेदना कस्तो थियो भन्ने कुरा । त्यतिबेलाको नेपाल हेर्न पाउनु नै नयाँ कुरा हुनेछ,’ उनी भन्छिन् ।

केकीलाई सुरुवातमा यो फिल्म औसत नै बन्छ भन्ने लागेको थियो । पोस्ट प्रोडक्सनका क्रममा हेरेपछि भने सोचअनुसारको फिल्म बनेको आफूलाई लागेको उनले बताइन् ।

केकी फिल्मबाहेक टेलिभिजन कार्यक्रम उत्पादनतिर पनि सक्रिय छिन् । उनको निर्माणमा कमेडी च्याम्पियनको चौथो सिजन सुरु हुने तयारीमा छ । साथै, केकीकै निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ अहिले पोस्ट प्रोडक्सनमा छ । दशैंतिहारपछि फिल्मलाई हलमा रिलिज गर्ने उनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?