+
+

अतिक्रमित संरचना हटाउन हेटौंडामा कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १३:१९
फाइल तस्वीर

१५ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिले अतिक्रमण र मापदण्ड विपरीत रहेका संरचना हटाउन कार्यदल गठन गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्मूर्ण वडामा नियम विपरीत निर्माण भएका संरचनाको मुल्यांकन र अनुगमनका लागि हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो । बैठकले संरचना हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ ।

कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेको अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरपालिकाको मापदण्ड बिपरीत निर्माण भएका संरचनाको मुल्याङकन गर्ने र हटाउने बताइएको छ ।

नगरक्षेत्रमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु स्वस्फुर्त हटाउन ३५ दिने सुचना प्रकाशन गरेसँगै कार्यदलले काम सुरु गर्ने छ । नगर प्रमुख लामाका अनुसार सुचना प्रकाशन पछि नहटाएमा उपमहानगरले उपकरणको प्रयोग गरेर हटाउने जानकरी दिइन् । उनले भनिन् ‘हामी सुन्दर शहर निर्माणको अभियानमा छौं, यस्ता अव्यवस्थित ढंगबाट निर्माण भएका संरचनाले बजार सुन्दरतामा कमि ल्याएको र कानून विपरीत रहेकाले हटाउने चयारी थालेका हौं ।’

कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा–१ का कार्यपालिका सदस्य इश्वरी रसाइली हेटौंडा–२ का सदस्य सुरज बतौंला, हेटौंडा–४ का सदस्य जेएन श्रेष्ठ छन् । यस्तै सरोकार वाला निकाय मकवानपुर उद्योग वाणिज्य संघबाट एक सदस्य रहने छन् ।

बैठकले हेटौंडा–१० मा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ मा सार्ने निर्णय गरेको छ । बसपार्क क्षेत्रमा निर्माण भैरहेको बस टर्मिनलको निर्माणको काम तरकारी बजारका कारण असहज भएको भन्दै कार्यपालिका बैठकले अहिलेलाई हेटौंडा १ को राप्ति करिडोर क्षेत्रमा तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिइन् ।

फोहर व्यवस्थापन गर्न अर्को कार्यदल

हेटौंडा उपमहानगर क्षेत्रबाट उत्पादन हुने फोहर व्यवस्थापनका लागि उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा फोहर व्यवस्थापन कार्यदल गठन गरिएको छ ।

कार्यदलले उपमहानगका क्षेत्रबाट उत्पादन भएका फोहरलाई एकै ठाउँ डम्पिङ गर्ने भन्दा पनि फरक÷फरक ठाउँहरुमा फोहर व्यवस्थापनको लागि सम्भाव्यता अध्ययन गर्ने छ । अहिलेको व्यवस्थापनमा खर्चिलो र जोखिम बढि भएकाले उपमहानगर क्षेत्रका अन्य ठाउँमा समेत फोहर व्यवस्थापन गर्न सकिन्छ कि भन्ने हिसाबले कार्यदल गठन गरेर काम गर्न लागिएको नगर प्रमुख लामाले बताइन् ।

फोहर व्यवस्थापन कार्यदलको सदस्यमा हेटौंडा २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, ६ का अध्यक्ष बिष्णुबहादुर दाहाल, १० का अध्यक्ष फुर्वा दोर्जे लामा, ११ का अध्यक्ष जुना दाहाल, १३ का अध्यक्ष पेम्वा लामा, १५ का अध्यक्ष सुनिल मोक्तान, १७ का अध्यक्ष उद्धब सत्याल र १९ का अध्यक्ष नरनाथ सुवेदी सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?