+
+

राष्ट्रपतिलाई प्रचण्डले भने : नागरिकता विधेयकलाई धेरै राजनीतीकरण नगरियोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १७:२१

१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता सम्बन्धी समस्या समाधान गर्न विधेयक ल्याएको बताएका छन्।

पार्टीका नेताहरुसहित दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका प्रचण्डले नागरिकताको समस्या हल गर्न पुरानै कुरालाई राखेर विधेयक ल्याएको बताएका थिए ।

छलफलमा सहभागी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो चासोबारे कुरा राखेकी थिइन् । विशेष गरी वैवाहिक अंगीकृतलाई नागरिकता दिन समय तोक्ने विषय नराखेकोमा भण्डारीले प्रचण्डसँग असन्तुष्टि जनाएकी थिइन्।

जवाफमा प्रचण्डले आफ्नै अग्रसरतामा राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधानको व्यवस्था राखिएको बताएका थिए ।

उक्त विधेयक अगाडि बढाउन आग्रह गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा टेबुल नगरी पाँच महिना अड्काएको प्रचण्डको आरोप थियो ।

संसद विघटनपछि ल्याइएको अध्यादेशमा पनि वैवाहिक अंगीकृतको विषय समावेश नभएको र राष्ट्रपतिबाट उक्त अध्यादेश तत्कालै स्वीकृत गरिएको भन्दै प्रचण्डले अहिले यो विषयलाई धेरै राजनीतीकरण गर्नु उचित नहुने धारणा राखेको उनको सचिवालयले बताएको छ ।

‘हिजो ओलीजीले विधेयक पाँच महिना होल्ड गर्नुभयो, संसद विघटनपछि अध्यादेश ल्याउनुभयो’ उनको भनाइ थियो, ‘अहिले हामीले ल्याएको विधेयकमा नयाँ कुरा के नै छ र ? यसमा बढी राजनीतीकरण गरियो । राजनीतीकरण नगरियोस् ।’

नागरिकता सम्बन्धी केही विषयमा राष्ट्रिय सहमति गर्न बाँकी नै रहेको भन्दै प्रचण्डले हाल नागरिकताविहीन अवस्थामा रहेका जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन मात्र अहिले विधेयक ल्याएको बताए ।

नागरिकतामा राष्ट्रपतिको चासोको सम्बोधन राष्ट्रिय सहमतिमा नयाँ विधेयक ल्याएर गर्न सकिने प्रचण्डको भनाइ थियो ।

त्यस्तै प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम रुप दिन राष्ट्रपतिसँग सहयोग समेत मागेका थिए। ‘यो पनि राजनीतीकरण हुने खतरा छ’ प्रचण्डको भनाइ थियो, ‘यसमा राष्ट्रपतिज्यूको पनि ध्यान जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?