+
+

पेप्सीकोला बस्ने दुई विद्यार्थी किन बुद्धनगरको निर्माणाधीन घरबाट हामफाले ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते २१:२३

१५ भदौ, काठमाडौं । बुधबार अपरान्ह साढे ६ बजेतिर प्रहरी वृत्त, बानेश्वरमा खबर आयो, ‘बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल हानेका छन् ।’

खबर पाउनेबित्तिकै बानेश्वरको प्रहरी टोली घटनास्थलमा पुग्यो । पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।

पछि उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुल्यो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरु १३ र १४ वर्षका किशोरकिशोरी भएको खुलेको छ ।

दुवै पेप्सिकोलामा बस्दै आएका थिए ।

बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । तर साँझ दुवै गम्भीर घाइते अवस्थामा भेटिए । घरमा काम गर्ने मजदुरहरुले उनीहरु माथि जाँदै गरेको देखेका थिए, तर वास्ता गरेनन् ।

अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय अगाडि आएका छैनन् ।

‘यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’ एक अधिकृतले भने, ‘अहिलेसम्म उनीहरुको कुनै नोट वा अरु केही पनि भेटिएको छैन ।’ प्रहरीले बिहीबारदेखि विद्यालय र उनीहरुका साथीहरुसँग पनि बयान लिने बताएको छ । प्राविधिक पक्षमा पनि अनुसन्धान अघि बढाउनेछ ।

घटनाको कारण हालसम्म खुलेको छैन । उनीहरुको झोला पनि हालसम्म भेटिएको छैन, झोला कतै राखेर त्यतिकै हिँडेका थिए कि भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी स्रोत बताउँछ ।

हालसम्म प्रहरीले फेला पारेको तथ्य अनुसार उनीहरु निर्माणाधीन घरमा पुगेको केही समयमै घटना भएको हुनसक्ने देखिएको छ । प्रहरीले घटनास्थल आसपासका क्लोज सर्किट (सीसी) क्यामराका फुटेजहरु पनि संकलन गरिरहेको छ ।

शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?