+
+

चोलेन्द्रले बयानमा बोलेका १४ महत्वपूर्ण विषय

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ७:५३

१६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिए । उनीसँगको बयान लिने क्रम नसकिएकाले आज बिहीबार पनि समितिले बयान लिंदै छ ।

बुधबार करिब साढे ३ घण्टा लामो बयानका क्रममा उनले मेरै परमादेशबाट बनेको सरकारका सांसदहरुले मलाई नै महाअभियोग लगाएको भन्दै यो घटनाले झसंग बनाएको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली दुरदर्शी नेता भएको भनेर प्रशंसा पनि गरेका छन् ।

साथै उनले आफ्ना सहकर्मी न्यायाधीशहरुको नाम लिएर उनीहरुको चरित्रमा प्रश्न उठाएका छन् ।

बयानको क्रममा जबराले व्यक्त गरेका धारणाका मुख्य/मुख्य अंशहरु यस्ता छन्–

‘म ज्युँदो साक्षी हुँ’

प्रतिनिधिसभा विघटनको मुद्दापछि यो न्यायाधीश विघटनको पक्षमा छ, यो विपक्षमा छैन भन्ने काम भयो । सबै न्यायाधीश स्वतन्त्र हुन्छन्, आफ्नो विवेक प्रयोगमा स्वतन्त्र हुन्छन् भनिन्छ । तर विघटनको विषयमा अदालतमा स्वतन्त्रपूर्वक फैसला गर्न दिएको भए यो स्थिति आउने थिएन । मैले दुखका साथ भन्नुपर्छ । फैसला गर्न गराउन सबै प्रयोग भयो । म त त्यहाँको ज्यूदो साक्षी हो ।

प्रधानन्यायाधीश विघटनको विरुद्धमा हुनुहुन्छ भन्ने कुरा बाहिर आयो । संविधानको धारा १३६ ले प्रधानन्यायाधीशलाई न्यायप्रशासनको जिम्मेवारी सुम्पिएको छ । राजनीतिक मुद्दाहरुमा फरक दृष्टिकोण रहँदो रहेछ । व्यवहार फरक हुँदो रहेछ ।

न्यायाधीश कार्कीले दोहोरो भूमिका खेले 

न्यायाधीश हरिकृष्ण कार्की

न्यायाधीश हरिकृष्ण कार्कीले दोहोरो भूमिका खेल्नुभयो । छिनमा इजलासमा बस्नुभयो, हेर्दाहेर्दै जानुभयो । केपी शर्माले नियुक्त गरेको महान्यायाधीवक्ता हुँ, यो मुद्दामा म बस्दिनँ भन्नुभयो । उहाँको मुद्दा मैले हेर्दिनँ भन्नुहुन्छ । अर्कोतर्फ केपी ओलीजीले नियुक्त गरेका सबै मुद्दा हेर्नुहुन्छ । यस्ता द्वैध चरित्रका व्यक्तिहरु बारबाट आएर बारसँग मिलेर षडयन्त्र गरेर आज न्यायपालिकालाई यो अवस्थामा पुर्याउनुभयो ।

यहाँसम्म आउदा मलाई गौरवको विषय छ । म बोल्न त पाएँ । चिकेन हर्टेड (चल्लाको छाती जस्तो चित्त बनाएका) न्यायाधीशहरु भएपछि संस्था चल्दैन । बारलाई हरिकृष्ण र प्रकाशमानजीले नेतृत्व गर्नुभयो । त्यही कारणले यो स्थिति सिर्जना भयो ।

महाअभियोगले झसंगै बनायो

मैले प्रमाणहरु सबै सचिवज्यूलाई दिउँला । (प्रतिनिधिसभा विघटनका बेलामा) बारले बेञ्च गठनको विषयमा प्रश्न उठायो । पहिलोपटक मात्रै उठाउनुभएन, दोस्रो विघटनको मुद्दामा पनि न्यायाधीशहरुको विचमा बहस सुन्दासुन्दैको अवस्थामा प्रश्न उठाउनुभयो । केही न्यायाधीश बस्नुपर्छ, केही बस्नुहुन्न भन्ने कुरा आयो ।

दुईजना न्यायाधीशज्यूहरुले फलाना–फलाना बस्नुहुँदैन, उहाँहरु बस्ने हो भने हामी बस्दैनौं भन्नुभयो । बारलाई उठाउनुभयो, बारबाट पूर्णमान शाक्यजी आउनुभयो । पूर्णमानजीको विषयमा पनि मैले यो गरिमामय संसदमा जानकारी गराउनुपर्छ । उहाँले बरिष्ठको हिसाबले बेञ्च गठन भइदिए राम्रो हुन्थ्यो भन्ने कुरा उठाउनुभयो । मेरो विरुद्धमा महाभियोग आइसकेपछि म अहिले झसंग भएँ ।

बारलाई कारवाही गर्नुपर्नेमा मलाई महाभियोग ?

बारको दवावमा केही न्यायाधीशको राजनीतिक नियुक्ती भयो । यिनै न्यायाधीशको अगुवाइमा बेञ्च बहिस्कार भयो, अनि अहिले कारवाही हुनुपर्ने प्रधानन्यायाधीशलाई ? प्रधानन्यायाधीश विरुद्ध न्यायाधीशले हड्ताल गर्न मिल्छ ? यिनीहरु भ्रातृ संगठन हुन् ? तिनलाई कारवाही गर्नुपर्नेमा प्रधानन्यायाधीशलाई महाअभियोग लगाएको ? सर्वोच्चबाटै न्यायपालिकाभित्रै प्रधानन्यायाधीश र न्यायपालिकाभित्र निषेधित क्षेत्रमा नाराबाजी भयो । बारलाई कारवाही गर्नुपर्ने थियो कि प्रधानन्यायाधीशलाई महाभियोग लाग्नुपर्ने थियो ?

महाभियोग निस्तेज भइसक्यो

महाभियोग लाग्नुअघि धेरै ठाउँबाट आउनुभयो, जानुभयो । प्रधानन्यायाधीशले राजिनामा दिए हुन्थ्यो  भनेर जानुभयो । मैले विधि र प्रत्रियाबाट जान्छु भनेको हुँ । ७ दिनभित्र प्रक्रियामा गएन भने अधिवेशन टुंगिए पनि प्रस्ताव निष्कृय हुन्छ । त्यस अनुसार त म विरुद्धको प्रस्ताव निष्कृय भएको छ । कुनैपनि मानेमा यो स्विकारयोग्य होइन । अहिले सुनुवाइ गरिरहेको प्रस्ताव त निष्कृय भएको प्रस्ताव हो, तर म स्वीकार गरिरहेको छु ।

‘कार्की र राउतको चरित्रै खराब’

केही न्यायाधीशको चरित्र यति खराब थियो कि तिनको हकमा मैले प्रश्न गरें । न्यायाधीशको रुपमा प्रकाशमानसिंह राउत, यो कुरा नोट होस्, उसले तीनवटा गम्भिर अपराधको विषयमा मैले प्रश्न गरेको छु । मुद्दा हेर्दाहेर्दैमा राख्ने, अनि आफू बस्ने गरेको ठाउँ माथि बोलाएर मुद्दाको पक्षहरुलाई बार्गेनिङ गर्नुभयो । यो कुरामा मैले प्रश्न उठाएँ ।

न्यायाधीश प्रकाशमानसिंह राउत

त्यसपछि उहाँ हरेक साँझ भट्टीमा जाँड खाएपछि पीएएसओ र ड्राइभरमा मोटरमा हाल्नुपर्ने भएपछि मैले प्रश्न गरें ।  आफ्नै श्रीमतीलाई महिला हिंसा, सम्बन्धविच्छेद गर्न खोजेपछि मैले प्रश्न उठाएँ । या सुध्रिनुस् या राजिनामा दिनुस् भन्दा उहाँले आज बारसँग मिलेर यो अवस्था…।

अर्को अहिलेका दीपक कार्की, हरिकृष्णजीको प्रश्न गर्छु । बरिष्ठको हिसाबले मुद्दामा राख्यो, मुद्दाबाट पन्छिनुहुन्छ । मुद्दा हेर्दाहेर्दैमा महिनौं राख्नुहुन्छ, अनि पन्छिनुहुन्छ । हरेक पटक ।

कार्कीलाई प्रलोभन दिइयो

सर्वोच्च अदालतमा मैले कहिले पनि गुट–उपगुट बनाइनँ । सबै न्यायाधीश मेरो विपक्षमा रहेको भन्ने कुरा शतप्रतिशत गलत हो । मेरो विरुद्धमा महत्वाकांक्षामा लागेका न्यायाधीश मात्रै हुनुहुन्थ्यो ।

म पछाडिको व्यक्तिलाई तपाईंलाई प्रधानन्यायाधीश बनाइदिन्छु भनेपछि एउटा गुट तयार हुँदैन र ? यो त स्वभाविक हो नि । तपाईंले एक–डेढ महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन सहयोग गरिदिनुस् भन्नुभयो, मैले अस्विकार गरें । अहिले प्रधानन्यायाधीशलाई एक्लो बनाएर न्यायपालिकालाई अघि बढाउन सकिन्छ भन्ने भ्रम दललाई भयो, बारलाई भयो । अनि न्यायाधीशहरुमा महत्वाकांक्षा जाग्यो ।

म भन्दा पछाडिकोलाई महत्वाकांक्षा दिएर मैले काम गर्दैन भन्ने पारेर आज यो स्थिति पैदा गरियो । दोस्रो पदाधिकारीलाई महत्वाकांक्षा दिएर यो काम गरियो । यो गठबन्धनलाई यो प्रधानन्यायधीशले हिजो आज र भोलि सहयोग गर्ने छ भनेर भनेको भए यो स्थिति आउने थिएन ।

मेरै आदेशबाट बनेको सरकार

अदालतको परमादेशबाट सिर्जना भएको सरकार छ । त्यो सरकार, त्यसमा संलग्न दलले भन्नुपर्यो । यदि यो फैसला ठिक थियो भने यही फैसला गर्ने प्रधानन्यायाधीश बेठिक भएर महाभियोग कसरी आयो ?  म दुई पटक इजलासको नेतृत्व गरेर त्यसैले जारी गरेको आदेशका आधारमा बनेको परमादेशको सरकार हो नी । यो त परमादेशको आदेशबाट बनेको सरकार हो । अरु त विषय होइन । यही फैसला गराउन यत्रो गर्यो । एमालेबाट महाभियोगको प्रस्ताव आउनुपर्ने, गठबन्धनबाट आयो । यहि त मिलेन ।

ओली दुरदर्शी नेता 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली अति शालीन, अति दुरगामी नेता हुनुहुँदो रहेछ । उहाँलाई सबै सूचना थाहा रहेछ । यस्तो बदमासी गर्ने न्यायाधीशहरुलाई पनि उहाँले महाभियोग लिएर आउनु भएन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

मैले त हात जोडेको थिएँ, मेरो गल्ती नै भयो, बस्छु भनेका न्यायधीशलाई राख्न सकिएन । बस्दिनँ भनेका न्यायाधीशहरुलाई राख्नुपर्ने अवस्था भयो । बारले न्यायाधीशहरुमा हस्तक्षेप गरे । मलाई त दुःख लागेको छ । छिनमै हेर्ने, छिनमै नहेर्ने भनेर जानुभयो ।

नेता नेपाल डराएर महाभियोग दर्ता 

फागुन १ गते माधव नेपालको मुद्दा (१४ जना सांसदको मुद्दा) थियो । गठबन्धनलाई सिध्याउन खोज्ने, छाती पिटेर यी हामीले महाभियोग ल्याएको हो भन्नुभयो । यी हामीले सिध्यायौं भन्नुभएको हो । यसरी अगाडि बढाउँदै लैजाँदा त भइहाल्छ नी । यो भन्दा बढ्ता दुःखद के छ र ?

विघटनमा सबैतिर कब्जा 

जनताको मुद्दामा निष्पक्षतामा कमी कमजोरी छैन । राजनीतिक मुद्दामा (विघटनका दुईटा मुद्दामा) मलाई सपनाजस्तो भएको छ, अहिले पनि । यो विषयमा मैले बोल्नै सक्दिनँ । पत्रपत्रिकादेखि लिएर, सडकदेखि लिएर, न्याायधीशहरुदेखि लिएर, बारदेखि कब्जा गरेको विषयमा मैले के बोल्ने ? त्यस्ता न्यायाधीशलाई कारवाही हुनुपर्नेमा अहिले प्रधानन्यायाधीशलाई ।

संसद विघटनको दुईवटा मुद्दा भनेको हुँ । सडक पुरै कब्जा थियो । बार पुरै कब्जा भएर गरेको फैसलाको विषयमा म बोल्दिनँ । संवैधानिक इजलासको नेतृत्व प्रधानन्यायधीशले लिने हो । फैसलालाई सही गरेकाले जिम्मेवारी मेरो पनि हो । वास्तविकता र अवास्तविकतामा फरक हो । सबैलाई कब्जा गरेको फैसलाको यो संविधानले पुष्टि गरेको छैन ।

मिडिया ट्रायल भयो

देशमा दुईपटक संसद विघटनको स्थिति भयो । हारजितको स्वभामानका लागि हामीले युद्ध गर्यौं । हामी राजनीतिक प्रणालीलाई जीत र हारलाई राखेर अघि बढ्दा समस्या आयो । पत्रपत्रिकामा प्रधानन्यायाधीश विघटनको पक्षमा छ, पुनःस्थापनाको पक्षमा छैन भन्ने आएका छन् । मिडिया ट्रायलमा लिएर गएर यी न्यायाधीश पक्षमा, यी–यी विपक्षमा भन्ने कुरा आएपछि महाभियोगको प्रस्ताव अघि बढ्यो । एकातिर सबै पत्रपत्रिकामा विरुद्धमा लेख्न लगाइयो, बारलाई विरुद्धमा लगाइयो । अनि न्यायाधीशलाई विपक्षमा उभिन लगाइयो । यो त सिंगो प्रधानन्यायाधीशलाई कमजोर र विस्थापन गराउन खोजियो ।

सबैसँग बयान लिनुपर्छ

चार पूर्वप्रधानन्यायाधीशहरुको बक्तव्य आएपछि न्यायाधीशहरु विभाजित भएका हुन् । सुशीलाजीको कार्यकाल पछाडि ११ न्यायाधीशको नियुक्ती बदर गर्न व्यापक पहल भयो । त्यसमा गोपाल पराजुली हुनुहुन्थ्यो । मैले नै नियुक्ती उल्ट्याउन हुँदैन भनेको हुँ ।

सर्वोच्च अदालतका सबै न्यायाधीशलाई एकपटक यहाँ बोलाऔं । किनभने उहाँले हड्ताल गरेर बस्नुभएको छ, बहिस्कार गरेर बस्नुभएको छ । त्यसले गर्दा उहाँहरुसँग व्यक्तिगत रुपमा एक–एक गरेर बोलाउनुपर्छ । मैले नै हरिकृष्णजीको समिति गठन गरेको हुँ । कार्यान्वयन नहुने भए गठन गर्थें र ?

नातेदारको सम्पत्ति  नखोजौं 

मेरो परिवारमा चार दाजुभाइ र चार दिदीबहिनी छौं । सबैका सन्तान जोड्दा ७७/७८ जना छौं । छोरा र बुहारीहरु छन् । मेरो छोरा–बुहारीको बाबु–आमा कलंकीमा स्थायी बसोबास हो । मेरो सम्पत्ति विवरण न्यायपरिषदबाट झिक्दा भइहाल्छ । नेपालको संविधानले सबै नागरिकलाई उमेर पुगेपछि स्वतन्त्र मान्छ । सबैको हरहिसाब खोज्न (हाँस्दै) मिलेन । (सबै नातेदारको सम्पत्तिको विषय) त सम्भावना भन्दा बाहिरको कुरा भयो । साहिलो मामाको छोरा हो । उच्च अदालतको न्यायाधीश लोहितचन्द्र शाह मेरो नातेदार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?