+
+
भैरहवाको भुईंबाट–१ :

३० अर्बको गौतमबुद्ध विमानस्थलमा अनपेक्षित सन्नाटा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ १९ गते १८:१६

१८ भदौ, भैरहवा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिकका कारण बिहीबार विहान ९ बजे उड्नुपर्ने यति एयरलाइन्सको विमान आधा घण्टा ढिला साढे नौ बजे गन्तव्यतर्फ जान पायो । अवतरण हुँदा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने सुनसान थियो ।

२ जेठ २०७९ बाट सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा हप्तामा जम्मा ३ वटा अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यो पनि कुवेतबाट आउने जजिरा एयरको मात्र । शनिबार, सोमबार र बुधबार विहान जजिरा एयरको विमान यात्रु लिएर आउँछ र एकाध घण्टामा यात्रु भरेर फर्किन्छ ।

यो अन्तर्राष्ट्रिय विमानस्थलको साख त्यही जजिराका साप्ताहिक ३ उडानले थेगेको छ । त्यसबाहेकको बेला विमानस्थल सुस्ताउँछ । जमिनको मुआब्जासहित ३० अर्ब रुपैयाँभन्दा बढी लागतको यो विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र र अगाडि पार्किङ क्षेत्रमा कमिला दौडने गरेको भैरहवाका व्यवसायीहरु बताउँछन् ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपाने विमानस्थल सञ्चालन भएपनि त्यहाँ पुग्दा खिन्न लाग्ने गरेको बताउँछन् । ‘ यो विमानस्थलको माग २०३७ सालदेखिकै हो । यहाँ सम्भावना नभएर होइन, सरकारले गर्नुपर्ने काम नगर्दा सुनसान जस्तो भएको हो,’ उनी भन्छन्, ‘सरकारको पहल बढीभन्दा बढी विमान आउने र समग्र भैरहवा–लुम्बिनी क्षेत्र गुल्जार बनाउनेमा हुनुपर्छ ।’

अहिले चाहिँ टर्मिनलको अग्रभागमा कर्मचारीका फाटफुट साइकल, मोटरसाइकल, केही मोटर र सुरक्षाकर्मी मात्र देखिन्छन् । सुरक्षाकर्मीहरु आगमन र प्रस्थान कक्ष रहेको टर्मिनल भवनको ढोका खुलै राखेर बस्छन् । भित्रअध्यागमन, कार्गो, भन्सार, ग्राउन्ड ह्यान्डलिङका कर्मचारीहरु हाई काढेर ड्युटी समय बिताउँछन् ।

विमानस्थलमा उड्ययन प्राधिकरण करिब १५० कर्मचारी, १६० सैनिक, १८० प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु खटिएका छन् । विमानस्थलमा लागूऔषध नियन्त्रण ब्युरो, प्रहरीको कुकुर शाखा, हुलाक, बैंक, क्वारेन्टाइन लगायत २१ वटा सरकारी र सार्वजनिक संस्थानका कार्यालय छन् । विमानस्थल २४ घण्टा खुला राखिएकाले कतिपय कर्मचारी ‘ओभरटाइम ड्युटी’ गर्छन् । आन्तरिक विमान सेवातर्फ कार्यरत नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले भने अरुभन्दा बढी खट्नु परेको छ ।

तर विमानस्थल व्यवस्थापन र सञ्चालनमा परिचालित पुरै जनशक्तिले कामै पाएका छैनन् । जजिरा बाहेकको उडान नथपिदा गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शून्यप्रायः छ । विमानस्थल कार्यालय प्रमुख गोबिन्द दाहाल दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान संचालन गर्ने क्षमता रहेको बताउँछन् । ४०को साटो सातामा ३ उडान हुँदा पनि त्यति नै स्रोतसाधन र जनशक्ति चाहिने उनले बताए ।

पर्याप्त अन्तर्राष्ट्रिय उडान नभएपछि यो विमानस्थलमा ‘बेस तालिम’ सुरु भएको छ । गत हप्ता हिमालय एयरलाइन्सले आफ्ना पाइलट र कोपाइलटहरुलाई यहाँ उडान–अवतरणको ‘बेस तालिम’ संचालन गर्यो ।

पहिला यस्तो तालिम गराउन नेपाली एयरलाइन्सहरु भारतका विमानस्थल जानुपर्थ्यो । विमानस्थल कार्यालय प्रमुख दाहालका अनुसार, कुनै कारणले काठमाडौं विमानस्थलमा अवतरण हुन नसकेका विमानका लागि भैरहवा विमानस्थललाई २४ घण्टा खुला राख्ने गरिएको छ । ‘यसले गर्दा यहा विमानहरु आउँदा र नआउँदा लाग्ने खर्च उस्तै हुन पुगेको हो’, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख दाहालले भने, ‘उडान थपिए यही खर्च र व्यवस्थापनमा धेरैसेवा दिन सकिन्थ्यो ।’

जजिरा एयरले दैनिक र विज एयरले हप्ताको तीन उडान गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले भने, ‘अरु १५–२० वटा विमान कम्पनीले जानकारी लिनुभएको छ । उनीहरुलाई पनि स्वागत गर्न आतुर छौं ।’

गत २ जेठमा जजिराले सेवा थालेयता ११ हजार ४६५ यात्रुले यो विमानस्थलबाट सेवा लिएका छन् । त्यस्तै, १ हजार ३५६ केजी कार्गो पनि जजिराले लगेको छ ।साढे ३ महिनादेखि सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलका लागि यो त्यति सुखद् तथ्यांक भने होइन ।

कमजोर बजारीकरण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शून्यताबाट न विमानस्थल प्रशासन खुसी छ न त स्थानीय व्यवसायी । नेपाल नागरिक उड्ययन प्राधिकरणले भने यो विमानस्थलको बजारीकरणमा खासै पहल लिएको छैन । काठमाडौंमा उडान थपिरहेका वायुसेवा कम्पनीहरु उपलब्ध छुट सुविधाहरु पर्याप्त नभएको तर्क गरेर भैरहवालाई गन्तव्य मान्न तयार भएका छैनन् ।

यसले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल घाटामा सञ्चालन भइरहेको छ । विमानस्थलले अहिले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ । विमान कम्पनीले यस्तो छुटबाट एक उडानमा करिब एक लाख रुपैयाँ सहुलियत पाउँछन् ।

गौतमवुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ गरिरहेको नेपाल एयरलाइन्सले सेवा शुल्कमा ५० प्रतिशत छुट दिएको छ । यसबाट विमान कम्पनीहरुले प्रतिउडान करिब डेढ लाख बचाउँछन् । यस्ता छुटले अरु कम्पनीहरुलाई पनि लुम्बिनीमा आकर्षित गर्ने सम्भावना रहेको विमानस्थलका प्रवक्ता सुवास झा बताउँछन् । भन्छन्, ‘जजिराको उडान वृद्धिले पनि राम्रो वातावरण बनाउन सघाउने अपेक्षा छ ।’

हप्ताको ३ उडानले आर्थिक भार बढिरहेको नागरिक उड्यन प्राधिकरणका अधिकारीहरु बताउँछन् । ‘अर्बौं खर्च भइसकेको भैरहवा विमानस्थललाई पहिला आफ्नो खुट्टामा उभिन सक्ने बनाउनुपर्नेमा अर्को टर्मिनल भवनको ठेक्का लगाउने चलखेल सुरु भइसक्यो’, एक अधिकारी भन्छन् ।

हालको टर्मिनल भवन धेरै यात्रुलाई एकैपटक सेवा दिन साँघुरो भएको निष्कर्ष निकालेर प्राधिकरणले नयाँ टर्मिनल भवन बनाउने तयारी गरिरहेको छ । विमानस्थल प्रमुख दाहाल एकैपटक यात्रु लाइनमा बस्दा हालको टर्मिन भवनको लाइन बाहिरसम्म पुग्ने अवस्था रहेको बताउँछन् । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार एरोब्रिज सहितको टर्मिनल भवन चाहिन्छ,’ उनले भने ।

व्यवसायीहरु भने अहिले मुख्यतः विमानस्थको बजारीकरणमै जोड दिनपर्ने बताउँछन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष न्यौनाने यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाली वायुसेवा कम्पनीहरुलाई नै प्रोत्साहित नगरिएको बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरण नेतृत्वले गौतमवुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गराउन पर्याप्त पहल र प्रयास नगरेको उनको गुनासो छ । ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नै नदेखेपछि विदेशी एयरलाइन्सहरुले कसरी भैरहवालाई बजारका रुपमा देख्लान् ?’ उनले भने, ‘हिमालय एयरलाइन्सलाई पनि यहाँबाट एउटा गन्तब्यमा उडान गराउन पहल गर्नुपर्ने होइन र ?’

उद्योगी–व्यावसायीले लगानी गरेपछि दिलोज्यान दिएर आफ्नो उत्पादनको बजारीकरणगर्ने उदाहरण दिंदै न्यौपानेले भने, ‘लुम्बिनी नजिकै सरकारले विकास गरेको यती महत्वपूर्ण पूर्वाधारको बजारीकरण भयो भने कति यात्रु लिएर विमानहरु आउलान् ? त्यो हेरेर अघि बढ्नुपर्यो नि ।’

आएनन् पर्यटक

सरकारले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको मुख्य कारण हो, बुद्धको जन्मस्थलमा विश्वभरबाट आउने सम्भावित पर्यटक । तर अहिलेसम्म विमानबाट लुम्बिनीलाई लक्षित गरेर भैरहवा उत्रने विदेशी नगण्य छन् ।

विमानस्थल कार्यालयका प्रमुख दाहालका अनुसार ९५ प्रतिशत यात्रु वैदेशिक रोजगारीका लागि जाने र आउने छन् । वैदेशिक रोजगारीमा कुवेत जाने–आउने प्रदेश १, मधेश प्रदेश र लुम्विनी प्रदेशका नेपाली यात्रुहरुले भैरहवा रोजिरहेको उनले बताए । उनका अनुसार, काठमाडौं–कुवेतभन्दा भैरहवा–कुवेत रुटमा हरेक यात्रुलाई ८ हजार रुपैंयासम्म सस्तो टिकट मिलिरहेको छ । ‘अहिलेसम्म पर्यटक आगमन नगण्य रह्यो । यहाँका नागरिक, पर्यटन व्यवसायी, पर्यटन बोर्ड, मन्त्रालयसबै सरोकारवालाको चासो यहाँबाट युरोपसम्म उडान गराउनुपर्छ भन्ने छ,’ दाहाल भन्छन्, ‘अबको एक वर्षभित्रदैनिक ८–१० उडान हुन्छ भन्ने आशाछ ।’

म्यान्मार, श्रीलंका र दक्षिण कोरियाबाट लुम्बिनीलक्षित नियमित र चार्टर्ड उडान हुने आशा उनले व्यक्त गरे । तर, ती बुद्धमार्गी देशहरु लुम्बिनी विमानस्थलको प्रवर्धन नभएको उद्योग वणिज्य संघका अध्यक्ष न्यौपाने बताउँछन् । ‘सरकारले लुम्बिनीमा धार्मिक पर्यटक ल्याउने योजना बनाएर प्रवद्र्धनात्मक काम गर्नुपर्छ,’ उनी भन्छन्, ‘लुम्बिनीमा पर्यटक ल्याउनु मूल कुरा हो, अरु तपसिलका विषय हुन् ।’

अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्रमासहज र स्तरीय खालकोसेवा सुविधा आवश्यक हुन्छ । भैरहवा क्षेत्रको सडक, सार्वजनिक यातायातसेवा र अन्य पुर्वाधार चुस्तदुरुस्त छैन । ‘अन्तर्राष्ट्रिय यात्रु आत्तिने सकडहरु छन्, सरसफाइको अवस्था धेरै कमजोर छ,’ विमानस्थल कार्यालय प्रमुख दाहाल भन्छन्, ‘यस्तो अवस्था राखिराख्नु हुदैन ।’

यो विमानस्थलको कारण होटल व्यवसायमा भने राम्रै लगानी भइरहेको उनले बताए । ‘प्रतिफल आउने देखेर नै यस्तो लगानी भएको हो,’ उनले भने, ‘पर्यटकलाई सुविधा दिनलुम्बिनी विकास कोषले ल्याएका विद्युतीय सवारीहरु पनि अब चलाउने तयारी गर्न पर्यो । त्यस्ता सवारीलाई विमानस्थलमा चार्जिङ सुविधा दिने निर्णय भइसकेको छ ।’

उड्यन अधिकारीहरुका अनुसार गौतमवुद्ध विमानस्थलले अहिले पनि ‘एयर रुट’को समस्या भोगिरहेको छ । भारतले सिधै भैरहवा वा नेपालगञ्जबाट आउने एअर रुट दिए सिमाराको रुटबाट नेपाल प्रवेश गर्नुपर्ने बाध्यता हट्ने थियो । अहिले विमानहरुलाई आधा घण्टा ढिलो हुने घुमाउरो रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । ‘यो कारण पनि अन्तर्राष्ट्रिय विमान कम्पनीहरु निरुत्साहित हुने अवस्था छ,’ विमानस्थ कार्यालय प्रमुख दाहाल भन्छन्, ‘भैरहवाका लागि सिमाराको रुट कुनै हिसावले उचित छैन ।’

उनका अनुसार, यसबीचमा चट्याङसहितपानी परिरहेको एक विहान भारतले जजिरा एयरलाई भैरहवाकै एयर रुटबाट कम उचाइमा आउन दिएको थियो । ‘भारतले भैरहवा, नेपालगञ्ज वा महेन्द्रनगरबाटै भएपनि एयर रुट दिए विमानस्थल सञ्चालनमा सहजता थपिन्थ्यो,’ दाहाल भन्छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

आर्थिक-सामाजिक विषयमा कलम चलाउने घिमिरे अनलाइनखबरको आर्थिक ब्युरोको संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?