+
+

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु किन आउँदैछन् नेपाल ?

विभिन्न मुलुकबाट सदनकै प्रतिनिधित्व गरेर नेपाल भ्रमण हुने गरेको भए पनि चीनबाट यस प्रकारको भ्रमण हुन लागेको यो पहिलोपटक हो । संसदीय प्रणालीमा नीति निर्माणदेखि सत्ता समीकरण र विभिन्न सन्धि सम्झौता गर्दा समेत संसदको भूमिका महत्वपूर्ण हुने भएकाले पनि पछिल्लो समय शक्ति राष्ट्रहरूले चासो दिएको देखिन्छ ।

दिपेश शाही दिपेश शाही
२०७९ भदौ १९ गते ८:०१

१९ भदौ, काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी २७ देखि ३० भदौ (१२ देखि १५ सेप्टेम्बर) सम्म नेपालको चार दिने भ्रमणमा आउने भएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियताका चान्सु सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुवै देशका तर्फबाट उनको भ्रमणको औपचारिक घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । ‘भ्रमणको अवधि र मितिका विषयमा केही कुरा टुंगिन बाँकी रहेको हुँदा सार्वजनिक भइसकेको छैन । अब २७ भदौदेखि सुरु हुने र चार दिनको अवधि हुने भन्ने निश्चित जस्तै भएको छ । अब छिट्टै सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो ।

उनको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयले तयारीलाई तीव्र बनाएका छन् । भ्रमणका क्रममा समकक्षीका हिसाबले सभामुख सापकोटासँग द्विपक्षीय भेटवार्ता हुनेछ भने राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता हुनेछ । त्यसबाहेक अन्य शीर्ष नेताहरूसँग पनि भेट हुने विषयमा छलफल चलिरहेको बताइएको छ ।

सभामुख सापकोटाको चाहना र निमन्त्रणमा चान्सु नेपाल आउन लागेका हुन् । गत २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।

चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् ।

चान्सुको नेपाल भ्रमणका लागि सभामुख सापकोटाको निमन्त्रणा मात्रै होइन विशेष चाहना समेत हो ।

आगामी १६ अक्टोबरमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् । उनको भ्रमणलाई चीनले विश्व शक्ति राष्ट्र बन्ने होडका बीच रणनीतिक भू–अवस्थितिमा रहेको छिमेकी मुलुकका विषयमा धारणा बुझ्ने अवसरका रूपमा समेत प्रयोग गर्न खोजिएको देखिन्छ ।

पछिल्लो समयमा नेपालमा शक्ति राष्ट्रहरूको चासोका साथ बाक्लो आवतजावत भइरहेको छ । विशेष गरी अमेरिका र चीनबाट एकपछि अर्को भ्रमण नेपालमा भइरहेका छन् । यद्यपि, राजनीतिक, कूटनीतिक र सैन्य क्षेत्रसँग सम्बन्धित भ्रमणहरू बाक्लै हुने गरे पनि संसदीय प्रतिनिधित्व गरेर कमै आवतजावत हुन्थ्यो । तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका विषयमा यहाँको संसदको भूमिका समेत बढ्न थालेसँगै संसदीय प्रतिनिधित्व गर्ने खालका भ्रमणहरू समेत बढ्न थालेका छन् ।

विशेष गरी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयलाई लिएर सदनमा चर्को बहस र विवाद भएपछि भूराजनीतिक विषयमा सदन पनि प्रत्यक्ष जोडिन थालेको छ । यसले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा सदनको भूमिका बढेको र शक्ति राष्ट्रहरूले पनि यहाँको सदनमा चासो बढाइरहेको विश्लेषण भइरहेको छ । यसै क्रममा चीनको नीति निर्माण गर्ने महत्वपूर्ण थलो राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चान्सु पनि सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउने तय भएको हो ।

आगामी ४ मंसिरमा सम्पन्न गर्ने गरी प्रदेशसभा र संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा उनको भ्रमण हुन लागेको हो । विश्व राजनीतिमा प्रतिस्पर्धा तीव्र बनिरहँदा नेपालमा एकपछि अर्को गरी शक्ति राष्ट्रहरूबाट बाक्लो आवतजावत हुनुलाई विशेष चासोका साथ हेर्ने गरिएको छ ।

अन्य विभिन्न मुलुकबाट सदनकै प्रतिनिधित्व गरेर नेपाल भ्रमण हुने गरेको भए पनि चीनबाट यस प्रकारको भ्रमण हुन लागेको यो पहिलोपटक हो । अमेरिकाबाट यसप्रकारका भ्रमणहरू नियमित हुने गरेका छन् । पछिल्लो केही महिनायता मात्रै पनि अमेरिकाबाट सिनेटरहरूको टोली पटक–पटक नेपाल भ्रमणमा आइरहेका छन् ।

संसदीय प्रणालीमा नीति निर्माणदेखि सत्ता समीकरण र विभिन्न सन्धि सम्झौता गर्दा समेत संसदको भूमिका महत्वपूर्ण हुने भएकाले पनि पछिल्लो समय शक्ति राष्ट्रहरूले चासो दिएको देखिन्छ ।

सभामुख सापकोटाको विशेष चाहना

चान्सुको नेपाल भ्रमणका लागि सभामुख सापकोटाको निमन्त्रणा मात्रै होइन विशेष चाहना समेत हो । सापकोटाले सभामुख भएदेखि नै चीनबाट राष्ट्रिय जनकंग्रेसको प्रतिनिधित्व हुने गरी भ्रमण गराउन चाहेका थिए । तर, यसबीचमा कोरोना महामारी बढेपछि र चिनियाँ पक्षको समय नमिलेपछि भ्रमणको तयारी हुन सकेको थिएन । अहिले ४ मंसिरका लागि निर्वाचनको मिति तोकिसकेको अवस्थामा सापकोटाले आफ्नो सभामुखको कार्यकाल सकिनुपूर्व नै यो भ्रमण गराउन लागेका हुन् ।

सापकोटा सभामुखको जिम्मेवारीमा आउनुभन्दा पहिलेदेखि नै चीनसँग निकट नेताहरूमध्ये मानिन्छन् । सापकोटा सभामुख भएपछि ०७६ सालको माघमा पहिलो भेट पनि उनले चिनियाँ राजदूतसँग गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र मिलेर एकीकृत पार्टी नेकपाका तर्फबाट सभामुख बनेका सापकोटाले पहिलो भेट नै चिनियाँ राजदूतसँग गरेपछि चीनको सक्रियता अनावश्यक बढेको भनेर आलोचना समेत भएको थियो ।

यसअघि सापकोटाले चीनलाई गैंडा उपहार दिएको विषयमा पनि निकै चर्चा भएको थियो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा ०७३ सालमा वनमन्त्री भएका सापकोटाले मन्त्रिपरिषद्मार्फत निर्णय गराएर दुर्लभ मानिने दुई जोडी एक सिंगे गैंडा चीनलाई उपहार दिएका थिए । सापकोटा अहिले पार्टीको जिम्मेवारीभन्दा बाहिर रहेर सभामुख भएपनि माओवादीभित्र भने उनी चीनसँग निकट मानिने सीमित नेताभित्र पर्दछन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?