+
+

‘काजलकलीको मृत्यु उसप्रतिको अन्याय हो’

धेरै जनाले माहुतेले हात्तीलाई नराम्ररी कुट्छन्, नराम्रो व्यवहार गर्छन् भन्छन् । तर तपाईं सोच्नुस् त, अलिअलि नपिट्ने हो भने त्यत्रो जनावर कसरी नियन्त्रणमा आउँछ ? हात्तीलाई ‘कन्ट्रोल’ गर्न सकिएन भने उनीहरूलाई प्रयोग गर्न सम्भव होला ? यो घरपालुवा गाईबस्तु जस्तो होइन नि !

ऋषि तिवारी अध्यक्ष, युनाइटेड हात्ती जंगल सफारी सहकारी ऋषि तिवारी अध्यक्ष, युनाइटेड हात्ती जंगल सफारी सहकारी
२०७९ भदौ २० गते ९:२०

चितवनमा राखिएको बँधुवा हात्ती काजलकलीको मृत्यु जसरी भयो, त्यो उसप्रतिको अन्याय हो । काजलकलीलाई भारतबाट किनेर आर्थिक आर्जन गराउने हिसाबले नेपाल ल्याइएको थियो । केही वर्ष उसलाई जंगल सफारीमा प्रयोग गरिएपछि काम गर्न नसक्ने भयो । हामीले यसका मालिकलाई यस हात्तीले अब काम गर्न सक्दैन भनेका थियौं ।

त्यसपछि मालिकले यसलाई भारतमा बिक्री गर्ने तयारी गरेका थिए । तर दुई वर्षअघि नेपालको सर्वोच्च अदालतले पालुवा हात्तीलाई बिक्री गर्न नमिल्ने आदेश दियो । अदालतको यस्तो आदेश भए पनि मालिकले काजलकलीलाई पटक–पटक बेच्ने प्रयास गरे, तर त्यो सम्भव भएन । एकपटक प्रहरीसम्म पनि यो कुरा पुग्यो ।

कतिसम्म भने मालिकले काजलकलीलाई भारतमा बिक्री गर्न वीरगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा पुर्‍याएका थिए । तर, प्रहरीले थाहा पाएर फिर्ता ल्यायो । यतिञ्जेलसम्म हात्ती बुढो पनि भइसकेको, दाँत पनि खिइसकेको थियो । मर्ने अवस्थामा उसलाई टिबी पनि भएको थियो । त्यही क्रममा काजलकलीको मृत्यु भएको हो ।

झट्ट हेर्दा हेरचाह नपुगे जस्तो देखिए पनि खासमा काजलकलीलाई बचाउन सकिने अवस्था नै थिएन । जति नै रेखदेख भएको भए पनि ऊ बाँच्न सक्ने अवस्था थिएन । बचाउन सम्भव हुन्छ कि भनेर प्रयास गरिए पनि त्यो सफल भएन ।

तर, यसलाई लिएर विदेशी र जनावर अधिकारकर्मीहरूले ठूलो इस्यू बनाउन खोजे । यसलाई प्रोपोगाण्डा बनाएर फैलाउन खोजियो । यसमा उनीहरूको पनि स्वार्थ देखिन्छ । उनीहरूले यहाँ आएर तस्वीर खिचेर सामाजिक सञ्जाल र बाहिरतिर पठाउँछन् । खासमा यो उनीहरूको पनि डलर ल्याउने उपाय हो । उनीहरू यही तस्वीर देखाएर डलरमा पैसा उठाउँछन्, तर यहाँ एकदमै न्यून मात्र पठाउँछन् ।

उनीहरूको आरोप के छ भने हामीले पाल्न राखेका हात्तीको माया गरेनौं । तर जसरी घर, गाडी, जग्गा जस्ता चिजको महत्व हुन्छ, हात्ती हाम्रो लागि त्यस्तै हो । हात्ती हाम्रो आम्दानीको स्रोत हो । यो पनि हाम्रो सम्पत्ति हो । जसरी हामी घर, गाडीलाई एकदमै माया गरेर संरक्षण गरेर राख्छौं त्यही अनुसार हात्तीलाई पनि माया गरेर राख्छौं । चितवन यिनै हात्तीका कारण चितवन भनेर चिनिएको पनि हो ।

हामीले हात्तीबारे स्थानीय जनतालाई पनि सचेत र जागरुक गराइरहेका छौं । हात्तीबारे बुझाउन बर्सेनि हामी हात्ती महोत्सव गर्छौं । पहिले हात्ती पोलो पनि खेलाउँथ्यौं, तर बाहिरबाट प्रश्न उठ्यो भनेर हामीले रोकेका छौं । यदि हात्तीको माया नभएको भए, हात्ती संरक्षणबारे नबुझेको भए हामी किन रोक्थ्यौं होला र ? तपाईं आफैं सोच्नुस् त !

बरु हात्ती प्रवद्र्धनमा यत्रो काम गरिरहँदा पनि हामीलाई स्थानीय निकाय, सरकार वा कुनै पनि निकायको सहयोग छैन । कोरोनाभाइरसको महामारी चलेकै बेला सम्झौं न । त्यतिबेला हाम्रा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र घाँस चर्न जान पनि दिइएन । लामो समयसम्म पर्यटन शून्य थियो, माहुतेलाई पालिरह्यौं । हात्ती पालिरह्यौं ।

यस्तै स्थिति हुने हो भने निकुञ्जमा हात्तीको संख्या पनि घट्दै जान्छ । कोरोना महामारी अघि सहकारीमा ६५ वटा हात्ती थिए, अहिले ३२ वटा मात्र बाँकी छन् । यस्तै स्थितिले भोलि उनीहरू विस्थापित नहोलान् भन्न सकिन्न ।

२०५० सालमा चितवनमा बाढी आएका बेला यिनै हात्ती प्रयोग गरेर उद्धार कार्य भएको थियो । मानिसहरू हात्तीमा चढेर सुरक्षित स्थानतिर आएका थिए । यस्तो कुराहरू सबै जना बिर्सिन्छन् । हामीले नियमित रूपमा कर पनि तिरिरहेका हुन्छौं । तर, यो कुरा कसैलाई याद हुँदैन ।

हामीलाई गाली पनि गरिरहेका हुन्छन् । धेरैजनाले माहुतेले हात्तीलाई नराम्ररी कुट्छन्, नराम्रो व्यवहार गर्छन् भन्छन् । तर, तपाईं सोच्नुस् त, अलिअलि नपिट्ने हो भने त्यत्रो हात्ती कसरी नियन्त्रणमा आउँछ ? हात्तीलाई कन्ट्रोल गर्न सकिएन भने उनीहरूलाई प्रयोग गर्न सम्भव होला ? हात्तीहरू घरपालुवा गाईबस्तु जस्तो होइन नि ! खुला छाड्ने हो भने विध्वंस मच्चाउन सक्छन् ।

हुन त अहिले हामीले हात्तीलाई कसरी नियन्त्रणमा लिने भनेर सिकाउन माहुतेहरूलाई तालिम पनि दिइरहेका छौं । यसमा हात्तीलाई अरू विधिबाट कसरी नियन्त्रणमा लिने भनेर सिकाइरहेका छौं । जहाँसम्म हात्ती सफारीको कुरा छ, यो दीर्घकालीन हुँदैन भन्ने मलाई पनि थाहा छ । यो तत्काल घटाइहाल्न मिल्दैन । अहिलेलाई हात्ती चितवनको पर्यटनका लागि महत्वपूर्ण छ ।

तर, के गर्न सकिन्छ भने अहिले चार/पाँच जना राख्ने जुन चलन छ, त्यसलाई घटाएर एक/दुई जना मात्र चढाउन सकिन्छ । यसको भविष्यका लागि धेरै काम गर्नुपर्छ, सरकारको पनि सहयोग चाहिन्छ । यसका लागि सांसद सुरेन्द्र पाण्डेसँग पनि कुरा गरेको छु । मैले यो कुरा प्रधानमन्त्रीको तहसम्म पनि पुर्‍याएको छु ।

(चितवनको युनाइटेड हात्ती जंगल सफारी सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीसँग अनलाइनखबरकर्मी शाश्वत पन्तले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?