२०४६ साल ।
अमित शाह कुनै नयाँ उद्यम गर्ने सोचमा थिए । उनले आफ्ना मन मिल्ने साथीसँगको साझेदारीमा गार्मेन्ट कम्पनी खोले । त्यहाँ उत्पादित कपडा विदेश पठाउने मेलोमेसो मिलाइयो । क्रमशः व्यापार व्यवसाय फस्टाउँदै गयो ।
२०५२ साल ।
कामधन्दा सन्तोषजनक नै थियो । कपडा उत्पादन भइरहेको थियो र विदेश निर्यात पनि । फेरि एकसाथ धेरै कपडाको माग आयो । यत्तिका माग उनी एक्लैले धान्न सक्दैनथे, त्यसैले अरु साथीहरुलाई पनि यस कामको जिम्मेवारी बाँडफाँड गरे ।
आफ्नो भागको काम उनले सबै पूरा गरे । अर्थात् उनको भागमा परेको कपडा तयार गरे । तर साथीहरुले निर्धारित समयमा कपडा तयार गर्न सकेनन् । अन्ततः विदेशी विक्रेताले अर्डर नै रद्द गरिदिए । यसले उनलाई ठूलो ऋणभार थपिदियो, करिब करोड रुपैयाँको ।
अब बैंकको ब्याज तिर्न धौधौ हुन थाल्यो । ऋण चुक्त गर्नका लागि जग्गा समेत बेच्नु पर्यो ।
२०६१ साल ।
त्यसबेला अमेरिकाले विभिन्न देशलाई व्यापारको लागि कोटा दिन्थ्यो । सोही वर्ष नेपाल विश्व व्यापार संघठनमा आबद्ध भयो । यसपछि नेपाली गार्मेन्ट व्यापारीले अमेरिकाबाट पाइरहेका कोटा अर्ड रपाउन छाडे । यसपछि धमाधम नेपाली गार्मेन्ट बन्द हुन थाले । शाह किन पो यसबाट अछुतो रहन्थे । उनको गार्मेन्टमा पनि भोटेताल्चा लाग्यो ।
२०६६ साल ।
अब के गर्ने ? हालत कठिन थियो । नयाँ केही गर्न सकिन्छ कि भनेर उनी यताउता भौतारिन थाले । त्यही बखत कसैले उनलाई सुझाए, ‘छालाका उत्पादनहरु गर्ने कि ?’ यो काइदा उनलाई सही लाग्यो । छालाका सामग्री उत्पादन गर्नका लागि केही मेसिन जोरजाम गरे । घरमै तीन वटा मेसिन राखेर छालाका सामग्री उत्पादन गर्न थाले ।
अनि सुरु भयो ‘राइनो’
नाफाघाटाको यो लामो शृंखलापछि पनि अमित शाह थाकेका थिएनन् । त्यसैले सानो लगानी, थोरै जनशक्ति र न्युन स्रोत साधनको भरमा उनले छालाका सामग्री तयार गर्न थाले । फाट्टफुट्ट सामग्री त तयार भयो, तर कहाँ बेच्ने, कसरी बेच्ने ? सोचेजस्तो सरल थिएन ।
अनेकथरी छालाका सामग्रीले बजार भरिभराउ नै थियो । यस्तो स्थितिमा नयाँ उत्पादन लिएर बजारमा प्रवेश गर्नु सहज थिएन । खासगरी ग्राहकको ध्यान खिच्नु र विश्वास जित्नु सजिलो थिएन । तर असजिलो काममा उनी पछि हटेनन् ।
बजारमा उपलब्ध अन्य लेदरका सामग्रीभन्दा आकर्षक, स्तरीय बनाउनु जो थियो । उनले त्यही बाटो समाते, जो अरुभन्दा पृथक हुन सक्छ ।
त्यसबेला उनको आफ्नै आउटलेट थिएन । न्युरोड, असनतिरका व्यापारी साथीहरुलाई उनले सामाग्री दिन्थे । क्रमस उनका सामाग्रीले बजारमा कब्जा जमाउन थाल्यो । ग्राहकहरुले यस्ता उत्पादनलाई निकै रुचाउन थाले । उनका उत्पादन बजारमा छ्यापछ्याप्ती हुँदै गएपछि यसलाई छुटै ब्रान्ड नाम दिनुपर्छ भन्ने लाग्यो । नाम के राख्ने त ? लामो समयको मन्थनपछि उनको दिमागमा फुर्यो, राइनो ।
राइनो अर्थात् गैंडा । गैंडाको छाला एकदमै बलियो हुन्छ भन्ने उनले सुनेका थिए । बलियो र टिकाउयुक्त उत्पादनलाई संकेत गर्दै उनले आफ्ना सामग्रीको ब्रान्ड ‘राइनो’ राखे ।
बुवाको विरासत, छोरीको बिर्ता
२०६७ सालमा अमित शाहले राइनोको आफ्नो छुटै दरबारमार्गमा आउटलेट सुरु गरे । व्यवसायको आकार बढ्दै गयो । बजारमा माग बढ्दै गयो । स्रोत-साधन बढ्दै गयो । जनशक्ति बढ्दै गयो । अन्ततः उनी एक्लैले यी सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा थमाइरहन सकेनन् ।
ठीक त्यहीबेला उनले आफ्नो जिम्मेवारीमा छोरीको साथ खोजे । छोरी एलिसा शाह त्यसबेला काठमाडौं विश्वविद्यालयबाट एमबीए गर्दै थिइन् । पढाइ सकाउनासाथ उनी आफ्नो बुवाले थालेको राइनो नेपाल क्राफ्टमा जोडिइन् । बुवाले काँध थापेको उद्यमलाई उनले अरु गतिशील बनाइन् ।
व्यवसाय बढ्दै गएपछि उनी एक्लैलाई कम्पनी चलाउन गाह्रो हुन थाल्यो । आफ्ना बुवाको यही सफलता टिकाइराख्न छोरी एलिशाले सहयोग गर्न थालिन् ।
अहिले कम्पनीको लगभग सम्पूर्ण काम एलिशाले सम्हाल्छिन् । ‘बुबा एक्लै हुनुहुन्थ्यो र कामको चाप धेरै थियो । विदेश जानु वा जागिर खानुभन्दा मलाई आफ्नै व्यवसाय सम्हाल्नु ठिक लाग्यो’ एलिसा सुनाउँछिन् ।
राइनो लेदर्सले विशेषगरी छालाको ज्याकेट बनाउँछ । प्यान्ट, स्कर्ट, सर्ट, झोला, ब्रिफकेस, किरिङ, पर्स, क्याप, पेटी, पञ्जादेखि ल्यापटप, मोबाइल, डायरीका खोल पनि यहाँ बन्छ । राइनो लेदर्सको अहिले काठमाडौंमा तीनवटा आउटलेट सञ्चालनमा छन् । मैतिदेवी, दरबारमार्ग र पाटन । तीनवटै आउटलेबाट ग्राहकहरूले आफूलाई मन परेको लेदरको सामान खरिद गर्न सक्छन् ।
ग्राहकले आफ्नो इच्छा अनुसारको लेदरको सामान कस्टुमाइज गर्न पनि सक्ने एलिशा बताउँछिन् । ‘हामीले एकदम कम मूल्यमा राम्रो क्वालिटीको सामान उपलब्ध गराइरहेका छौ । कुनै ग्राहकले डिजाइन लिएर आउनुभयो भने त्यही डिजाइन अनुसार पनि हामी सामान तयार पारिदिन्छौं ।’
१ लाखमा सुरु, अहिले वार्षिक ८ करोडको कारोबार
अमित शाहले एक लाख रुपैयाँबाट छालाको व्यवसाय सुरु गरेका थिए । नेपालमा बनेको त्यसमा पनि शतप्रतिशत छालाको सामान र डिजाइन पनि राम्रो भएकाले व्यवसाय एकदमै फस्टायो ।
राइनोमा अहिले ८० जनाको हाराहारीमा कामदार छन् । एक लाखबाट सुरु भएको व्यवसाय अहिले वार्षिक लगभग ८ करोडको कारोबार हुने गरेको एलिशा बताउँछिन् ।
विदेशमा पनि लोकप्रिय
२० वर्षअघि नेपालमा सुरु भएको यो कम्पनीले कच्चा पदार्थ छाला सिन्धुपाल्चोक र आसपास क्षेत्रबाट छाला ल्याउँछ । त्यस्तै केही भारत, न्युजिल्याण्ड र पाकिस्तान, फ्रान्सबाट पनि ल्याउँछ ।
के सामान बनाउने हो त्यहीअनुसार जनावरको छाला प्रयोग गरिने उनले जानकारी दिइन् । लुगाका लागि भेडाको राम्रो, झोला-पर्स जस्ता सामानका लागि भैंसीको ।
राइनो लेदर ब्रान्डका सामान अमेरिका, न्युजिल्याण्ड, क्यानडा, अस्ट्रेलिया, जापान, दुबई, बेलायत र केही युरोपेली देशमा पनि निर्यात हुन्छ ।
कसरी थाहा पाउने शुद्ध लेदर ?
शुद्ध लेदर थाहा पाउन त्यसको कपडाको गुणस्तर चिन्नुपर्छ । शुद्ध लेदर बाहिरपट्टि खस्रो हुन्छ, भित्र नरम । झलक्क हेर्दा बाहिर र भित्र दुवैतिर यो पूर्ण चट्ट देखिंदैन । जनावरको छाला भएकाले यसको गन्ध पनि छालाको जस्तो नै आउने एलिशा बताउँछिन् ।
शुद्ध लेदर हो भनेर चिन्नको लागि भित्रपट्टिको भाग पनि देख्न पाइएन भने फायर टेस्ट पनि गर्न सकिन्छ । शुद्ध लेदरमा झट्ट आगो लाग्दैन । फायर टेस्ट गर्दा कपाल जलेको जस्तो गन्ध आउँछ ।
प्रतिक्रिया 4