+
+
स्थलगत :

डडेलधुरामा देउवा : कम्युनिस्ट मत पाउँदैछन्, आफ्नै भाेट गुमाउँदैछन्

६ पटक डडेल्धुराबाट निर्वाचित शेरबहादुर देउवाले सातौं पटकको चुनावमा भने पहिलो पटक कम्युनिस्ट मत पनि पाउँदैछन् । तर कांग्रेसभित्र देखिएको विद्रोहका कारण विगतमा पाइरहेको मत भने उनले यसपटक गुमाउँदैछन् ।

सइन्द्र राई जनक विष्ट सइन्द्र राई, जनक विष्ट
२०७९ भदौ २३ गते २०:३८
३० वैशाख २०७९ मा भएको स्थानीय चुनावका बेला गन्यापधुरामा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा

२३ भदौ, डडेलधुरा । नवदुर्गा गाउँपालिका–५ का पूर्व वडाअध्यक्ष धनबहादुर साउद (६७) ले सदैव शेरबहादुर देउवालाई भोट दिए । २०४८ सालदेखि डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्न थालेका ७७ वर्षीय देउवालाई साउदले दिएको कुनै पनि मत खेर गएन ।

‘शेरबहादुर दाइलाई देउता मान्यौं, उहाँ यता आउँदा लाइनमा उभिएर फूल–अक्षता चढायौं’, २०३५ सालमा नेपाली कांग्रेसको सक्रिय सदस्यता पाएका उनी भन्छन्, ‘यसरी देउता मानेका नेतालाई हार्न दिने कुरा पनि भएन !’

यस पटकको चुनावमा भने साउदले क्रमभंग गर्दैछन् । उनी अहिले कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल संलग्न नेपाली कांग्रेस (बीपी) मा सक्रिय छन् । ‘डडेलधुरावासी आफ्नो दुःख र पछौटेपन भुलेर शेरबहादुरको पछि लागेका हुन्,’ उनले भने, ‘सधैं त यसरी नहुने रहेछ ।’

कांग्रेस पार्टी सभापति तथा देशका प्रधानमन्त्री देउवालाई यो विद्रोहले डडेलधुरामै रोक्न सक्नेमा भने साउद आफैं ढुक्क छैनन् । ‘३० वर्षदेखि रूखमा भोट हाल्न बानी परेकाहरूलाई सकेसम्म सम्झाउने हो’, उनी भन्छन् ।

संसदीय राजनीतिमा देउवाको अपराजित यात्रा रोक्न तम्सेका नेताहरूमा बलियो आत्मविश्वास नहुनुको कारण भने डडेलधुराको राजनीतिक पृष्ठभूमि र हालको दलीय समीकरण पनि हो ।

‘देशमा कांग्रेसले हारोस् कि जितोस्, डडेलधुरामा एउटै परिणाम आउँछ– शेरबहादुर दाइको जित’, अमरगढी नगरपालिका–५ का निरजसिंह ठकुरी (५१) भन्छन् । रोजगारीको लागि लामै समय भारत बसेका उनले निर्वाचनको बेला घर आउँदा हरेक पटक देउवालाई भोट दिए । ‘सधैं–सधैं जिताएको नेता पाँच पटक देशका प्रधानमन्त्री भए पनि हामी डडेलधुरावासीको दुःख उस्तै छ’ ठकुरीले भने, ‘खेतीबालीले खान नपुगेपछि मजदुरी गर्न भारततिर भौंतारिनु परिहाल्यो । मेरो जस्तै दुःख सबैका छन् ।’

डडेलधुराको खलंगा क्षेत्रो सडक र हिँड्दै गएका स्थानीय

हुन पनि, निर्वाचनमा डडेलधुरावासीले जिताएकैले शेरबहादुर देउवाले सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला बराबरी पाँचपटक प्रधानमन्त्री हुने कीर्तिमान राख्न सकेका हुन् । तर, उनले बितेको ३१ वर्षमा जिल्लामा सम्झनयोग्य काम नगरेको डडेलधुरावासीको गुनासो छ ।

‘सडक, बिजुली ल्याए भनौं भने त्यो पञ्चायतकालमै आएको हो’, अमरगढी–५ का ७० वर्षीय नरबहादुर नगरकोटीले अनलाइनखबरसँग भने, ‘अहिले पनि त्यही सडक छ, त्यही बिजुली छ ।’

त्यसो त हरेक चुनावमा उनले पनि देउवालाई भोट दिए । ‘अरू बेला राप्रपा वा अरू पार्टी भने पनि भोट हाल्ने बेला बाध्यतामा परिन्छ’, उनी भन्छन्, ‘हाम्रो क्षेत्रबाट देशकै नेता भन्यो, यो पटक जितेपछि चाहिं हाम्रा लागि पनि केही काम गर्छन् भन्यो, अन्तिममा बाध्य भइहालिन्छ ।’

युवराज पाण्डे, गिता नगरकोटी र नरबहादुर नगरकोटी

नगरकोटीकी पत्नी गीता अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को डडेलधुरा जिल्ला सदस्य हुन् । तर, बुहारीहरू कांग्रेस भएकाले उनीहरूकै कारण यसअघिको चुनावमा देउवालाई भोट दिएको उनले बताइन् ।

अमरगढीका युवराज पाण्डे (४०) चुनाव आउनु अगाडि अरू दलको गतिविधि राम्रै देखिने गरे पनि देउवा डडेलधुरा आउनासाथ माहोल फेरिने गरेको बताउँछन् । ‘शेरबहादुर दाइ चुनावबाहेक अरू बेला डडेलधुरा आउनुहुन्न पनि’ उनले भने, ‘पछिल्लो पटक २०७४ साल र अस्ति वैशाखको चुनावमा आएको मलाई याद छ ।’

देउवाले कांग्रेसभित्र अन्तरकलह चर्किएको बेला २०५१, माओवादीको प्रभाव भएको २०६४ र वामलहर चलेको २०७४ मा पनि डडेलधुरामा निर्वाचन जिते । अरू बेलाको चुनाव त सजिलै जिते । र, एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी नेताको कीर्तिमान बनाए ।

नेपाल पत्रकार महासंघ, डडेलधुरा जिल्ला अध्यक्ष हिक्मत सिंह जिल्ला नआए पनि देउवालाई जिताए डडेलधुराका नेता प्रधानमन्त्री बन्छन् भन्ने मनोविज्ञानले गर्दा अरू दलको केही नचलेको बताउँछन् ।

‘सुदूरपश्चिममा २०७४ सालको चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला नेता शेरबहादुर देउवा भए, कांग्रेसको लागि अकल्पनीय प्रतिकूलता विकसित हुँदा पनि उनले जिते । र, प्रधानमन्त्री पनि भएरै छाडे’ सिंह भन्छन्, ‘डडेलधुरामा अरूले जिते सांसद, शेरबहादुरले जिते प्रधानमन्त्री भन्ने मनोविज्ञान कायम छ ।’

कांग्रेस डडेलधुराका सचिव हेमराज चटौत आगामी निर्वाचनमा शेरबहादुर देउवा अहिलेसम्मकै उच्च मतले विजयी हुने दाबी गर्छन् । ‘शेरबहादुर दाइले चुनाव जित्नेमा कुनै शंका छैन’ उनी भन्छन्, ‘हाम्रो ध्यान हालसम्मकै फराकिलो मत अन्तरले जिताउनेमा छ ।’

देउवाले फराकिलो अन्तरले जित्ने तीन वटा आधार रहेको सचिव चटौत बताउँछन् । उनका अनुसार, २०३० को दशकबाटै डडेलधुरावासीको मनमा बस्नु र नयाँ पुस्तामा पनि उत्तिकै प्रिय हुनु देउवाको चुनाव जित्ने पहिलो आधार हो ।

‘गत वैशाखको स्थानीय तह चुनावको नतिजा र त्यसयता विकसित दलीय गठबन्धन/समीकरण शेरबहादुर दाइले ठूलो मत अन्तरले चुनाव जित्ने दोस्रो र तेस्रो आधार हो’, उनले भने ।

स्थानीय चुनावमा डडेलधुरामा कांग्रेसको अवस्था सुध्रिएको छ । २०७४ मा कांग्रेसले सातमध्ये चार पालिका र १७ वडामा मात्र जितेको थियो । सदरमुकाम रहेको अमरगढी नगरपालिका नेकपा एमालेले जितेको थियो । यसपटक एमालेले डडेलधुराका कुनै पनि स्थानीय तहको प्रमुख पद जित्न सकेन । कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ ।

बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित भएको छ । त्यस्तै, नेकपा एकीकृत समाजवादीका २, कांग्रेस (बीपी) का २ र स्वतन्त्र २ वडाअध्यक्ष छन् ।

२०७४ को निर्वाचनमा डडेलधुरा (ख) बाट प्रदेशसभा सदस्यमा विजयी कर्ण मल्लको कांग्रेस (बीपी) सँग एमालेको तालमेल हुँदा पनि स्थानीय चुनावको नतिजा हेरेरै डडेलधुरा कांग्रेसले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ ।

अरू सबै दल मिले पनि जित्ने अवस्था रहेकाले गठबन्धन नगर्ने निर्णय गरेको कांग्रेसका जिल्ला सचिव चटौत बताउँछन् । यद्यपि, केन्द्रको निर्णय बाध्यकारी हुने उनले बताए । अर्थात्, आउँदो चुनावमा शेरबहादुर देउवा पहिलोपटक कम्युनिष्टहरू (माओवादी केन्द्र र एकीकृत समाजवादी)को समेत उम्मेदवार बन्दैछन् ।

‘डडेलधुराको जनमत समग्रमा कम्युनिष्ट पक्षमा देखिंदा पनि चुनाव देउवाले नै जितेका छन्’, पत्रकार महासंघका अध्यक्ष सिंह भन्छन्, ‘निर्णायक परिस्थिति र परिणाम सधैं उनको पक्षमा गएको छ ।’

रहस्यमय व्यक्तित्वप्रति श्रद्धा

डडेलधुराका कतिपय नेता शेरबहादुर देउवा जिल्लाका लागि रहस्यकै रूपमा रहेको टिप्पणी गर्छन् । ‘उहाँको परिचय नै रहस्यमय पात्रका रूपमा भयो’ एमालेका एक नेता भन्छन्, ‘उहाँलाई पञ्चायतकालका मन्त्री लालबहादुर कडायत र गणेशप्रसाद भट्टभन्दा पनि खतरा मान्छे हुन् भनेर चिनाइयो ।’

खलंगा बजारमा रहेको भीमदत्त पन्तको शालिक

कांग्रेसका जिल्ला सचिव चटौत भने देउवालाई डडेलधुराको पुराना पुस्तामाझ भिजेको नेता मान्छन् । जस्तै प्रतिकूल स्थितिमा पनि चुनाव जित्नुको रहस्य त्यही भएको उनले बताए ।

देउवाले कांग्रेसभित्र अन्तरकलह चर्किएको बेला २०५१, माओवादीको प्रभाव भएको २०६४ र वामलहर चलेको २०७४ मा पनि डडेलधुरामा निर्वाचन जिते । अरू बेलाको चुनाव त सजिलै जिते । र, एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी नेताको कीर्तिमान बनाए ।

देउवाले सधैं जित्नुको जगमा उनको व्यक्तिगत राजनीतिक उचाइसँगै कांग्रेसप्रति जिल्लामा बलियो विश्वास रहेको कांग्रेसका पुराना नेता–कार्यकर्ता बताउँछन् ।

राणाशाही विरोधी आन्दोलनको क्रममा एनडी चटौतले २००६ सालमै डडेलधुरामा कांग्रेस स्थापना गरेका थिए । २१ वर्षको उमेरमा कांग्रेस केन्द्रीय नेता बनेका उनले बीपी कोइरालासँग एउटै कार्यसमितिमा काम गरे । बीपीकै प्रेरणाबाट सोसलिष्ट इन्टरनेशनल (अन्तर्राष्ट्रिय समाजवादी आन्दोलन) मा लागेका चटौत २०१४ सालमा हवाई दुर्घटनामा परेर दिवंगत भए ।

एनडी चटौतले डडेलधुरामा धेरैलाई कांग्रेसको बाटोमा लगाएका थिए । राजनीतिक चेतनाका हिसाबले डडेलधुरा अन्य धेरै जिल्लाभन्दा अगाडि थियो । त्यो विद्रोही चेतमा भीमदत्त पन्त र आरडी चटौत लगायत नेताले ऊर्जा थपेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमै उनले चुनाव जिताए प्रधानमन्त्री बन्छु भन्दै डडेलधुरावासीसँग भोट मागे । नभन्दै, एमालेको अल्पमतको सरकार ढलेपछि युवावयमै प्रधानमन्त्री बन्ने अवसर पाए । त्यसपछि त हरेक चुनावमा मत माग्ने नारा नै ‘डडेलधुराबाट भावी प्रधानमन्त्री’ हुन थाल्यो ।

२००७ सालको दिल्ली सम्झौताप्रति असन्तुष्टि जनाउँदै पन्तले कांग्रेस छाडे, तर जिल्लामा कांग्रेस प्रभावित जनमत कायम रह्यो । त्यही धारलाई समाएका शेरबहादुर देउवा प्रतिबन्धित कांग्रेसको केन्द्रीय नेता भनेर जिल्लामा चिनिए ।

कांग्रेस डडेलधुाराका सचिव हेमराज चटाैत

नेविसंघको संस्थापक केन्द्रीय सदस्य उनी सभापतिमा निर्वाचित भएको समाचार डडेलधुराका गाउँ–गाउँ पुग्यो । ‘२०३६ सालको जनमत संग्रहका बेला शेरबहादुर दाइ बस्ती–बस्ती घुम्नुभयो, डडेलधुरामा भोट पनि बहुदलकै पक्षमा धेरै खस्यो’ कांग्रेस जिल्ला सचिव चटौत भन्छन्, ‘त्यसपछि उहाँ सबैको नजरमा पर्नुभयो ।’

त्यसरी देउवा विद्रोही नेताको रूपमा चिनिंदै गर्दा लालबहादुर कडायत पञ्चायती व्यवस्थामा मन्त्री बन्दै थिए । पञ्चायतको अन्त्यतिर डडेलधुरामा कडायतलाई हराएर गणेशप्रसाद भट्ट काठमाडौंमा मन्त्री भए । पञ्चायतको अन्त्यपछि भट्टलाई सहजै हराउने नेता बनेर उदाए, देउवा ।

२०४८ मा चुनाव जित्नासाथ उनी गृहमन्त्री बने । २०५१ को मध्यावधि निर्वाचनमै उनले चुनाव जिताए प्रधानमन्त्री बन्छु भन्दै डडेलधुरावासीसँग भोट मागे । नभन्दै, एमालेको अल्पमतको सरकार ढलेपछि युवावयमै प्रधानमन्त्री बन्ने अवसर पाए ।

त्यसपछि त हरेक चुनावमा मत माग्ने नारा नै ‘डडेलधुराबाट भावी प्रधानमन्त्री’ हुन थाल्यो । ‘हरेक चुनावमा प्रधानमन्त्रीकै कार्ड फालियो । विकास, शिक्षा, स्वास्थ्य, रोजगारी केही भनिएन’ एमाले नेता पठानसिंह बोहरा भन्छन्, ‘अरूले जिते सांसद, शेरबहादुरले जिते प्रधानमन्त्री भन्ने भ्रमलाई बलियो बनाउँदै लगियो ।’

नारा अनुसार ६ पटक चुनाव जित्दा देउवा पाँचपटक प्रधानमन्त्री बने । ‘डडेलधुराले पटक–पटक प्रधानमन्त्री पायो, अरू केही पाएन’ बोहरा भन्छन्, ‘सदरमुकाम अमरगढीकै साँघुरा सडक हेर्दा पनि कसैले यसलाई प्रधानमन्त्रीको जिल्ला भन्न सक्दैन ।’

कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिमका सबै जिल्लाको हिलस्टेसनको रूपमा रहेको डडेलधुराले आर्थिक विकासको ठूलो सम्भावना बोकेको छ । तर अहिले पनि खेतीबाली र वैदेशिक रोजगारी नै डडेलधुरावासीको जीविकाको मुख्य स्रोत हो । ‘खेतीबाली नहुने सिजनमा काम गर्न भारत जाने उहिलेको बाध्यता कायमै छ’ भागेश्वर गाउँपालिकाका पत्रकार लोकेन्द्र ओझा भन्छन्, ‘कमाउन गएकाहरू कति त उतै हराउँछन्, तर गुजारा चलाउन फेरि पनि विकल्प त्यही हो ।’

विरोधीको कलह र अस्थिरताबाट लाभ

शेरबहादुर देउवालाई सातौं पटक सांसदको सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसको डडेलधुरा जिल्ला समितिले यसपटक निर्वाचनको नारा फेरेर ‘अन्तिम पटक’ भन्दैछ । ‘शेरबहादुर दाइको उमेरका कारणले पनि अब फेरि प्रत्यक्ष चुनाव लड्ने अवस्था नहोला, त्यसैले अन्तिम पटक भनेर मत माग्दैछौं’, एकजना जिल्ला नेता भन्छन् ।

यो नाराले माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पनि देउवाले सहजै पाउने उनको विश्वास छ । ‘माओवादी केन्द्रका खगराज भट्ट, एकीकृत समाजवादीका डा. तारा जोशीहरू अर्को पटकको लागि बढी आशावादी बन्न सक्छन्’ उनले भने, ‘जसमा उनीहरूले शेरबहादुर दाइसँग प्रतिस्पर्धा गर्नुपर्दैन ।’

देउवाकै राजनीतिक जीवनमा पनि ४ मंसिर २०७९ को चुनाव फरक हुनेछ । एकातिर उनले यसअघि कहिल्यै नपाएको ‘कम्युनिष्ट मत’ पाउँदैछन् भने अर्कोतिर कांग्रेस डडेलधुराबाटै संगठित विद्रोह खेप्दैछ ।

देउवाले रणनीतिक तिकडमसँगै प्रतिद्वन्द्वीहरूको आन्तरिक कलह र अस्थिरताबाट चुनावी लाभ २०४८ बाटै उठाउँदै आएका छन् । २०४८ सालमा कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले थियो । उसले गोविन्दप्रसाद कलौनीलाई शिक्षकबाट राजिनामा गराएर उम्मेदवार बनायो, जसलाई देउवाले साढे ६ हजार मतको विरुद्ध २७ हजार मत ल्याएर हराए ।

अर्को चुनावमा त कलौनीको उम्मेदवारी नै फिर्ता भयो । कलौनीले दर्ता गरेको उम्मेदवारी फिर्ता गरेर एमालेले नेपाल जनवादी मोर्चाका खेमराज भट्ट मायालुलाई समर्थन गर्‍यो, उनले पनि १० हजार मत कटाएनन् ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा भने एमालेले नतिजा उल्ट्यायो । एमालेले अमरगढी नगरपालिकासहित २० मध्ये ११ स्थानीय निकाय जितेर जिल्ला विकास समितिकै नेतृत्व लियो । त्यसलगत्तै एमाले फुट्यो । २०५६ सालको आमचुनावमा उम्मेदवार पनि फेरिए । एमालेले उठाएको पूर्वप्रशासक डीबी चटौतलाई देउवाले सहजै हराइदिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा सशस्त्र विद्रोह गरेर आएको नेकपा माओवादीले सुदूरपश्चिमकै बलिया नेतामध्येका खगराज भट्टलाई देउवाविरुद्ध उठायो । तर, १३०० भन्दा बढी मतले देउवा नै विजयी भए । देउवाविरुद्ध एमालेले उठाएको विक्रम शाहीले मुश्किलले पार्टी मत जोगाउन सके ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा खगराज भट्ट दोस्रोपटक देउवासँग हारे । २०६४ मा संयुक्त जनमोर्चाको साथ पाउँदा पनि देउवासँग हारेका खगराज भट्ट २०७४ मा फेरि वाम उम्मेदवार बने । कांग्रेसविरुद्ध देशैभर वामलहर चलेको त्यो चुनावमा पनि देउवा नै विजयी भए । यसपटक माओवादी केन्द्र कांग्रेस नेतृत्वकै गठबन्धनमा भएकाले खगराज आफैं पन्छिने अवस्था छ ।

फेरि पनि अनुकूलता

देउवाकै राजनीतिक जीवनमा पनि ४ मंसिर २०७९ को चुनाव फरक हुनेछ । एकातिर उनले यसअघि कहिल्यै नपाएको ‘कम्युनिष्ट मत’ पाउँदैछन् भने अर्कोतिर कांग्रेस डडेलधुराबाटै संगठित विद्रोह खेप्दैछ । लामो समय देउवाकै स्वकीय सचिव रहेका र दुईपटक डडेलधुरामा कांग्रेसको नेतृत्व गरेका कर्ण मल्ल देउवालाई हराउने एकसूत्रीय अभियानमा छन् ।

‘शेरबहादुर दाइलाई हामीले लामो समयसम्म डडेलधुराका ९० प्रतिशत भोका–नांगा जनताको सपनामाथि खेल्न दियौं’ मल्लको टिममा रहेका हरिप्रसाद भट्ट भन्छन्, ‘यसपटक उहाँलाई रोकेर प्रायश्चित्त गर्न चाहन्छौं । यसमा सफलता मिल्ने संकेत स्थानीय चुनावको नतिजाले दिएको छ ।’

अमरगढी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका भट्ट १९३ मतअन्तरले हारे । आफूले पाएको तीन हजार ४२६ मतले देउवाविरुद्ध विद्रोह गर्न जनता तयार रहेको पुष्टि गरेको भट्ट बताउँछन् ।

एमाले नेता पठानसिंह बोहरा, जो आसन्न चुनावमा देउवासँग प्रतिस्पर्धा गर्दैछन् ।

एमालेले एकमात्र निर्वाचन क्षेत्र भएको डडेलधुरामा प्रतिनिधिसभाका लागि पठानसिंह बोहरालाई सिफारिस गरेको छ । प्रदेश सरकारमा मन्त्रीको अनुभव हासिल गरेका उनले २०७४ मा डडेलधुरा (क) बाट प्रदेशसभा निर्वाचन जितेका थिए ।

देउवाविरुद्ध चुनाव लड्न गुल्मीका युवा सागर ढकाल पनि डडेलधुराका गाउँ–गाउँ घुमिरहेका छन् । यतिबेला उनी जिल्लाका भित्री बस्तीहरूमा छन् । कांग्रेस नेताहरू भने विद्रोह वा नयाँ आउनेको कुराले केही फरक नपार्ने बताउँछन् ।

चुनावी मैदानमा उत्रिएका पात्र, परिस्थिति र परिदृश्य हेर्दा कांग्रेसका जिल्लास्तरका नेताहरूको भनाइलाई आधारहीन भन्न सकिने अवस्था देखिन्न ।

भोट देऊ, मलेशिया जाऊ

समग्रमा, शेरबहादुर देउवा एउटै क्षेत्रबाट लगातार सातौं पटक निर्वाचन जितेको कीर्तिमान रच्ने बाटोमा देखिन्छन् । त्यसका लागि उनका सयौं विश्वासपात्र खटेका छन् । कांग्रेस केन्द्रीय सदस्य रहेकी देउवा पत्नी आरजु राणाले डडेलधुराका गरिब परिवारका सदस्यलाई मलेशिया पठाउने अभियान चलाएकी छन् ।

कांग्रेसका एक जिल्ला नेताका अनुसार, प्रत्येक वडाबाट दुई जनालाई मलेशिया पठाउने काम सुरु भइसकेको छ । भारतीय श्रम बजार जाने चलन रहेको डडेलधुराका नयाँ पुस्ताका लागि मलेशिया या खाडी मुलुक यसै पनि आकर्षक प्रस्ताव हो । त्यसबाट चुनावी लाभ लिन खोज्नु भने राजनीतिक नैतिकताको विषय पनि हो ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?