
२३ भदौ, गलकोट । एउटा सरकारी कार्यालय भवन निर्माण भएको कति वर्षपछि मर्मत गर्नुपर्ला ? सरकारी मापदण्डमा निर्माण भएको पक्की भवन कम्तीमा पनि १०–१५ वर्ष त केही मर्मतै गर्नुपर्दैन । तर घरेलु तथा साना उद्योग कार्यालय बागलुङको भवन निर्माण सम्पन्न भएको तीन वर्षमै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।
बाहिरबाट झट्ट हेर्दा भवन सुन्दर देखिए पनि भित्र पानी रसाउने समस्याले गर्दा भवनको भित्री भाग जीर्ण बन्न पुगेको छ । उक्त भवनको भित्र पानी रसाएर रङसँगै प्लाष्टर उप्किने, छतसमेत चुहिने गरेको छ । भवनभित्र रहेको शौचालयमा जोडिएको पाइप जडान कमजोर हुँदा पानी रसाएर पस्नै नसक्ने अवस्था रहेको छ ।
जीर्ण रहेको उक्त कार्यालय भवनको करिब तीन वर्षअघि भूकम्पले भत्काएपछि पुनःनिर्माण गरिएको हो । विसं २०७६ भदौ २० गते गण्डकी प्रदेश सरकारका तत्कालीन उद्योग, पर्यटन वन तथा बातावरणमन्त्री विकास लम्सालले भवनको उद्घाटन गरेका थिए ।
भवनको पहिलो तलाकै भित्तामा प्लाष्टर उप्किएर भवन जीर्ण देखिएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका सूचना अधिकारी विष्णुनाथ शर्माले जानकारी दिए । ‘सेवाग्राहीले समेत भवन बिग्रिसकेछ भन्नुहुन्छ, भवनको बाहिर मन्त्रीको नामसहितको उद्घाटन बोर्ड छ, सबैले नयाँ भवन कसरी बिग्रिएको भन्नुहुन्छ, भित्ताको प्लाष्टर छुँदा मात्र पनि भुइँमा झर्छ’ उनले भने ।
शर्माका अनुसार भवन तत्कालै मर्मत गर्न आवश्यक रहेको छ । भवन रु एक करोड ७० लाखमा पुनःनिर्माण भएको थियो । उक्त भवन जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले ठेक्कामार्फत निर्माण गरेको हो ।
भवन निर्माण गर्दा कमसल सामग्री प्रयोग गरेका कारण भवनको गुणस्तर कमजोर भएको कार्यालयको भनाइ छ । भवनको झ्याल–ढोका नलाग्नेलगायतका समस्या रहेको घरेलु तथा साना उद्योग कार्यालय बागलुङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4