+
+
ब्लग :

चुनाव हैन, व्यवस्था फेरौं !

समकालीन संसदीय राजनीतिक व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । यसले मात्र समकालीन विश्व एवं घरेलु राजनीतिको समाधान दिन सक्दछ । पुरातन विचार, व्यवस्था र नेतृत्वका विकल्पमा नूतन विचार, व्यवस्था र नेतृत्व आजको आवश्यकता हो । त्यसैले आउनुस्, समवेत स्वरमा भनौं– चुनाव हैन, व्यवस्था फेरौं ! एकाध मान्छेको हैन, देशको मुहार हेरौं ।

खेम थपलिया खेम थपलिया
२०७९ भदौ २४ गते १५:०२
खेम थपलिया ।

हाम्रै पुस्ताले विभिन्न तहका दर्जनौं चुनाव भोगिसकेको छ । केही आंशिक ‘हो कि हो कि’ जस्तो बाहेक जनताले आधारभूत परिवर्तनको खास अनुभूत गर्न पाएकै छैनन् । चुनावदेखि चुनावसम्मको यो पट्यारलाग्दो र अत्यासलाग्दो प्रपञ्चकारी चुनाव फेरि पनि तपाईं–हामीमाझ आउँदैछ । यही व्यवस्थाका पक्षधरहरू समेत चुनावमा जनताप्रति त्यति आश्वस्त छैनन्, फलस्वरूप उनीहरू ‘जसरी पनि जित्ने’ मनसायका साथ अनेक गठबन्धन निर्माणको प्रपञ्चमा जुटिरहेका छन् । भावी प्रधानमन्त्री, भावी मन्त्री, भावी सांसद, भावी उम्मेदवारका अनेक झाँकी देखिन थालेका छन् । सार्वजनिक ठाउँमा जनताले आक्रोश पोखिरहेका छन्, ‘अब चुनाव–सुनाव हैन, सिंहदरबार नै कब्जा गर्नुपर्दछ ।’ जनताले यो पनि भनिरहेका छन्, ‘यथास्थितिमा चुनावको सपना नदेख ।’

राजनीतिमा यी र यस्ता कुराहरू सामान्य नै लाग्न पनि सक्दछ तर पनि यो समकालीन नेपालको संसदीय शासन व्यवस्थाप्रति जनताको ठूलो आक्रोश र असन्तुष्टिको दुन्दुभि हो । यो व्यवस्था ‘सयौं मुसा खाएर हज गर्न हिंडेको बिरालो’ जस्तै हुन पुगेको छ । यो जति धेरै अपराध गर्‍यो, उति नै धेरै वाह्वाही र पुरस्कार पाउने व्यवस्था हुन पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयम्ले हालसालै ‘यो व्यवस्था फेर्न चुनावपछि सडकमा जान्छु’ भन्नुले विषयको गाम्भीर्यलाई धेरै हदसम्म झल्काएको छ ।

अहिले आफूलाई नेपालको संसदीय व्यवस्थाका मसीहा ठान्नेहरू ‘जोगी देख्दा भैंसी डराउने र भैंसी देख्दा जोगी डराउने’ जस्तो गम्भीर मनोदशाबाट गुज्रिरहेका छन् । समकालीन नेपाली राजनीति ‘मजेरी खनेर आँगन पुर्ने’ जस्तो हुँदै गएको छ । आत्मकेन्द्री र वैयक्तिक स्वार्थकेन्द्री संसदवादी दल र तिनका नेताहरू आफूलाई शक्ति र सत्ताको केन्द्रमा टिकाइराख्न विभिन्न शक्तिकेन्द्र अनुकूल बनाउँदै लगिरहेका छन् । राष्ट्रघाती ‘एमसीसी’ र ‘नागरिकता विधेयक’ लगायतका राष्ट्रविरोधी र जनविरोधी हर्कत त्यसैका परिणाम हुन् । सम्भवतः नेपाली राजनीतिक इतिहासमा यस्तो उपनिवेशीकृत निर्लज्जता र कायरता कहिल्यै भएको थिएन ।

संसदीय व्यवस्था आफैंमा अराजनीतिक, असान्दर्भिक, अवैज्ञानिक, असांस्कृतिक र अनैतिक बनिसकेको छ । यो व्यवस्था जनविरोधी, राष्ट्रविरोधी छ । यो व्यवस्था भ्रष्टाचारी, हत्यारा र फाँसीवादी छ । यो व्यवस्थामा मन्त्रीद्वारा लाइन व्यवस्थापन गर्न खोज्दा श्रमजीवी सुरक्षागार्डलाई हिरासतमा कोचिन्छ । यो व्यवस्थामा इँटा भट्टामा जिउँदै मान्छे पोल्ने आलमहरूलाई स–सम्मान र सगौरव चुनावी टिकट दिलाइन्छ । यो व्यवस्थामा ‘सामाजिकता र नैतिकतामा गम्भीर प्रश्न उठेकाहरू’ डनलाई हर्षोल्लासपूर्वक चुनावी टिकट दिएको घोषणा गरिन्छ । यो व्यवस्थाले एनसेल काण्ड, वाईडबडी काण्ड, सुनकाण्ड, चिनीकाण्ड, बालुवाटार ललिता निवास काण्ड, बूढीगण्डकी काण्ड, मेलम्ची काण्ड, मिटरब्याजी काण्ड, मलकाण्ड, भ्रष्टाचार काण्ड, निर्मला पन्त बलात्कार–हत्याकाण्ड, आर्थिक घोटाला काण्ड, करैकर काण्ड, तस्करी–कालोबजारी काण्ड, होलीवाइन काण्ड, कमिसनखोर काण्ड, आसेपासे काण्ड, लिपुलेक–लिम्पियाधुरा काण्ड, अवैध ठेक्कापट्टा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्ड, नागरिकको हत्याकाण्ड जस्ता अनेकौं जनहित विपरीत र राष्ट्रिय स्वाधीनता विपरीत काण्डहरू मच्चाएको छ । यो व्यवस्थाले कहिले ‘समाजवाद’ को नाममा, कहिले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नाममा त कहिले ‘गाउँ–गाउँमा सिंहदरबार’ का नाममा ब्रह्मलुट मच्चाउँदै आएको छ । यो अरूलाई अर्ति–उपदेश थोपरेर आफू अनेक कालाकर्तुत गर्ने र सफेद झुट सिकाउने व्यवस्था हो ।

झुटो बोल्नेले चोर्न पनि सक्दछ । चोर्नेले मानिसको हत्या पनि गर्न सक्दछ । त्यसैले मानिसले मानिसकै ज्यान लिने यो व्यवस्थामा आमूल परिवर्तन अर्थात् कायापलट हुनैपर्दछ । यसले करिब अढाइ सय वर्षदेखि जनतालाई दासतामा कज्याउँदै आएको छ । यसले जनतालाई ‘वस्तुकरण’ अर्थात् ‘विमानवीकरण’ गर्दै आएको छ । जनताको रगत–पसिना चुसाहा यसको आधारभूत चरित्र नै अत्यधिक शोषण–दोहन गर्नु हो । समकालीनतामा यसले तीव्र रूपमा विदेशी निवेशीकरण निम्त्याइरहेको छ । बुट र बन्दुकको घेरामा घिटीघिटी यो व्यवस्थाका करिब–करिब सबै क्षेत्र उपनिवेशीकृत र भूमण्डलीकृत बनिसकेका छन् । यसर्थ, दलाल पूँजीवादी व्यवस्थाको चिहानमाथि वैज्ञानिक समाजवादी नेपाल जन्माउनुको कुनै विकल्प छैन ।

समकालीन नेपाली राजनीतिक अवस्थालाई चरितार्थ गर्ने एउटा सन्दर्भ हेरौं, धर्मसभा चलिरहेको समयमा प्युरिटनहरूले पोपहरूको बढ्दो व्यभिचारी जीवनशैलीप्रति फिराद गर्दै नैतिक सुधार गर्न बिन्तीभाउ गरेछन् । कार्डिनल दी ऐलीले प्युरिटनहरूसँग झोक्किंदै भनेछन्, “अब त दैत्य आफैं आएर मात्र क्याथोलिक चर्चलाई बचाउन सक्छ, तिमीहरू भने देवदूतको माग गरिरहेका छौ ?” नेपालको संसदीय व्यवस्था ठीक यस्तै अवस्थामा पुगिसकेको छ । अब यसलाई कसैले पनि बचाउन सक्दैनन् ।

कार्ल मार्क्सले सन् १८४८ को फ्रान्सेली क्रान्तिको सेरोफेरोमा भनेका थिए (सम्भवतः सन् १९५२ तिर जस्तो लाग्छ), ‘हामीबीचमा त्यस्ता संविधानवादी छन् जो संविधानविरुद्ध हाकाहाकी षड्यन्त्र रच्छन् । क्रान्तिकारी छन्, जो आफूलाई खुल्लमखुला संविधानवादी घोषणा गर्दछन् । राष्ट्रियसभा छ, जो सार्वभौमसत्ता सम्पन्न बन्न चाहन्छ तर सधैं संसदीय व्यवहार गर्दछ । त्यस्तो क्रान्तिकारी छ, जसले धैर्य नै आफ्नो एक मात्र उद्देश्य ठान्दछ र भावी विजयद्वारा वर्तमान पराजयको क्षतिपूर्ति गर्न चाहन्छ । त्यस्ता राजतन्त्रवादी छन्, जो गणतन्त्रका सांसद छन् । त्यस्तो क्रान्तिकारी सत्ता छ, जसले आफ्नो दुर्बलतामै आफ्नो शक्ति देख्दछ र आफूले उत्पन्न गराएको तिरस्कारको भावनालाई नै गौरव ठान्दछ । त्यस्तो गणतन्त्र छ जो राजतन्त्रका निकृष्टतम पक्षहरूको समन्वय सिवाय अरू केही होइन । त्यस्तो मेलमिलाप छ, जसको आधार नै फुट छ । त्यस्तो सङ्घर्ष छ, जसको मूलमन्त्र नै सङ्घर्षलाई बीचैमा तुहाउनु हो । शान्ति सुरक्षाको नाममा अनियन्त्रित खोक्रो आन्दोलन र क्रान्तिको नाममा शान्ति सुरक्षाको भव्य उपदेश छ । सत्यशून्य आवेग तथा आवेगशून्य सत्य छन् । वीरहरू छन् तर ती शौर्य प्रदर्शन गर्न असमर्थ छन् । इतिहास छ तर घटना छैनन् । विकास छ, जसले सायद, उत्प्रेरक शक्ति भित्तामा झुन्ड्याइएको पात्रोबाट प्राप्त गर्दछ र त्यो उत्प्रेरकशक्ति एकनासको तनाव र शिथिलताको पुनरावृत्तिले क्लान्त छ । प्रतिपक्षता छ, जसले कुनै समाधान भेट्टाउन सक्दैन र जो यदाकदा उत्कर्षमा पुग्दछ । मानौं, भुत्तिन र शून्यमा विलीन हुन अभिशप्त छ । वैधानिक सामूहिक प्रतिभा एक व्यक्तिको धूर्ततापूर्ण मूर्खताद्वारा निराकृत हुन्छ । राष्ट्रको सामूहिक इच्छा, हरेकपल्ट जब त्यो सर्वमताधिकारमा अभिव्यक्त हुन्छ, आफ्नो समुचित अभिव्यञ्जनाको चेष्टामा, जनहितका पक्का शत्रुहरूमा अभिव्यक्त हुन्छ र अन्ततोगत्वा एउटा डाँकुको दुराग्रहमा आफ्नो अभिव्यक्ति पाउँछ । यदि इतिहासको पाना यति बेरङ्गी हुन्छ भने त्यो यही हो । मानिस र घटना शरीर नभएका छायाँ जस्तै देखिन्छन् । क्रान्तिले स्वयम् आफ्ना संवाहकहरूलाई पक्षघात गर्दछ र केवल आफ्ना विरोधीहरूलाई हिंसाको आवेगपूर्ण ओजद्वारा आलोकित तुल्याउँछ । प्रतिक्रान्तिकारीहरूले डङ्का पिटेको ‘रातो हाउगुजी’ साँच्चै प्रकट भइदिने हो भने त्यसले अराजकताको फिजियाली टोपी होइन सुव्यवस्थाको बर्दी, रातो दौरा–सुरुवालमा सजिएर प्रकट हुनेछ ।’ (अनु. टंक कार्की)

नेपालका संसद्‍वादी राजनीतिक दलहरू सैद्धान्तिक रूपमा च्यूत, वैचारिक रूपमा स्खलित र राजनीतिक रूपमा टाट पल्टिएको उहिल्यैदेखि हो, जो पिंध नभएका लोटाजस्तै भएका छन् । इमानदार तथा क्रान्तिकारीहरूले संसदीय व्यवस्थाको अन्त्यका लागि सघाउनुपर्दछ । इतिहासको यस घडीमा सबैले साथ दिने हो भने नेपालमा आमूल परिवर्तनको परिस्थिति एकदम अनुकूल बन्दै गएको छ । देश र जनतालाई नै सिध्याइदिने व्यवस्थाको रक्षार्थ कसैले पनि मरिहत्ते गर्नुहुँदैन ।

मित्रहरू, एकपटक मार्क्सको उपर्युक्त भनाइलाई आजको नेपालसित तुलना गरेर हेर्नुस् त ! यो व्यवस्थाका विरुद्ध तपाईंको मुट्ठी एकपटक टेबुलमा बज्रन बेर छैन !

नेपाल राजनीतिक नाटक अलि बढी हुने देश हो । नाटकीय द्वन्द्वकै बीचबाट नेपालको राजनीतिक बजारमा चुनावको सरगर्मी बढेको छ । कार्य–कारण जेसुकै भए पनि सामाजिक जीवनको एउटा तहबाट कथित संसदीय चुनावको पैरवी गरिदिएपछि मुख्य विषय विषयान्तर हुनै नै भयो । जनताले राम्ररी नै अनुभूत गरिसकेका छन् कि यो व्यवस्था केवल लास हो । राज्यका हरेक अवयवका निकम्मा गतिविधिले यही कुरा प्रमाणित गरेको छ । बालुवाटारमै बसेर बालुवाटार नै बेचिखाने व्यवस्था हो यो । अवैज्ञानिक, असफल, असान्दर्भिक तथा ब्रह्मलुटमा आधारित पूँजीवादी संसदीय व्यवस्था र यसका घटिया एवम् लाचार शासकहरूलाई बल पुर्‍याउने गरी सोच्नु, बोल्नु, लेख्नु भनेको राष्ट्रघातीहरूलाई देशभक्तिको प्रमाणपत्र बाँड्ने प्रपञ्च मिलाइदिनु हो । राष्ट्रघातीहरूलाई देशभक्तिको प्रमाणपत्र बाँड्ने छुट कसैलाई पनि हुन्न ।

हरेक चुनाव देश लुट्ने लाइसेन्समा बदलिंदैछ । के अब पनि दलालहरूलाई लुटको लाइसेन्स दिन सकिन्छ ? अहँ, हामी यो कुरा कल्पना पनि गर्न सक्दैनौं । यतिबेला नागरिक सरोकारका जिम्मेवार मानिसहरू संसदीय कालाकर्तुतका विरुद्ध आक्रोश ओकलिरहेका छन् । संसदीय पार्टीहरू बुख्याँचा–कङ्कालमा बदलिएका छन् । तिनको जीवन, विचार, सिद्धान्त र राजनीतिक मूल्य सबै–सबै माफियाकरण र दलालीकरणको दलदलमा डुबिसकेको छ । पार्टीरूपी कङ्कालको छहारीमा भ्रष्ट, दलाल, माफिया, ठेकेदार र तस्करहरूको रजगज चलिरहेछ ।

गाउँ–शहरमा चुनावी टिकटको हाटबजार लाग्न थालिसकेको छ । त्यस्तो हाटबजारबाट टिकट खरिद गर्नेहरूले नै उम्मेदवार बन्ने हैसियत राख्नेछन् । पहिला टिकट किनबेच हुन्छ अनि भोट किनबेचको हाटबजार सुरु हुन्छ । यथार्थतः नेपालको आगामी चुनावमा कसलाई जिताउने र कसलाई हराउने भन्ने कुरा दिल्ली र वासिङ्टनमा टुङ्गो लागिसकेको छ । चुनाव त केवल जनताका अगाडि रीतको नौटंकी मात्र न हो ।

यतिबेला संसदीय पार्टीहरू आ–आफ्ना हातखुट्टामा घिउतेल दल्न थालेका छन् । उनीहरूमा नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक समस्या समाधानबारे कुनै चिन्ता देखिंदैन । उनीहरू नेपाल र नेपालीको आधारभूत समस्याको समाधान गर्ने कुरामा बिल्कुल बेमतलवी बनेका छन् । यही तरिकाले संसदीय शिविरका राजनीतिक दलहरू देश र जनताका विरुद्ध सन्निकट संसदीय चुनावमा केन्द्रित हुँदैछन् । व्यवस्थाको असफलता र पार्टीको लाचारीका कारण देश तीव्र रूपमा अधोगतिमा छ । संसदीय धारका सबै बुर्जुवा र पूँजीवादी पार्टी हुन्, जसको दार्शनिक भूमि एउटै हो । एउटाको ठाउँमा अर्को कुनै व्यक्ति आउँदैमा नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनको अन्तरवस्तुमा कुनै तात्विक फरक पर्दै–पर्दैन । तर कुरा यिनको होइन, यिनीहरूको मात्र पनि होइन । प्रश्न त यो लुट र शोषणमा आधारित संसदीय व्यवस्था जोगाइराख्ने कि त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्ने हो । नेपालमा अब चुनाव–सुनावको कुरा हैन, संसदीय व्यवस्थालार्ई चिहानमा गाड्ने कुरा हो । त्यसैको चिहानबाट वैज्ञानिक समाजवादी व्यवस्थारूपी फूल फुलाउने कुरा हो ।

सच्चा कम्युनिस्टहरू दलाल संसदीय व्यवस्थालाई ध्वस्त पारेर त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने दिशातिर लाग्नुपर्दछ । पूँजीवादी पार्टी र कम्युनिस्ट पार्टीका बीच आकाश–जमिनको फरक हुन्छ तर नेपालमा सोलोडोलो र उस्ताउस्तै देखिन्छन् । सुनिन्छ– नेपालका सबै पार्टी एकै ड्याङका मुला हुन्, जसमा जनआक्रोशको भाव बढी झल्किन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटा विचार प्रणालीमा संगठित गरेका थिए । उनले नेताको जादुगरीमा होइन, सामाजिक विकासको वास्तविकता सुहाउँदो नीतिको जीवनभर लडाइँ एवम् वकालत गरेका थिए । त्यसैको शृङ्खलामा ‘जनविद्रोह’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ र शीर्ष–उचाइमा पुर्‍याइदिएको थियो ।

कम्युनिस्ट पार्टीमा नीति प्रधान हुन्छ, यसको संगठन सामाजिक रूपान्तरणको मिसनप्रतिको निष्ठाले मात्र बन्दछ । कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा हुने आन्दोलन भनेको यथार्थतः दुर्बल शिरहरूलाई उँचो पार्ने अभियान हो । सच्चा कम्युनिस्टहरूले समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको कथित वैभवलाई तिरस्कार गर्नुपर्दछ । दलाल संसदीय व्यवस्था भनेको समाजलाई कागती निचोरे जस्तै निचोरेर वैयक्तिक वैभव थुपार्ने अमानवीयतामा आधारित व्यवस्था हो । यस्तो क्रूर–व्यवस्थाको साक्षी कम्युनिस्टहरू बन्नुहुँदैन । हामीले यस्तो कुकर्मरूपी व्यवस्था अन्तर्गत हुने निर्वाचनको कल्पना पनि गर्दैैनौं । त्यसैले हामी यस्तो कुकार्यमा सहभागी छैनौं ।

सारतः संसदीय व्यवस्थाले जनतालाई रित्याउँछ, कम्युनिस्ट विचार–राजनीतिलाई सिध्याउँछ । दुःखको कुरा, आफूलाई नै सिध्याउने व्यवस्थाका मतियार बनिरहेका छन् नेपालका कम्युनिस्टहरू । संसदीय व्यवस्थामा अनेक तवरबाट जनताको गला रेटिन्छ । प्रतिक्रियावादी र दुराग्रही तत्वका लामा–लामा हात राजनीतिक, सामाजिक, वैचारिक तथा सांस्कृतिक क्षेत्रको परपरसम्म पुगेका छन् । संसदीय व्यवस्था मुर्दाघरमा परिणत भइसकेको छ ।

फुटेको हाँडी, सुकेको रूख, चकनाचुर सिसा जोड्न खोज्नु मूर्खता सिवाय केही होइन । आजसम्म आइपुग्दा बुर्जुवा–पूँजीवादीहरूले थोपरेका सच्चा कम्युनिस्टमाथिको तमाम आरोप खारेज भइसकेको छ । खसोखास भन्ने हो भने कम्युनिस्ट विचार–राजनीतिको आडमै समकालीन पूँजीवाद घिटीघिटी गरिरहेछ । कुरा यति मात्र हो कि आफूभित्रको श्रेष्ठतालाई कम्युनिस्टहरूले उजागर गर्न सकिरहेका छैनन् । आफ्नै शरीरको वासना खोज्न दौडिहिंडेको कस्तूरी जस्ता भएका छन् कम्युनिस्टहरू ।

नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति अघि बढेपछि पूँजीवादीहरू छटपटाउन थालेका छन् । आज दलाल संसदीय व्यवस्थाका विरुद्ध युगका अग्निधर्मीहरू उठ्दैछन् । कुनै पनि महान् आन्दोलन कुनै पनि बहुलेखन परम्परा जस्तै हुन् । केही मान्छे नेपाली आन्दोलनको मौलिकताको कुरा गरिरहेका छन्, यद्यपि मौलिकताका पनि सीमा हुन्छन् । क्रान्ति र प्रतिक्रान्तिको मौलिकता पनि फरक–फरक हुन्छ । रूस, चीन र नेपालको क्रान्ति र प्रतिक्रान्ति फरक–फरक मौलिकतामा आधारित छन् । बिरालोले नुन चाटेजस्तो राजनीतिले कहीं कतै पुर्‍याउँदैन ।

संसदीय व्यवस्थाको तावेदारी गर्नेहरूले क्रान्ति–क्रान्तिकारीहरूको सम्मान गर्न सक्दैनन् । क्रान्ति भनेको मुक्त–मानव र मुक्त–समाजको खोजी गर्ने अभियान हो । मुक्त–मानव र मुक्त–समाजको खोजीको यो अभियानका सन्दर्भमा विश्वमा ठूल्ठूला दार्शनिक बहस हुँदै आएका छन्, ठूल्ठूला वर्ग–सङ्घर्ष हुँदै आएका छन् । आदर्शवादसित भौतिकवादको कडा सङ्घर्षको उच्च सौन्दर्यात्मक चेतना मुखरित हुन्छ । सौन्दर्यात्मक चेतना दार्शनिकी कुरा हो ।

दर्शन नबुझेका मान्छेले सुन्दर र सुन्दरताको अर्थ नै बुझ्न सक्दैन । हामीले ‘नेपालमा मार्क्सवादी सौन्दर्यात्मक सेनाको आवश्यकता छ’ यसै भनेका होइनौं, जसबाट सांस्कृतिक क्षेत्रका कमरेडहरूको मन–मस्तिष्कमा साम्यवादी फूल फुलोस् । हामीलाई थाहा छ, संसदीय खास्टो ओढेर साम्यवादी फूल फुलाउन बिल्कुल असम्भव छ ।

मार्क्सले पूर्णजीवन या पूर्ण–मुक्तजीवनको परिकल्पना गरेका थिए । मुक्तजीवन सौन्दर्यात्मक चेतना र वर्गीय सम्बन्धमा आधारित छ । समकालीनतामा जनविद्रोहकालीन सौन्दर्य र सम्बन्धमा व्यापक फेरबदल आएको छ । वर्गीय सम्बन्ध ‘विशेष सम्बन्ध’ मा फेरिएका छन्, जनताका विरुद्ध फाँसीवाद लादिएको छ ।

नेपालका संसद्‍वादी राजनीतिक दलहरू सैद्धान्तिक रूपमा च्यूत, वैचारिक रूपमा स्खलित र राजनीतिक रूपमा टाट पल्टिएको उहिल्यैदेखि हो, जो पिंध नभएका लोटाजस्तै भएका छन् । इमानदार तथा क्रान्तिकारीहरूले संसदीय व्यवस्थाको अन्त्यका लागि सघाउनुपर्दछ । इतिहासको यस घडीमा सबैले साथ दिने हो भने नेपालमा आमूल परिवर्तनको परिस्थिति एकदम अनुकूल बन्दै गएको छ । देश र जनतालाई नै सिध्याइदिने व्यवस्थाको रक्षार्थ कसैले पनि मरिहत्ते गर्नुहुँदैन ।

समकालीनमा क्रियाशील नेता तथा दलले देश र जनतालाई केही पनि नयाँ कुरा दिनेवाला छैनन्, केवल एकाध मान्छेलाई जागिर र ढुकुटीको दोहनबाहेक । भ्रष्टाचारीलाई भोट हालेर जिताउने अनि सडकमा ‘भ्रष्टाचारी मुर्दावाद’ को नारा लगाउनुको के अर्थ ! ‘एमसीसीवादीहरू’ लाई दिलोज्यान लगाएर जिताउने अनि सडकमा ‘एमसीसी मुर्दावाद’ को नारा घन्काउनुको के अर्थ ! राति–राति एमसीसी कार्यालयबाट मोटो रकम लिने अनि दिउँसो–दिउँसो पार्टीका नेता–कार्यकर्तालाई एमसीसीविरुद्ध उफार्नु कहाँको नैतिकता हो ?

संसदीय व्यवस्था आखिर ‘विडो स्पाइडर’ को जीवनचक्र जस्तै त छ । विषालु ‘विडो स्पाइडर’ नामक प्रजातिको पोथी माकुराले भाले माकुराको जैविक प्रक्रियाको क्रममै टाउको खाइदिन्छे । भाले माकुराले थाहा नै नपाइकन क्षणिक स्वार्थको लोभमा उसले आफ्नो जीवन गुमाइसकेको हुन्छ । संसदीय व्यवस्था उही जातको पोथी माकुरा र राजनीतिक दल उही भाले माकुराजस्तै प्रतीत हुन्छ, सर्वस्व गुमिसक्दा पनि आफ्नो पद–प्रतिष्ठाकै चाह भइराख्ने !

नेपालका राजनीतिक दलहरूले आफ्नो टाउको गुमाइसकेका छन्, बाँकी कलाविहीन नाटक हुन् । संसदवादी नेताहरू अन्टसन्टका महारथी हुन् । राष्ट्रवादको आवरणमा राष्ट्रघात गर्ने, भजनमण्डलीलाई बेलगाम कमाउ मौजा सुम्पिने, कम्युनिस्ट विचार–राजनीतिलाई धुजाधुजा पार्ने, भूमण्डलीकृत साम्राज्यवादका अभियन्ता बन्ने पनि उनीहरू नै त हुन् । अब नयाँ विकल्प अपरिहार्य बनिसकेको छ ।

यसर्थ, समकालीन संसदीय राजनीतिक व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । यसले मात्र समकालीन विश्व एवं घरेलु राजनीतिको समाधान दिन सक्दछ । पुरातन विचार, व्यवस्था र नेतृत्वका विकल्पमा नूतन विचार, व्यवस्था र नेतृत्व आजको आवश्यकता हो ।

हाम्रा अगाडि केही अहम् प्रश्न उभिएका छन्, फूल जस्तो देशलाई चुसेर खोक्रो पार्ने को हुन् ? कोइलीको स्वरमा जनता लुछ्ने को हुन् ? आमूल परिवर्तनको समुद्रीवेग रोक्न खोज्ने को हुन् ? देश र जनताको रगत–पसिना चुसाहा को हुन् ? उत्पीडित तथा श्रमजीवी जनतालाई दासत्वको जालोभित्रै हालिराख्न खोज्ने को हुन् ? देशव्यापी ब्रह्मलुटको जालो बिछ्याउने को हुन् ? राजनीतिको आवरणमा दिनदहाडै देशको अस्मिता लुट्ने को हुन् ? प्रमाणपत्र च्यापेर नौजवानहरू आफैं बेचिन बाध्य पार्ने को हुन् ? खाडीको चौकीदार बनेर सुन्दर हिमाली देशलाई मरुभूमिमा परिणत गर्न खोज्ने को हुन् ? विचार सुन जस्तो र व्यवहार घुनजस्तो भएका ‘कम्युनिस्टहरू’ पाइने देश कुन हो ?

यी सबै प्रश्नको एकमुष्ट उत्तर हो– आजको नीति, नेतृत्व र व्यवस्था खारेज गरेर नयाँ नीति, नेतृत्व र व्यवस्थाको स्थापना गर्नु । त्यसैले आउनुस्, समवेत स्वरमा भनौं– चुनाव हैन, व्यवस्था फेरौं ! एकाध मान्छेको हैन, देशको मुहार हेरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?