+
+

गृह क्षेत्रमा काटियो घनश्याम भूसालको नाम, ३ बाट मात्रै सिफारिस

टोपराज शर्मा टोपराज शर्मा
२०७९ भदौ २४ गते १८:२८

२४ भदौ, बुटवल । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाल रुपन्देही क्षेत्र नंं ३ मा उम्मेदवार सिफारिस भएका छन् । ३ सँगै क्षेत्र नम्बर १ को कमिटीले पनि उनको नाम सिफारिस गरेको थियो । तर जिल्ला र प्रदेश कमिटीले क्षेत्र नम्बर १ बाट उनको नाम हटाएको छ ।

२०७४ को चुनावमा भूसाल क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यद्यपि उनको घर भने क्षेत्र नम्बर १ मा पर्छ ।

यो पटक क्षेत्र नम्बर १ को कमिटीले भूसालको नाम पनि सिफारिस गरेको थियो । उनीसँगै पार्टीका सचिव छविलाल विश्वकर्मा, टीकाराम चापागाई लगायतको नाम सिफारिस भएको थियो ।

क्षेत्र नम्बर ३ बाट भूसालसंगै तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, पूर्वसांसद यज्ञजित शाह र दुर्गाप्रसाद भूसाल सिफारिस भएका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राखेकै कारण भूसाललाई सर्वसम्मत उम्मेदवार हुन नदिइएको उनी निकट नेताहरु बताउँछन् ।

३० वैशाखको स्थानीय चुनावमा पाएको मतका आधारमा पनि एमालेका लागि ३ भन्दा १ सहज देखिन्छ । भूसालले पनि ३ भन्दा आफ्नो घर भएको १ नम्बर क्षेत्रबाट लड्ने रुची देखाएका थिए ।

तर जिल्ला कमिटीले भूसाललाई रुपन्देही ३ मा मात्र उम्मेदवार बनाउन उपयुक्त हुने रायसहित प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला कमिटीका एक पदाधिकारीले अनलाइनखबरलाई बताए ।

‘क्षेत्र नंं १ बाट पनि उहाँको नाम आएको सत्य हो,’ ती पदाधिकारी भन्छन्, ‘एउटै व्यक्ति दुई क्षेत्रमा उम्मेदवार नहुने भएकाले उहाँलाई यसअघि जितेको क्षेत्र नै उपयुक्त हुन्छ भन्न रायसहित नाम पठाएका हौं ।’

प्रदेश कमिटीको दुई दिनसम्म चलेको बैठकले पनि भूसाललाई क्षेत्र नम्बर ३ मा सिफारिस गरी केन्द्रमा पठाउने निर्णय गरेको पार्टीका प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए । ‘उहाँलाई क्षेत्र नंं १ मा होइन, ३ मा उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गर्ने प्रदेश कमिटीले निर्णय गरेको छ’ घिमिरेले अनलाइनखबरसँग भने ।

उनका अनुसार क्षेत्र नं १ मा छविलाल विश्वकर्मा,२ मा विष्णु पौडेल,३ मा घनश्याम भूसाल, ५ मा खिमलाल भट्टराईलाई उम्मेदवार सिफारिस गरिएको छ । क्षेत्र नं ४ भने उम्मेदवार नै सिफारिस गरिएको छैन । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग तालमेलको प्रयास गरिरहेको छ र यो क्षेत्र लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लको क्षेत्र पनि यही हो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?